काठमाडौं – समावेशी समाजवादी पार्टीकी प्रवक्ता प्रतीक्षा चापागाईँले श्रीवत्स चुनाव चिह्नमा मतदान गर्न मतदातासँग आग्रह गरेकी छन्। उनका अनुसार पार्टीको चुनावी एजेन्डा जनताकेन्द्रीत छ र प्रकृतिलाई माया गर्ने, पछाडि पारिएका समुदायहरूको प्रतिनिधित्व गर्ने उद्देश्यसहित पार्टी अघि बढिरहेको छ।
पार्टी गठनअघि ठुला राजनीतिक दलहरूसँग समानुपातिक समावेशिताको माग गर्दै निरन्तर अपिल गरिएको चापागाईँले बताइन्। “पार्टी खोल्नुअघि ठुला दलहरूसँग ‘हामीलाई समानुपातिकको पुछारमा होइन, मेनस्ट्रीममा ल्याउनुहोस्’ भनेर गुहार माग्यौँ,” उनले भनिन्, “तर हाम्रो त्यहाँ केही नै सिप लागेन।”
उनका अनुसार एलजीबीटीआई एक्टिभिस्ट तथा पूर्व संविधानसभा सदस्य सुनिल बाबु पन्तको सल्लाह, अग्रसरता र मार्गदर्शनमा समावेशी समाजवादी पार्टी जन्मिएको हो। “भोट दिने मात्रै होइन, हामीसँग क्षमता पनि छ भने हामीले देश हाँक्ने हो,” उनले भनिन्, “हामीलाई सहयोग चाहिन्छ, पैसा होइन। सदस्य शुल्क उठाउन पनि गाह्रो छ।”
समावेशी समाजवादी पार्टीबाट प्रत्यक्षतर्फ ६ जना उम्मेदवार रहेको जानकारी दिँदै चापागाईँले कम्तीमा एक जना मात्र भए पनि निर्वाचित गराएर विश्वकै लागि नमुना बनाउनु पर्ने बताइन्। उनका अनुसार पार्टीका एजेन्डा जनतामुखी छन् र ती ठुला दलका नेताहरूले सार्वजनिक रूपमा उठाउँदै आएका एजेन्डासँग मेल खान्छन्।
पार्टीले विशेषगरी पिछडिएका क्षेत्र, एलजीबीटीआई समुदाय, मनोरञ्जन क्षेत्र, अपाङ्गता भएका व्यक्ति र त्यसभित्रको इन्टरसेक्सनालिटीलाई समेट्ने लक्ष्य लिएको उनले स्पष्ट पारिन्। “जातीय, भौगोलिक र पहिचानका आधारमा हेर्दा अहिले देशमा इलिटहरूको मात्रै वर्चस्व छ,” उनले भनिन्।
पार्टी दर्ता गर्नुअघि ठुला दलहरूसँग सहकार्य (कोलाबोरेसन) गर्ने प्रस्ताव गरिएको तर त्यसलाई स्वीकार नगरिएको चापागाईँको भनाइ छ। “सँगै इन्क्लुड गर्नुहोस्, कृपया हामीलाई मौका दिनुहोस्, अगाडि ल्याएर मौका दिनुहोस्, पुछारमा राखेर होइन,” भन्दै धेरै अपिल गरिएको उनले बताइन्। तर ती अपिलको कुनै सुनुवाइ नभएपछि बाध्य भएर आफ्नै पार्टी खोल्नु परेको उनको भनाइ छ।

एलजीबीटीआई नेतृत्वमा बनेको यो पार्टी एसियाकै सन्दर्भमा मात्र होइन, भविष्यका लागि पनि राष्ट्रिय राजनीतिमा एक जल्दोबल्दो उदाहरण बन्ने दाबी चापागाईँले गरिन्। “यो पार्टी एसियाको मात्र नभएर विश्वकै लागि उदाहरणीय हुनैपर्छ,” उनले भनिन्।
उनका अनुसार पार्टी गम्भीर आर्थिक अभावमा छ। कर्पोरेट डोनर नभएको, साधारण ५ सय रुपैयाँ सदस्य शुल्क उठाउन पनि कठिन भएको यथार्थ उनले खुलाइन्। “हामीलाई सबैको सहयोग चाहिन्छ। पैसाले मात्र देश कता पुग्यो? अहिलेसम्म पैसा खर्च गरेर कति विकास भयो?” उनले प्रश्न उठाइन्।
चापागाईँले ठुला राजनीतिक दलका शीर्ष नेताहरूसँग अपिल गर्दै कतैबाट उम्मेदवारी फिर्ता लिने वा समर्थन (इन्डोर्स) गर्ने गरी कम्तीमा एक जना प्रतिनिधि निर्वाचित गराइदिन आग्रह गरिन्। “हामीलाई पनि काम गर्न दिनुहोस्,” उनले भनिन्।
उनले परम्परागत दलहरूको चुनावी अभ्यासप्रति पनि आलोचना गरिन्। “धेरै पार्टीहरूले ख्वाएर-पियाएर, दुईचार प्लेट फाइभस्टारमा गएर करोडौँ र अर्बौँ असुल गर्छन्,” उनले भनिन्, “त्यो सबैलाई थाहा छ।”
उनी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समावेशी समाजवादी पार्टीबाट समानुपातिकतर्फ उम्मेदवार बनेकी छन्। चापागाईँ पूर्णदृष्टिविहीन समलिङ्गी महिला हुन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.