सुनसरी- सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोमा तामाङ (शरिन) दोस्रो पटक प्रतिस्पर्धामा उत्रिएका छन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा अशोक राईसँग झिनो मतान्तरले पराजित बनेका शरिन यसपटक संसद् प्रवेश गर्ने दोस्रो प्रयासका साथ चुनावी मैदानमा होमिएका हुन्।
यस निर्वाचन क्षेत्रमा उम्मेदवारी कायम रहेका २६ जना उम्मेदवारमध्ये २ जना महिला छन्। यसपटक शरिनले हर्क साम्पाङ राईसहित २५ जना उम्मेदवारसँग प्रतिस्पर्धा गर्न लागेका छन्।
राजनीतिक तथा सार्वजनिक क्षेत्रमा ‘शरिन’ नामबाट चर्चित उनको मुख्य प्रतिस्पर्धा हर्क साम्पाङसँग पर्ने अनुमान सार्वजनिक रूपमा हुन थालेको छ। शरिन राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्षतर्फको उम्मेदवार हुन्।
‘अन्य’ पहिचानका उम्मेदवार एक जना मात्रै…
शरिनले आफू लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको व्यक्ति भएको विषय अघिल्लो चुनावकै क्रममा सार्वजनिक गरेकी थिइन्। जन्मँदा छोरीको रूपमा जन्मिएकी शरिन छोराछोरी जन्माएर हुर्काएकी आमा पनि हुन्।
छोराछोरी हुर्किएपछि इजरायल पुगेकी उनले पछि श्रीमानसँग सम्बन्ध विच्छेद गरिन्। त्यसपछि आफूजस्तै छोरी मान्छेसँग वैवाहिक सम्बन्धमा रहेको कुरा पनि उनले सार्वजनिक गरेकी छन्। हिजो कसैको श्रीमती रहेकी शरिन आज आफू श्रीमान् भएको बताउँछिन्।
चुनावी प्रचारका क्रममा मतदाताको घरघरमा पुग्दा आफ्नो चरित्रमाथि कसैले औँला नउठाएको शरिनको भनाइ छ। आफू छोरी भए पनि छोराको ‘फिलिङ्स’ आउने गरेको बताउँदै आएकी शरिनले अघिल्लो चुनावमा पहिचानसँगको कुराकानीमा आफूलाई ‘ट्रान्समेन’ भन्न रुचाएको बताएकी थिइन्। “भोट माग्न जाँदा बुढी आमाहरूले ‘तिमी त छोरा मान्छे जस्तै देखिन्छौ’ भन्दा म ‘म छोरा मान्छे नै हो आमा’ भन्थेँ,” उनले भनिन्, “मेरो लैङ्गिकतामाथि कसैले पनि औँला उठाउनु भएन।”
उनले निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गर्दा महिला लैङ्गिक पहिचानमै दर्ता गराएकी छन्। नागरिकतामा गोमा तामाङ नाम उल्लेख छ भने लिङ्गमा महिला रहेको विवरण निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ।
२०७९ को चुनावमा झिनो मतान्तरले हार बेहोरेकी शरिन यसपटक भने उत्साहित देखिन्छिन्। मतदाताबाट आफूले जनविश्वास पाएको दाबी गर्दै उनले दोस्रो प्रयासमा संसद्सम्म पुग्ने आशा व्यक्त गरेकी छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.