काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडिएका मिसिल मगाउने आदेश दिएको छ। अदालतले ७ दिनभित्र मिसिल तयार गरी इजलास समक्ष पेस गर्न आदेश दिएको हो।
अदालतका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार आइतबार न्यायाधीश ध्रुवराज कार्कीको इजलासले उक्त आदेश जारी गरेको हो।
श्रेष्ठका अनुसार जेनजी आन्दोलनका क्रममा भदौ २४ गते जलेका मिसिलहरू प्राप्त गर्न अदालतले आदेश दिएको हो। केही प्रतिवादीका मिसिल प्राप्त भए पनि सबै मिसिल प्राप्त नभएकाले इजलासले प्रमाण झिकाउने आदेश दिएको उनले जानकारी दिए।
अदालतले ७ दिनभित्र सरकारी वकिल, धरौटीमा छुटेका प्रतिवादी तथा प्रतिवादीका कानुन व्यवसायीहरूबाट मिसिल सङ्कलन गर्न अदालतका एक जना अधिकृतलाई जिम्मेवारी तोक्ने आदेशसमेत दिएको छ।
आगजनीका कारण नष्ट भएका अदालती कागजात पुनः सङ्कलन गरी मुद्दाको सुनुवाइ अघि बढाउने उद्देश्यले अदालतले यो आदेश दिएको हो।
पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, सांसद, सचिव, सुरक्षा सल्लाहकारदेखि भुटानी मानवअधिकारकर्मीसम्म ३१ जनाविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा २०८० जेठ १० गते दायर गरिएको हो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वगृहसचिव टेक नारायण पाण्डे तथा भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाललगायत प्रतिवादी छन्।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भन्दै राज्य संयन्त्रकै संलग्नतामा सङ्गठित रूपमा ठगी र आपराधिक योजना बनाइएको आरोपसहितको यो मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ।
भदौ २३ गते मुद्दाको पूर्ण सुनुवाइका लागि पेशी तोकिएको भए पनि जेनजी आन्दोलनका कारण सुनुवाइ हुन सकेन। त्यसको भोलिपल्ट अदालत परिसरमा आगजनी हुँदा सो मुद्दासँग सम्बन्धित महत्त्वपूर्ण मिसिलहरू जलेका थिए।
हाल नष्ट भएका तिनै मिसिलहरू पुनः सङ्कलन गरी मुद्दाको प्रक्रिया अघि बढाउने काम भइरहेको अदालत प्रशासनले जनाएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.