निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

रुपन्देहीमा मधुले उठाए पहिचानको झन्डा, आनिकको अधुरो सपना बोकेर मैदानमा

रुपन्देहीमा मधुले उठाए पहिचानको झन्डा, आनिकको अधुरो सपना बोकेर मैदानमा

280
SHARES

रुपन्देही – २०६४ सालको संविधानसभा निर्वाचनयता भएका प्रत्येक निर्वाचनमा रुपन्देहीले तेस्रोलिंगी उम्मेदवार खडा गर्दै आएको छ। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको राजनीतिक समावेशिताको आवाज बुलन्द गर्दै आएको जिल्लाको रूपमा रुपन्देही चिनिँदै आएको छ।

सङ्घीय संसददेखि स्थानीय तहसम्म निरन्तर उम्मेदवारी दिँदै आएकी तेस्रोलिंगी अधिकारकर्मी स्वर्गीय आनिक रानाले रुपन्देहीलाई यो पहिचान दिलाएकी थिइन्। तर गत वर्ष आनिकको निधनपछि यसपटक रुपन्देहीबाट पुनः लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व हुने कि नहुने भन्ने अन्योल सिर्जना भएको थियो।

राजनीतिमा समावेश भई नीति निर्माण तहसम्म पुग्ने तीव्र चाहना बोकेकी आनिक त्यो सपना अधुरै छाडेर बिदा भइन्। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको छुट्टै राजनीतिक दल खोल्ने १२ वर्षअघिको सुनिल बाबु पन्तको अवधारणामा साथ दिने महत्त्वपूर्ण अभियन्तामध्ये उनी एक थिइन्। पहिचान, प्रतिनिधित्व र अधिकारका लागि उनको सङ्घर्ष नेपाली राजनीतिमा प्रतीक बनेको थियो।

२०६४ सालको संविधानसभामा एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिल बाबु पन्तले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गरेका थिए। त्यसयता उक्त समुदायबाट सङ्घीय संसद्मा एक जनाको पनि प्रतिनिधित्व हुन सकेको छैन।

आनिकको निधनपछि “अब रुपन्देहीबाट त्यो अभियानलाई कसले अघि बढाउने?” भन्ने प्रश्न उठिरहेका बेला समुदाय सुधारका अभियन्ता तथा समलिङ्गी पुरुष देवेन्द्र बहादुर खत्री (मधु) मैदानमा उत्रिएका छन्। उनको उम्मेदवारी केवल व्यक्तिगत राजनीतिक आकाङ्क्षा नभई, पहिचानको सङ्घर्षमै जीवन अर्पण गरेकी आनिक रानाको अधुरो अभियानलाई बीचमै मर्न नदिन गरिएको निरन्तरताको प्रयासका रूपमा हेरिएको छ।

नेपालमा पहिलो पटक तेस्रोलिंगी अधिकारकर्मी नुमा लिम्बुको नेतृत्वमा गठन भएको समावेशी समाजवादी पार्टीका केन्द्रीय सदस्य रहेका मधु नेपालमा पहिलो समलिङ्गी विवाह दर्ता गराउन सफल गैरसरकारी संस्था ‘मायाको पहिचान नेपाल’का उपाध्यक्ष पनि हुन्। फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा उनले आनिकले देखाएको साहस र अडानलाई निरन्तरता दिँदै प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन्।

आनिकले जस्तै उनलाई उम्मेदवार बनाइदिने दल खोज्दै हिँड्नुपरेन। उनले खोज्नुपरेको छ त- मतदाता। आनिकको सपना संसदमा पुगेर पूरा गर्ने सङ्कल्पसहित मधुले रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिएका छन्। उनले समावेशी समाजवादी पार्टीबाट मनोनयन पत्र दर्ता गरेका हुन्।

उम्मेदवारी दर्तापछि पत्रकारहरूसँग कुरा गर्दै मधुले समावेशी, समान र न्यायपूर्ण समाज निर्माणका लागि आफू राजनीतिमा होमिएको बताए। उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले अझै पनि शिक्षा, रोजगारी, स्वास्थ्य सेवा र सामाजिक स्वीकार्यताका क्षेत्रमा निरन्तर विभेद र चुनौती झेल्दै आएको उल्लेख गरे।

“मेरो उम्मेदवारी केवल व्यक्तिगत महत्त्वाकाङ्क्षा होइन, यो हजारौँ आवाजविहीन समुदायको प्रतिनिधित्व हो,” उनले भने, “संसदमा पुगेर नीति निर्माणको तहमा समान अधिकार र सम्मान सुनिश्चित गर्न मेरो सङ्घर्ष जारी रहनेछ।”

उनका अनुसार युवाको रोजगारी सिर्जना, समावेशी शिक्षा प्रणाली, पहुँचयोग्य स्वास्थ्य सेवा, तथा स्थानीय तहमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमैत्री नीति र कार्यक्रम कार्यान्वयन गराउने प्रमुख एजेन्डा रहेका छन्। संविधानले सुनिश्चित गरेको समानताको हक व्यवहारमा लागू गराउन राज्यको जिम्मेवारीलाई प्रभावकारी बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

स्थानीय बासिन्दा, अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूले मधुको उम्मेदवारीलाई समावेशी लोकतन्त्रतर्फको महत्त्वपूर्ण पाइला बताएका छन्। उनीहरूका अनुसार यसले नेपाली राजनीतिमा विविधता र प्रतिनिधित्वको दायरा फराकिलो बनाउँदै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका मुद्दालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउन सहयोग गर्नेछ।

फागुन २१ गते हुने निर्वाचनमा मधुको उम्मेदवारीले बुटवल क्षेत्रको राजनीतिक माहौलमा नयाँ बहस र चासो सिर्जना गरेको छ। रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ मा मधुसँगै ४१ जनाको उम्मेदवारी दर्ता भएको छ, जसमा २० जना स्वतन्त्र उम्मेदवार छन्।

तीनै तहका सरकारले संविधान कार्यान्वयन नगरेको आरोप

समाचार शेयर गर्नुहोस्
280
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.