काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन सुरक्षा निकायलाई उच्च सतर्कताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएकी छन्।
महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा सैनिक मुख्यालय जङ्गीअड्डामा मङ्गलवारदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विगतका निर्वाचनका क्रममा सुरक्षा संयन्त्रबीच देखिएका समन्वयगत त्रुटि र रिक्तता अब दोहोरिन नदिन स्पष्ट निर्देशन दिइन्।
प्रधानमन्त्री कार्कीले नेपाल सरकारबाट स्वीकृत ‘प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ अनुसार नेपाली सेनालाई तोकिएका जिम्मेवारीहरू उत्कृष्ट ढङ्गले सम्पादन हुनेमा आफू पूर्ण विश्वस्त रहेको बताइन्।
उनले मतदाता, उम्मेदवार, निर्वाचन कर्मचारी तथा सुरक्षाकर्मी सबैको सुरक्षालाई प्राथमिकतामा राख्दै शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गरिनुपर्नेमा जोड दिइन्।
जनतालाई सुरक्षाको प्रत्याभूति दिँदै सबै राजनीतिक दलका गतिविधि बिना अवरोध सञ्चालन गर्न उपयुक्त वातावरण निर्माण गर्न प्रधानमन्त्रीले आग्रह गरिन्। साथै अन्य सुरक्षा तथा प्रशासनिक निकायसँग नजिकको सहकार्यमा स्पष्ट कार्ययोजना बनाएर अघि बढ्न निर्देशन दिइन्।
नेपाली सेनाले निर्वाचनका क्रममा सुरक्षा संवेदनशीलताको आधारमा जुनसुकै घेरामा रही आवश्यक सुरक्षा प्रदान गर्ने जनाएको छ। सेनाले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत भिडियो सन्देश जारी गर्दै प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत तथा मतदान अधिकृतको समन्वयमा निर्वाचन सुरक्षामा परिचालन रहने जानकारी दिएको हो।
सेनाका अनुसार निर्वाचन सुरक्षासम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक तालिम पूरा गरिसकिएको छ। मतपत्र, मतपेटिका तथा अन्य संवेदनशील सामग्रीको ढुवानीको जिम्मेवारी पनि नेपाली सेनाले लिनेछ, जुन सुरक्षाका दृष्टिले उच्च प्राथमिकतामा रहने व्यवस्था गरिएको छ।
फागुन २१ गते हुने निर्वाचनका लागि करिब ८० हजार नेपाली सेना परिचालन गरिएको सेनाले जनाएको छ। केन्द्रदेखि जिल्ला तहसम्म आवश्यकताअनुसार रिजर्भ फौजको समेत व्यवस्था गरिएको छ।
निर्वाचन अवधिभर काठमाडौँ, पोखरा, इटहरी र सुर्खेतबाट हवाई गस्ती सञ्चालन गरिने छ। मतदान, मतगणना र नतिजा प्रकाशन सम्पन्न भएपछि मात्र नेपाली सेनाको फौज क्रमशः ब्यारेक फिर्ता गरिने सेनाले जनाएको छ।
नेपाली सेना युद्धकार्य निर्देशनालयका निर्देशक सहायक रथी मनोज थापाले निर्वाचनलाई सफल, सुरक्षित र विश्वसनीय रूपमा सम्पन्न गर्न नेपाली सेना प्रभावकारी ढङ्गले परिचालन हुने बताएका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.