काठमाडौँ – राष्ट्रिय सभाका १७ सदस्य चयन गर्न मतदान हुँदैछ। निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ।
५९ सदस्यीय राष्ट्रिय सभामा प्रतिनिधिसभाको मतदान हुने अघिल्लो दिन फागुन २० गते १९ जना सदस्यको कार्यकाल सकिँदैछ। तीमध्ये १ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् भने १ जना नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन्।
कोशी प्रदेशमा ‘अन्य’ क्लस्टरबाट कांग्रेसका थापाको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका हुन्। रिक्त सिटका लागि नेकपा एमाले, नेपाली कांग्रेस र जसपा नेपालबीच गठबन्धन भइसकेको छ भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी नेकपा एक्लै प्रतिस्पर्धामा उत्रिएको छ।
निर्वाचन आयोगका अनुसार १७ सदस्यका लागि ४३ जनाको उम्मेदवारी कायम रहेको छ। गठबन्धनतर्फबाट कांग्रेसका ९, एमालेका ८ र जसपाको १ स्थानमा उम्मेदवारी परेको छ। लोसपासँग पार्टी एकता गरेपछि जसपाले महन्थ ठाकुरलाई उम्मेदवार बनाएको छ।
कांग्रेस र एमालेबीच भागबन्डा नमिलेपछि नेपाली कम्युनिस्ट पार्टी नेकपाले १७ वटै सिटमा उम्मेदवारी दिएको हो। तर अधिकांश प्रदेशमा गठबन्धनको मतभार बलियो देखिएको छ।
गठबन्धनको मतभारअनुसार आगामी फागुन २० पछि राष्ट्रिय सभामा नेपाली कांग्रेस सबैभन्दा ठुलो दल बन्ने देखिएको छ। हाल कांग्रेसका १६ जना सांसद छन् र तीमध्ये कोही पनि फागुन २० मा बिदा हुँदै छैनन्। भागबन्डाअनुसार पाएको ९ सिटमा जित निकाले कांग्रेस २५ सिटसहित पहिलो दल बन्नेछ।
फागुन २० मा राष्ट्रिय सभाबाट एमालेका ८ जना सांसद बिदा हुँदैछन्। कांग्रेससँगको तालमेलअनुसार ८ जनामै उम्मेदवारी रहेकाले एमालेले आफ्नो सिट सङ्ख्या यथावत् राख्नेछ र तेस्रो दलको रूपमा रहनेछ।
परिणाम नाटकीय रूपमा उल्टो नआए हाल राष्ट्रिय सभामा सबैभन्दा ठुलो दल रहेको नेकपा दोस्रो स्थानमा झर्ने देखिन्छ। तत्कालीन नेकपा माओवादी केन्द्रका १७ र साबिकको नेकपा एकीकृत समाजवादीका ८ गरी २५ सिट रहेको नेकपाका ८ जना सांसद बिदा हुँदैछन्।
तीमध्ये माओवादी केन्द्रका ७ र नेकपा एकीकृत समाजवादीका १ जना सांसदको कार्यकाल सकिन लागेको हो। नयाँ जित निकाल्न नसक्दा नेकपाको सांसद सङ्ख्या १७ मा सीमित हुनेछ।
प्रदेशगत रूपमा मतदान केन्द्र कोशी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर (मोरङ), मधेस प्रदेशमा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ (धनुषा), बागमती प्रदेशमा भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ (मकवानपुर) निर्धारण गरिएको छ।
यस्तै, गण्डकी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा (कास्की), लुम्बिनी प्रदेशमा कर्मचारी मिलन केन्द्र घोराही (दाङ), कर्णाली प्रदेशमा प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर (सुर्खेत) तथा सुदूरपश्चिम प्रदेशमा प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी (कैलाली) मा मतदान केन्द्र तय गरिएको निर्वाचन आयोगले जनाएको छ।
राष्ट्रिय सभाको सदस्यको पदावधि ६ वर्षको हुन्छ। प्रत्येक दुई वर्षमा एक तिहाइ पदका लागि निर्वाचन हुने संवैधानिक प्रावधान छ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख एवं अध्यक्ष र उपाध्यक्ष मतदाता हुने कानुनी व्यवस्था छ। निलम्बनमा परेका, राजीनामा दिएका, मृत्यु भएका तथा अदालतको आदेशले पद खारेजी भएका कारण मतदाताको संख्या केही घटेको छ।
अपडेट :
राष्ट्रिय सभाकाे मतदान सबै स्थानमा सुरू भएकाे निर्वाचन आयोगले जनाएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.