नेताहरू जनताप्रति उत्तरदायी हुनुपर्छ। जनतालाई सुशासन दिन सक्नुपर्छ। संसारको आधारभूत नियम यही हो। जब नेताहरू सुशासन दिन सक्दैनन्। जनताको आवाज सम्बोधन गर्न सक्दैनन्। त्यसपछि सुरु हुन्छ ‘ग्रान्ड डिजाइन’, ‘डिप स्टेट’, ‘विदेशी षडयन्त्र’ र ‘लुसिफर’।
अर्थात् नेताहरू जब जनताका समस्या सम्बोधन गर्न नसकी प्रतिरक्षात्मक अवस्थामा पुग्छन् अनि यस्ता शब्दजालको खेती गरिन्छ। नीति, परिणाम र सुशासनको प्रश्नको उत्तर दिन नसकेपछि जनतालाई अलमल्याउन डर उत्पादन गर्नुपर्छ। नत्र आफ्नो कमजोरी छताछुल्ल हुन्छ। जनतालाई कसरी सन्त्रस्त बनाउने भन्ने विकल्प खोजिन्छ।
सुरुमा प्रजातन्त्र सङ्कटमा भन्ने थेगो अघि सारिन्छ। नेपालमा पनि गणतन्त्र, सङ्घीयता जस्ता कुरा सङ्कटमा भन्ने भ्रम उत्पादन गरिन्छ। त्यसले ८-१० वर्ष धान्छ। त्यतिन्जेल पनि नेताहरू सुध्रँदैनन्।
जनताले नेतृत्वलाई पत्याउने आधार सकिन्छ। त्यसपछि सुरु हुन्छ, ‘ग्रान्ड डिजाइन’, ‘डिप स्टेट’, ‘विदेशी षडयन्त्र’, ‘विदेशी दलाल’ र ‘लुसिफर’ जस्ता शब्द निर्माण। आफ्नो आलोचना गर्नेहरूलाई जवाफ दिन सकिन्न अनि आफ्नो कमजोरी देखाउनेलाई राष्ट्रघाती दुष्ट देखाइन्छ।
राष्ट्रियतासँग जोडिएका ती शब्दहरू यति शक्तिशाली हुन्छन्। बाँकेको लखन चौधरी र कालीकोटको दीपेश शाही रुपैडिहा पुग्दा पनि सम्झिरहन्छन्। मोरङको बिरेन सरदार रानी कटेर बिहार पुग्दा पनि सम्झिरहन्छ। मलेसिया र साउदी अरब पुगेका सिन्धुपाल्चोकका मङ्गल तामाङ र सोलुखुम्बुका नोर्बु शेर्पा पनि ती शब्द सोच्दै बस्छन्।
कालापारमा स्याउ टिप्दै गरेको डिल्ली आचार्य र मुम्बईमा चौकिदार बसेको अछामको गोपाल रावल सबैलाई यी शब्दले छुन्छन्। उनीहरू भयभीत हुन्छन्।
आफू परदेशमा दुःख गर्दा पनि आफ्नो देश सुरक्षित होस् भन्ने चाहन्छन्। त्यसमा बाधा दिने यस्ता तत्त्वप्रति उनीहरू संवेदनशील हुन्छन्। कसको कारणले म विदेश आउन बाध्य भएँ। स्वदेशमा रोजगारी सिर्जना किन भएन भन्ने प्रश्न गर्ने विचार उत्पन्न हुनै सक्दैन।
उसका मनोभावनामा खेली मूल समस्यामा प्रवेश गर्न नदिने उद्देश्यले नै यी शब्दजाल निर्माण गरिएका हुन्छन्। यस्ता शब्दजाल खडा गर्नेहरू हाम्रो मनोभावनासँग खेली नेताका अकर्मण्यता छोप्न चाहन्छन्।
गिरिजाप्रसाद कोइरालाले ‘ग्रान्ड डिजाइन’ भन्ने शब्द २०५५-५६ देखि प्रयोग गर्थे तर त्यसको एक दशकसम्म बाँच्दा पनि कहिल्यै खुलासा गरेनन्। गिरिजाप्रसाद कोइरालाले आफ्नो कमजोरी ढाक्न यो शब्द सिर्जना गरेका थिए। २०६३ पछि त उनी राष्ट्रप्रमुख र सरकार प्रमुख दुवै थिए। किन भन्न सकेनन्? राष्ट्रप्रमुख र सरकार प्रमुखले भन्न नसक्ने कुरा हुन्छ? यी सबै बकवास हुन्।
यस्ता शब्दहरू सिर्जना गरेपछि केही बुद्धिजीवी, विश्लेषक, सीमाविद्, पत्रकार, लेखक, सामाजिक कार्यकर्ता, विकासे कार्यकर्ताहरू यसमा प्रयोग हुन्छन्। यसका पनि विभिन्न चरण हुन्छन्।
सुरुमा बुद्धिजीवी, विश्लेषकले यी शब्दबारे बहस गर्छन्। पत्रकार, लेखक, सामाजिक कार्यकर्ता, विकासे कार्यकर्ताहरूले यसबारे विभिन्न समाचार र आलेख लेख्न अनि छलफल गर्न थाल्छन्।
त्यतिले पनि पुगेन भने अन्तिममा सीमाविद् र धार्मिक क्षेत्रका गुरुहरू प्रयोग हुन आउँछन्। सीमाविद् र धार्मिक गुरुहरूका कुरा संवेदनशील मानिन्छन्। त्यसैले यिनीहरू अन्तिममा अघि सारिन्छन्। यदि सीमाविद् र धार्मिक क्षेत्रका गुरुहरूले यी शब्द प्रयोग गर्न थालेका छन् भने कुरा बुझौँ ती असफल नेताहरू अन्तिम किल्लामा छन् भन्ने प्रमाण हो।
यस्ता शब्दजाल बनाउनेहरू ११ वर्षसम्म उखु किसानले पैसा नपाउँदा कतै बोले? गोपालहरूले दूध बेचेको पैसा नपाउँदा कोही बोले? किसानले मल, बीउ नपाउँदा कहिले बोले? देश बलियो होस् र जनता सम्पन्न होउन् भन्ने इच्छा भए त्यतिखेर कोही बोल्थे होलान्।
देशको समृद्धि चाहनेहरू किसान, गोपालका समस्यामा नबोल्ने हुन्छ? देश र जनता समृद्धिका कुरामा आवाज नउठाउनेहरू फटाहा हुन्।
किसान, गोपाल, मजदुरका समस्यामा चाहिँ वर्षौँसम्म नबोल्ने तर ‘डिप स्टेट’, ‘विदेशी दलाल’ र ‘लुसिफर’ भन्नेहरू अकर्मण्य र असफल नेताका गोटी हुन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.