निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

कानुन निर्माणको चुनाव कि भाइरल हुने खेल?

कानुन निर्माणको चुनाव कि भाइरल हुने खेल?

184
SHARES

काठमाडौँ – सङ्घीय संसद्‌को निर्वाचन कानुन निर्माण, नीतिगत दिशा तय गर्ने र कार्यपालिकामाथि प्रभावकारी निगरानी गर्ने गम्भीर राजनीतिक प्रक्रियाका लागि हुनुपर्ने भए पनि उम्मेदवारहरू भने संसद्‌को भूमिका र जिम्मेवारी भुलेर सस्तो लोकप्रियताका गतिविधिमा केन्द्रित देखिएका छन्।

सांसद पद जित्न उम्मेदवारहरूले आफ्ना निर्वाचन क्षेत्रमा मतदाता रिझाउन आ–आफ्नै शैली अपनाइरहेका छन्। कोही भारी बोकेको तस्बिर खिचाएर सामाजिक सञ्जालमा भाइरल हुन तल्लीन देखिन्छन् भने कोही मतदातासँगै खेतबारीमा पुगेर काम गरेको नाटक मञ्चन गरिरहेका छन्।

केही उम्मेदवार भने पुरानै शैलीमा विकास र समृद्धिको झुटो नारा लगाइरहेका छन्। मतदाता रिझाएर ब्यालेट बक्समा मत खसालेर संसद् भवन छिर्ने र त्यसपछि जनता बिर्सने प्रवृत्ति नै उनीहरूको नियति बनेको छ।

झापा क्षेत्र नम्बर–५ बाट उम्मेदवारी दिएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै प्रधानमन्त्री बन्ने लक्ष्यसहित धार्मिक यात्रालाई निरन्तरता दिएका छन्।

केही दिनअघि जनकपुर पुगेर जानकी माता मन्दिरको दर्शन गरी चुनावी सभालाई सम्बोधन गरेका साह उम्मेदवारी दर्ता गरेपछि ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका लागि प्रस्थान गरेका छन्।

धार्मिक आस्था र राजनीतिक सन्देशलाई जोडेर मतदाता आकर्षित गर्ने उनको रणनीतिलाई पनि आलोचकहरूले सस्तो लोकप्रियताको अभ्यासका रूपमा हेरेका छन्।

अमेरिका, चीनजस्ता देश बनाएर अब नेपाल बनाउन फर्किएको जस्ता नसुहाउँदो भाषणमार्फत फेरि चर्चामा आउने प्रयास

किताब बेच्दा–बेच्दै शिक्षामन्त्री बनेका महावीर पुनको मत माग्ने शैली पनि अन्य उम्मेदवारभन्दा फरक देखिएको छ। स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गरी पश्चिम म्याग्दीमा चुनावी प्रचारमा जुटेका पुन चुनावी एजेन्डा सुनाउँदै आफ्नै आत्मकथा बिक्री गरिरहेका छन्। घरदैलो अभियानमा सक्रिय पुनले चुनाव चिह्न पाएपछि मात्रै औपचारिक प्रचारप्रसार गर्ने बताएका छन्।

लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै आएका ऋषि धमला पनि यसपटकको निर्वाचनमा होमिएका छन्। धादिङ स्थायी घर भएका धमला प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बाट रौतहट क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हुन्।

उम्मेदवारी दर्तासँगै धमला आक्रामक रूपमा घरदैलो अभियानमा जुटेका छन्। उनले आफ्नो चुनावी प्रचारलाई रोचक बनाउने नाममा कहिले जेरी पसलमा पुगेर आफैँ जेरी पकाउने, कहिले काठ मिलमा पुगेर आरा चलाउने, खेतबारीमा काम गरिरहेका किसानसँग पुगेर कोदालो खन्ने, दाउरा बोक्ने र साइकल चलाउने जस्ता गतिविधिहरू प्रदर्शन गर्दै मतदाता रिझाउने प्रयास गरिरहेका छन्।

रौतहटको अवस्था देखेर भावुक बनेर आँसु झार्दै धमलाले आफू अब ‘टुरिस्ट उम्मेदवार’ नबन्ने घोषणा गरेका छन्। विगतमा जितेर जाने नेताहरूले रौतहटको विकासमा सिन्को नभाँचेको आरोप लगाउँदै उनले आफू जितेमा रौतहटमै घरजम गरेर जनताको समस्या समाधान गर्ने सङ्कल्प व्यक्त गरे। रौतहटको चुलो–चुलोमा समस्या रहेको उल्लेख गर्दै उनले जितेमा सबै समस्या हल गर्ने आश्वासनसमेत दिएका छन्।

उम्मेदवारी दर्तासँगै सामाजिक सञ्जालमा चटके उम्मेदवारहरूको बिगबिगी देखिएको छ। संसद्‌को गम्भीर भूमिकाभन्दा दृश्यात्मक स्टन्टमा केन्द्रित भिडियोहरू भाइरल भइरहेका छन्। अघिल्लो निर्वाचनमा ‘स्टन्ट’ गरेर हेभीवेट नेतासँग चुनावी प्रतिस्पर्धा गरेका केही उम्मेदवारहरू यसपटक आफ्नै क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टिकट लिएर पुनः चुनावी मैदानमा उत्रिएका छन्।

२०७९ को निर्वाचनमा डडेलधुराबाट पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग पराजय भोगेका सागर ढकाल यसपटक रास्वपाबाट गुल्मी क्षेत्र नम्बर–२ मा उम्मेदवार बनेका छन्। उनले अमेरिका, चीनजस्ता देश बनाएर अब नेपाल बनाउन फर्किएको जस्ता नसुहाउँदो भाषणमार्फत फेरि चर्चामा आउने प्रयास गरिरहेका छन्।

सङ्घीय संसद्‌ निर्वाचन नीतिगत बहस, कानुन निर्माण र जनताको दीर्घकालीन हितसँग जोडिनुपर्ने बेला उम्मेदवारहरू दृश्य प्रदर्शन, भावनात्मक स्टन्ट र सस्तो लोकप्रियताको दौडमा अल्झिँदा मतदाताले कसलाई र किन छान्ने भन्ने प्रश्न झनै गम्भीर बनेको छ।

समाचार शेयर गर्नुहोस्
184
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.