घोषणापत्र होइन, प्रतिज्ञापत्रसहित कांग्रेस चुनावमा

घोषणापत्र होइन, प्रतिज्ञापत्रसहित कांग्रेस चुनावमा

288
SHARES

सिराहा – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीले घोषणापत्र नभई प्रतिज्ञापत्र ल्याउने बताएका छन्।
सिराहा निर्वाचन क्षेत्र नं ३ ले गोलबजारमा आयोजना गरेको स्वागत कार्यक्रममा सभापति थापाले प्रतिज्ञापत्र ल्याउने बताएका हुन्।

‘फागुन २१ गते निर्वाचन हुनेछ, चैतमा सरकार गठन हुनेछ र वैशाख १ गते प्रधानमन्त्रीले उभिएर आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गर्दै पाँच वर्षभित्र गर्ने कामबारे प्रतिबद्धता जनाउने छन्’, उनले भने, ‘भाषण होइन, काम गरेर देखाइन्छ। वैशाख महिनाभरि बनाइएका योजनाको मूल्याङ्कन जेठ १ गते गरिन्छ। एक–एक महिनामा कामको मूल्याङ्कन हुन्छ र नागरिकलाई नै मूल्याङ्कनमा सहभागी गराइन्छ।’

सभापति थापाले प्रत्येक महिनाको १ गते सरकारको कामको समीक्षा गर्ने प्रणाली लागू गरिने बताए। ‘यस्तो सरकार बनाउन सकिन्छ। समय पनि छ। तर यसका लागि उत्साह, अनुभव, जोस, होस र सम्हाल्ने क्षमता चाहिन्छ,’ थापाले भने।

उनले भने,‘केवल उखान टुक्का र भत्काउने कुरा गरेर हुँदैन, सबैलाई मिलाएर अघि बढाउने क्षमता चाहिन्छ, जुन क्षमता नेपाली कांग्रेस र मसँग छ।’

सभापति थापाले कांग्रेसका उम्मेदवारले प्रत्येक जिल्लामा गरेका वाचा पूरा हुने दाबी गर्दै त्यसको जिम्मेवारी आफूले लिने पनि बताए। त्यसका लागि जनताले पहिले जिताएर पठाउनुपर्ने उनको आग्रह छ।

‘हामी सपना बोकेर आएका छौँ। देशभरिका आमाको अनुहारमा मुस्कान ल्याउन चाहन्छौँ, युवालाई भरोसा दिन चाहन्छौँ र साथीहरूलाई ‘नेपाली हुँ’ भन्ने गर्व दिलाउन चाहन्छौँ,’ थापाले भने, ‘त्यसका लागि जनताको साथ आवश्यक छ।’

उनले युवाहरूकै लागि आफू जोखिम मोलेर पार्टीको सभापति बनेको पनि बताए। सभापति थापाले जेनजी विद्रोहले अहिलेको चुनाव सम्भव भएको बताए। सिराहाको धनगढीमाइ नगरपालिकाको बुद्धनगरमा आयोजित कार्यक्रममा सभापति थापाले मधेसमा कांग्रेसले चुनाव जित्ने यहाँको माहोलले बताइसकेको जिकिर गरे।

उनले भने,’मलाई तपाईँहरूले विश्वास गरेर बोलाउनु भयो। यहाँको माहोल देख्दा कांग्रेसले जित्नेछ भन्ने आशा लिएको छु। जिताएर पठाउनु हुन अनुरोध छ।’

थापाले आफूहरूले चाहेको चुनाव दुई वर्षपछि भए पनि अब चुनावबाट कुनै प्रकारले पछाडि फर्कन नमिल्ने बताउँदै चुनावका लागि कांग्रेस तयारी अवस्थामा बसेको बताए। ‘हामीले त चुनाव २ वर्षपछि आउला भन्ने सोचेका थियौँ तर जेनजीहरूले विद्रोह गरिदिनुभयो र सुशासन खोज्न थाल्नुभयो’,उनले भने,’यसले गर्दा चुनाव चाँडै आयो। त्यसमा कांग्रेसले चुनावको स्वागत गरेको छ। नयाँ नेतृत्व छान्न तयार छ। भोट तपाईँहरूकै हातमा छ। जिताउनु हुन्छ भन्ने आशा लिएको छु।’

सभापति थापाले मधेसको सप्तरीको हनुमान नगर, रुपनी, कदमचोक तथा सिराहाको लहान, जिरो माइल र गोलबजारमा सम्बोधन गरेका थिए। यसअघि थापाले सुनसरी निर्वाचन क्षेत्र नम्बर २ झुम्कामा मङ्गलवार नेता कार्यकर्तालाई सम्बोधन गरेका थिए।

समाचार शेयर गर्नुहोस्
288
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.