निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

बालेन क्रेजविरुद्ध फायरिङ, खुट्टाको चोटले रवि अस्पतालमा

बालेन क्रेजविरुद्ध फायरिङ, खुट्टाको चोटले रवि अस्पतालमा

86
SHARES

काठमाडौँ – फागुन २१ गते प्रतिनिधिसभा सदस्य चुन्नका लागि मतदान हुँदैछ। निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवारी दिएका राजनीतिक दलहरू धमाधम चुनावी अभियानमा होमिएका छन्।

देश चुनावी माहोलले तातेको छ। माघ ११ गते सम्पन्न भएको राष्ट्रियसभा निर्वाचनका लागि ४ करोड ३० लाख ७८ हजार रुपैयाँ बजेट विनियोजन गरिएकोमा माघ १३ गतेसम्म २ करोड ४० लाख ६९ हजार ९५५ रुपैयाँ मात्र खर्च भएको निर्वाचन आयोगले जनाएको छ।

अब देशको ध्यान फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनतर्फ केन्द्रित भएको छ। चुनावी घोषणापत्र सार्वजनिक नगर्दै दलहरूले भावी प्रधानमन्त्री घोषणा गरेर प्रचार–प्रसारलाई तीव्र बनाएका छन्।

यही क्रममै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भावी प्रधानमन्त्रीका रूपमा तत्कालीन काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई अगाडि सार्दै चुनावी मैदानमा उतारेको छ। बालेन शाह घण्टी बजाउँदै सुदूरपश्चिम पुगेका छन्।

पुराना दललाई हायलकायल पार्ने गरी बालेनको चुनावी दौड तीव्र बनेको छ। रास्वपाले सार्वजनिक गरेको तालिकाअनुसार बालेन बुधवार पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा घण्टी बजाउन पुग्ने कार्यक्रम छ।

चुनावी क्रेज उत्कर्षमा पुगेका बेला बालेनसँगै जनकपुरको प्रचारमा रहेका रास्वपा सभापति रवि लामिछाने भने अस्पताल भर्ना भएका छन्। देब्रे खुट्टामा लागेको सामान्य चोट समयसँगै बढ्दै छालाको भित्री तहमा सङ्क्रमण भएपछि चिकित्सकको निगरानीमा राखिएको स्वकीय सचिव अविनाश आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जका चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार लामिछाने हाल सोही अस्पतालमा उपचाररत छन्। चोट आफैँमा गम्भीर नभए पनि सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै चिकित्सकको सुझावअनुसार पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र रवि पुनः नियमित राजनीतिक तथा साङ्गठनिक अभियानमा फर्किने स्वकीय सचिव आचार्यले बताएका छन्।

रास्वपा प्रवेश गरेर वरिष्ठ नेताको हैसियत पाएका बालेन भने भीडको उत्साह देखाएरै प्रतिस्पर्धीहरूलाई जवाफ फर्काउने अवस्थामा पुगेका छन्। बालेन हाल हाइहाइमा छन्। हात हल्लाउन, फोटो खिचाउन र घण्टी बजाउनमै उनलाई भ्याईनभ्याई छ।

समर्थकहरूसँग राम्रोसँग बोलचाल गर्नसमेत नपाइने अवस्था बनेको छ। यही अवस्थालाई लिएर प्रतिस्पर्धी दलका नेताहरूले बालेनलाई ‘चटके राजनीति’ गर्ने नेताको संज्ञा दिन थालेका छन्।

राजनीतिक माहोलमा बालेन क्रेजविरुद्धको जवाफी फायरिङ नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट सुरु भएको छ। ओलीपछि अन्य दलका शीर्ष नेताहरू पनि रास्वपा र बालेन लक्षित टिप्पणीमा उत्रिएका छन्।

नेपाली कांग्रेसबाट भावी प्रधानमन्त्री घोषणा भएका महामन्त्री गगनकुमार थापाले पनि बालेनको नाम नलिएरै ‘नौटङ्की र चटके कुरा नगर्ने’ भन्दै साङ्केतिक शब्दमा आलोचना गरेका छन्।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि रास्वपाप्रति कडा अभिव्यक्ति दिएका छन्। उनले जनतामा भ्रम छर्ने काम नगर्न रास्वपालाई सुझाव दिएका छन्।

प्रचण्डका अनुसार रास्वपामा विचार र सिद्धान्तको खडेरी छ। प्रचण्डले निर्वाचनका बेला सामाजिक सञ्जालमा हल्ला चलाउने बाहेक ठोस काम देखाउन नसकेको आरोप लगाए। उनले घण्टी बजाएर मात्र देश नचल्ने भन्दै सबै वामपन्थी शक्तिलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरे।

प्रचण्डले घोषणा गरेकै आधारमा कोही पनि प्रधानमन्त्री नहुने स्पष्ट पारे।

चुनावी प्रतिस्पर्धा चर्किरहेका बेला नेपाली कांग्रेसले पार्टीभित्रको विद्रोह नियन्त्रणमा लिन बागी उम्मेदवारहरूलाई उम्मेदवारी निष्क्रिय गर्न निर्देशन दिएको छ। पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमार्फत कांग्रेसले केही स्थानमा पार्टीबाट विद्रोह गरी छुट्टै उम्मेदवारी दर्ता गराएका उम्मेदवारलाई उम्मेदवारी स्थगन गर्न निर्देशन दिएको हो।

कांग्रेस प्रवक्ता देवराज चालिसेले छोटो समयका कारण टिकट वितरणमा केही कमजोरी हुन सक्ने स्वीकार गर्दै त्यसलाई आत्मसात् गरी पार्टीका आधिकारिक उम्मेदवारलाई सघाउन निर्देशन दिइएको बताए।

विद्रोह गरेका केही उम्मेदवारहरूले मनोनयन फिर्ता लिइसकेको जानकारी पनि उनले दिए। कांग्रेस नेतृत्वले आगामी पाँच वर्ष देश निर्माण गर्ने योजनासहित घोषणापत्र निर्माण भइरहेको र केही दिनभित्र सार्वजनिक हुने जनाएको छ।

कांग्रेसका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १०६ जना नयाँ उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा अघि सारिएको छ। विशेष महाधिवेशनपछि गठित नयाँ केन्द्रीय कार्यसमितिले अत्यन्त सीमित समयमै उम्मेदवार चयन, प्रचार र परिचालनका कार्यहरू व्यवस्थित रूपमा अघि बढाइरहेको कांग्रेसको दाबी छ।

प्रदेश, जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र हुँदै नगरपालिका, गाउँपालिका र वडा तहसम्म प्रचार–प्रसार तथा परिचालन समिति गठनको कार्य अन्तिम चरणमा पुगेको कांग्रेसले जनाएको छ। व्यक्तिगत जीवनमा प्रवेश नगर्ने र मानव स्वतन्त्रताको सम्मान गर्ने नीति अवलम्बन गरिने पनि कांग्रेसले स्पष्ट पारेको छ।

समाचार शेयर गर्नुहोस्
86
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.