काठमाडौं – चुनावी सरगर्मी तीव्र बन्दै गएको बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा केन्द्रित चुनाव अभियानलाई विश्राम दिएर काठमाडौँ फर्किएका छन्। झापा पुगेपछि आफ्नो पक्षमा अपेक्षित जनलहर नरहेको बुझेका ओलीले अहिलेको राजनीतिक परिस्थिति ‘देश जित्ने कि देश हार्ने’ भन्ने निर्णायक मोडमा पुगेको दाबी गरेका छन्।
काठमाडौँ फर्किएपछि पार्टी केन्द्रीय कार्यालयमा जसपा नेपालका पूर्व केन्द्रीय सदस्य तथा शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई एमालेमा स्वागत गर्दै अध्यक्ष ओलीले चुनावमा जाने कि आन्दोलनमा जाने भन्ने विषयमै अझै निर्क्योल नभएको बताएका छन्। मतदाताको नाडी छामेर राजधानी फर्किएका ओलीले चुनावमा सहभागी हुने कि आन्दोलनमा उत्रिने भन्ने विषय अझै अनिश्चित रहेको अभिव्यक्ति दिए।
आफूमाथि सरकारले अपमान गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले सुशीला कार्की नेतृत्वको सरकारमाथि आक्रोश पनि व्यक्त गरे।
अध्यक्ष ओलीले देशलाई सही दिशामा अघि बढाउन एमालेले सरकार बनाउनुको विकल्प नभएको दाबी गर्दै ‘सभ्य र जिम्मेवार सरकार निर्माण गर्न अब जनताले चुनावमार्फत फैसला गर्नुपर्ने’ उल्लेख गरे।
प्रधानमन्त्रीका उम्मेदवारहरूबीच सार्वजनिक बहस हुनुपर्छ भन्ने बहस चलिरहेको सन्दर्भमा ओलीले आफू खुला बहसका लागि तयार रहेको प्रतिक्रिया दिएका छन्। च्यासलमा पत्रकारहरूसँगको कुराकानीमा उनले प्रत्यक्ष प्रसारण हुने गरी भावी प्रधानमन्त्रीका उम्मेदवारहरूबीच बहस गर्न आफू तयार रहेको बताए।
यता, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ पनि पूर्वी नेपालका विभिन्न जिल्लाको भ्रमण पूरा गरी काठमाडौँ फर्किएका छन्। चुनावी अभियानका लागि झापा पुगेका बालेनले कोशी प्रदेशका केही जिल्लामा पार्टी गतिविधि, राजनीतिक भेटघाट तथा अन्तर्क्रिया गरेका थिए।
बालेनले माघ ६ गते झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन्। फेसबुकबाटै कार्यपालिका बैठक बोलाउने, फेसबुकमै सार्वजनिक मुद्दा उठाउने, फेसबुकलाई नै अदालतजस्तो प्रयोग गर्ने र प्रधानमन्त्रीसमेत फेसबुकमार्फत घोषणा गरिनुपर्ने अवस्थाका प्रतीक बनेका बालेनले आफ्नो निर्वाचन क्षेत्र बाहिरका जिल्लाहरूमा समेत सक्रिय दौडधुप गरे।
काठमाडौँ महानगरपालिकाको मेयर रहँदासम्म सामाजिक सञ्जालमार्फत आफूलाई स्थापित गर्दै आएका बालेन अहिले भने प्रत्यक्ष रूपमा जनतासँग भेट्न थालेका छन्। यसअघि जनतासँग प्रत्यक्ष भेट नहोस् भन्ने उद्देश्यले छुट्टै लिफ्ट प्रयोग गरेको आरोप खेपेका बालेनले पछिल्लो समय इन्टरनेटमा सीमित रहेर कुनै पनि भूगोल, समाज र जनताको यथार्थ बुझ्न नसकिने निष्कर्ष सुनाउन थालेका छन्।
जेनजी आन्दोलनपछि प्रधानमन्त्रीमा सुशीला कार्कीको नाम सिफारिस गर्दै सामाजिक सञ्जालमार्फत राष्ट्र सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश दिएका बालेन अहिले भने स्वयं जनताको घरदैलोमा पुगेर मत माग्न थालेका छन्। यस अवस्थालाई उनको राजनीतिक यात्राको अर्को मोडका रूपमा हेरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर चुनावी प्रचारमा बालेन सक्रिय बनेपछि सभापति रवि लामिछाने भने छायामा परेका देखिन्छन्।
धरान उपमहानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर सुनसरी क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका हर्क साम्पाङले आफूलाई मात्र राष्ट्रवादी नेताका रूपमा प्रस्तुत गर्दै आक्रामक चुनावी अभियान चलाइरहेका छन्।
हाते माइक बोकेर मतदाताको घरदैलोमा व्यस्त हर्कको प्रचारशैली आफूलाई इमानदार र राष्ट्रवादीको प्रतीक बनाउँदै, आफू बाहेकका सबै राजनीतिक नेतृत्वलाई राष्ट्रघाती देखाउने प्रयासमा केन्द्रित देखिएको छ।
राष्ट्रियताको सवालमा आफ्नै मात्रै ठेक्का भएको दाबी गर्ने हर्कको चुनावी होड बालेनसँग समानान्तर छवि निर्माणको प्रतिस्पर्धाजस्तो देखिन थालेको छ।
कांग्रेसका तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार बनेका सभापति गगन कुमार थापा भने आइतबार मात्रै आफ्नो निर्वाचन क्षेत्रमा पुग्दैछन्। उनले संसदमा मधेसका मुद्दालाई फरक ढङ्गले उठान गर्ने प्रतिबद्धता जनाएका छन्।
आफू सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ को प्रतिनिधित्व गर्न उम्मेदवार बनेको उल्लेख गर्दै थापाले मधेस र सर्लाहीका मुद्दा अब सङ्घीय संसद् र सिंहदरबारमा नयाँ तरिकाले उठ्ने दाबी गरे। पार्टीबाट आगामी प्रधानमन्त्रीको उम्मेदवार बनेका थापाले सर्लाही–४ का मतदातालाई पछुतो हुने अवस्था आउन नदिने प्रतिबद्धतासमेत जनाएका छन्।
आगामी पाँच वर्षमा मधेसका मुद्दा संसदमा उठ्ने तरिका र निर्णय प्रक्रिया अघिल्ला वर्षभन्दा भिन्न हुने उनको दाबी छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.