काठमाडौँ – नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा जाने तयारी गरेको छ।
अन्य प्रमुख राजनीतिक दलहरूले आ–आफ्ना प्रधानमन्त्रीका उम्मेदवार सार्वजनिक गरिसकेकाले कांग्रेसले पनि संसदीय दलको नेताका रूपमा थापालाई अघि सार्ने तयारी गरेको जनाएको छ।
जेनजी आन्दोलनपछि पैदा भएको राजनीतिक दबाब र संसद् विघटनको घटनापछि स्वयम् थापाले नै पार्टी स्पष्ट प्रधानमन्त्री उम्मेदवारसहित चुनावमा जानुपर्ने मत राख्दै आएका थिए।
यही सन्दर्भमा नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई, राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन शाहलाई र राष्ट्रिय प्रजातन्त्र पार्टीले राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि अझै प्रधानमन्त्रीको आकाङ्क्षी रहेको र चुनाव जित्ने उद्देश्यले रुकुम पश्चिमबाट मनोनयन दर्ता गराइसकेका छन्।
कांग्रेसले भने यसपटक प्रधानमन्त्रीमा नयाँ अनुहार अघि सारेर चुनावमा जाने नीति लिएको ऐतिहासिक दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्री गुरु घिमिरेले बताएका छन्।
कांग्रेसको दोस्रो विशेष महाधिवेशन तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूको पहलमा आह्वान गरिएको थियो। सो महाधिवेशनप्रति तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले कडा असहमति जनाएको थियो।
तर निर्वाचन आयोगले संविधान र पार्टी विधानअनुसार प्रक्रिया पूरा भएको ठहर गर्दै विशेष महाधिवेशनलाई मान्यता दिएपछि देउवा पक्षका नेताहरूले पनि सभापति गगन थापाकै हस्ताक्षर रहेको टिकट लिएर उम्मेदवारी दर्ता गरेका छन्।
महामन्त्री घिमिरेका अनुसार कांग्रेसले परम्परागत ढर्राभन्दा फरक, नयाँ योजना र नीतिगत प्रतिबद्धता समेटेर केही दिनभित्रै चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीसमेत गरिरहेको छ। उनले एक दर्जन भिजन सार्वजनिक गर्ने बताए।
तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित देउवा समूहले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले दिएको आधिकारिकता रद्द गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ।
सर्वोच्चले मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको छ। उम्मेदवारी दर्ताको समय नजिकिँदै गएपछि देउवा भने आफू निकटका नेताहरूलाई थापाबाट टिकट दिलाएर पार्टीभित्र आफ्नो राजनीतिक विरासत जोगाउने प्रयासमा लागेको नेताहरूको बुझाइ छ।
थापा नेतृत्वको कार्यसमितिले यसअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रवेश पाउन सकेको थिएन। देउवा पक्षको अवरोधका कारण सभापति निर्वाचित भएपछिका पहिलो र दोस्रो कार्यसमितिका बैठक होटलमै बसाल्नुपरेको थियो। तर अब शुक्रवार केन्द्रीय कार्यालयमै बैठक बस्ने तयारी भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले शुक्रवार दिउँसो १ बजे बैठक बस्ने गरी सूचना जारी गरिसकेका छन्। यसै क्रममा शेरबहादुर देउवाबाट २०७२ सालमा मुख्यसचिव नियुक्त भएका कृष्णप्रसाद पौडेलले नवनिर्वाचित सभापति थापालाई काम गर्न सहज होस् भन्ने उद्देश्यले पदबाट राजीनामा दिएको बताएका छन्। सभापति थापाले शुक्रवार केन्द्रीय कार्यालय पुगेर औपचारिक रूपमा कार्यभार सम्हाल्ने कार्यक्रम छ।
तर देउवा पक्षीय नेताहरूले दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित समितिलाई अझै औपचारिक रूपमा स्वीकार नगरिसकेको बताइरहेका छन्। सभापति थापाबाट टिकट लिएर चुनावी मैदानमा उत्रिए पनि तत्कालीन संस्थापन पक्षका नेताहरूले देउवाले संसद् पुनःस्थापनासम्बन्धी मुद्दाको निर्णय पर्खँदै उम्मेदवारी दर्ता नगरेको दाबी गर्दै आएका छन्।
जेनजी आन्दोलनपछि संसद् विघटन भएको विरोधमा नेपाली कांग्रेस र नेकपा एमालेले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दायर गरेका छन्। तर ती रिटहरूको अहिलेसम्म पेशी नचढेको अवस्था छ। चुनाव नजिकिँदै जाँदा पनि सर्वोच्चले ती मुद्दालाई प्राथमिकतामा नराखेको देखिन्छ।
देउवा पक्षका नेताहरूले पार्टी जोगाउनका लागि मात्र आफू निकटका केही नेतालाई उम्मेदवारीका लागि सहमति दिएको दाबी गर्दै आएका छन्। उता, देउवासँग भाग लिएर इतर समूहमा रहेका शेखर कोइरालाले भने आफू विशेष महाधिवेशनमा नजाँदा पार्टी दुई टुक्रा हुनबाट जोगिएको दाबी गरेका छन्।
अन्तिम समयसम्म देउवासँगै रहेका शेखर कोइराला भने गगन थापाको नेतृत्वलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि टिकट भाग माग्दै चुनावमा होमिएका छन्।
मोरङबाट फेरि चुनावी मैदानमा उत्रिएका कोइराला आफूलाई कांग्रेसको आगामी सभापतिका रूपमा स्थापित गर्ने प्रयासमा रहेको राजनीतिक वृत्तमा चर्चा छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.