निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

भक्तपुरमा तेस्रोलिंगीमाथि छुरा प्रहार, ३ जना पक्राउ

भक्तपुरमा तेस्रोलिंगीमाथि छुरा प्रहार, ३ जना पक्राउ

99
SHARES

भक्तपुर – भक्तपुरमा तेस्रोलिंगी समुदायमाथि आक्रमण भएको छ। भक्तपुरमा दुई जना तेस्राेलिंगी गम्भीर घाइते भएका छन्। मायाको पहिचान नेपालमा कार्यरत बाबु दुमि राईका अनुसार भक्तपुरको मनोहरा बस्तीमा केटाहरूको समूहको आक्रमणबाट २२ वर्षीया वेलिना राई (परिवर्तित नाम) र १९ वर्षीय काशी तामाङ (परिवर्तित नाम) गम्भीर घाइते भएका छन्।

आक्रमणमा संलग्नलाई कारबाही गर्न प्रहरी वृत्त ठिमी भक्तपुरमा जाहेरी दर्ता गरिएको उनले बताए। उनका अनुसार आक्रमणमा संलग्न ३ जना पक्राउ परेका छन्।

योजनाबद्ध र ज्यान मार्ने उद्देश्यसहितको आक्रमणको घटनाप्रति मायाको पहिचान नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संस्थाले स्वतन्त्र रूपमा हिँडडुल गर्न पाउने संविधान प्रदत्त तथा नैसर्गिक मानवअधिकारको ठाडो उल्लङ्घन हुने गरी गरिएको यो बर्बर आक्रमण अत्यन्तै निन्दनीय र चिन्ताजनक भएको बताएको छ।

मायाको पहिचान नेपालले जारी गरेको प्रेस विज्ञप्तिअनुसार भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ अन्तर्गत मनोहरा बस्तीस्थित सार्वजनिक सडक खण्डमा माघ २६ गते राति करिब ९ बजे दुई जना तेस्रोलिंगीमाथि धारिलो छुरा, इट्टा र ढुङ्गाको प्रयोग गरी आक्रमण गरिएको थियो।

उक्त आक्रमणमा घटनापछि ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरी वृत्त ठिमी, भक्तपुरमा जाहेरी दरखास्त दर्ता गरिएको मायाको पहिचान नेपालले जनाएको छ। जाहेरी (परिवर्तित नाम) नरबहादुर प्रधान, उषा प्रधान, निशान राई तथा मायाको पहिचान नेपालका प्रतिनिधि बाबु दुमि राईले संयुक्त रूपमा दिएका हुन्।

जाहेरी विवरणअनुसार, गर्भवती महिलालाई जिस्क्याउने र छेडखानी गर्ने गुन्डा समूहको प्रतिवाद गर्दा उनीहरूले थप मानिसहरू बोलाई मुखमा मास्क लगाएर सङ्गठित रूपमा तेस्रोलिंगीहरूमाथि आक्रमण गरेका थिए।

विज्ञप्ति अनुसार आक्रमणका क्रममा घटनास्थलमा मेलमिलाप गराउन पुगेका व्यक्तिहरू समेत घाइते भएका छन्। घटनामा संलग्न तीन जना व्यक्तिहरू पक्राउ परे पनि अझै १२–१३ जना आक्रमणकारीहरू फरार रहेको उल्लेख गरिएको छ।

गम्भीर घाइते दुवै तेस्रोलिंगीलाई तत्काल भक्तपुर इन्टरनेशनल अस्पताल, कौशलटारमा भर्ना गरिएको थियो र हालसम्म पनि उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ।

मायाको पहिचान नेपालले उक्त घटनालाई व्यक्तिगत हिंसाको रूपमा मात्र नभई तेस्रोलिंगी समुदायमाथि लक्षित घृणाजन्य अपराध (हेट क्राइम) को रूपमा लिएको जनाएको छ।

संस्थाका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले विज्ञप्ति निकालेर फरार रहेका सबै दोषीलाई अविलम्ब पक्राउ गरी प्रचलित कानुनअनुसार हदैसम्मको कारबाही गर्न, घाइतेहरूको सम्पूर्ण उपचार खर्च दोषीबाट भराउन, पूर्ण रूपमा निको नहुँदासम्म उपचारको सुनिश्चितता गर्न तथा पीडित र जाहेरवालाको जिउज्यानको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

साथै, राज्यका सबै निकायलाई नेपालको संविधानको धारा १८ (समानताको हक) र धारा ४२ (सामाजिक न्यायको हक) बमोजिम तेस्रोलिंगी समुदायको सुरक्षा, सम्मान र अधिकार प्रत्याभूत गर्न प्रभावकारी कदम चाल्न र यस्ता हिंसात्मक घटनाहरू दोहोरिन नदिन कडा व्यवस्था गर्न मायाको पहिचान नेपालले आग्रह गरेको छ।

समाचार शेयर गर्नुहोस्
99
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.