निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

मकवानपुरमा फेरिँदै चुनावी समीकरण

मकवानपुरमा फेरिँदै चुनावी समीकरण

74
SHARES

हेटौँडा – आगामी प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा मकवानपुरको राजनीतिक सरगर्मीले नयाँ मोड लिएको छ। विगतका निर्वाचनमा आन्तरिक कलह र गुटबन्दीका कारण क्षति व्यहोर्दै आएको नेपाली कांग्रेस यस पटक सुदृढ एकता र नयाँ रणनीतिका साथ मैदानमा उत्रिएको छ।

विशेष गरी मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी सहमहामन्त्री रहिसकेकी प्रभावशाली नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ को उम्मेदवारी र उनले अघि सारेका एजेन्डाले जिल्लाभर कांग्रेसको पक्षमा नयाँ लहर सिर्जना गरेको छ।

फेरिँदै राजनीतिक समीकरण

यस पटक मकवानपुरको चुनावी समीकरण विगतभन्दा भिन्न छ। क्षेत्र नम्बर १ की उम्मेदवार डिना उपाध्यायको सक्रियताले क्षेत्र नम्बर २ का उम्मेदवार एवं जिल्ला सभापति बुद्ध लामाको अभियानलाई समेत ऊर्जा प्रदान गरेको छ।

लामाले जिल्ला नेतृत्वको हैसियतमा पार्टीभित्रका पुराना र नयाँ पुस्ताबीच समन्वय गरिरहेका छन् भने डिनाले राष्ट्रिय मुद्दा र विकासका दीर्घकालीन योजनालाई मतदातामाझ पुर्‍याइरहेकी छिन्।

लामो समयपछि मतदाताले आफ्नै चुनाव चिन्ह ‘रूख’ मा मतदान गर्न पाउने अवस्था र पार्टीभित्रको आन्तरिक एकता मजबुत देखिनुले कांग्रेस उम्मेदवारको मनोबल उच्च बनाएको छ। “यस पटक हामी केवल मतका लागि मात्र होइन, नेता र कार्यकर्ताको मन जोड्न मैदानमा छौँ,” नेतृ डिनाले भनिन्,”अबको योजना केवल वितरणमा होइन, रोजगारी सिर्जना र सुशासनमा केन्द्रित हुनेछ।”

‘डिनालाई न्याय’ को मनोविज्ञान

२०३९ सालदेखि विद्यार्थी राजनीतिबाट खारिएकी र २०४२ को सत्याग्रहमा सात महिना जेल जीवन बिताएकी डिनाको राजनीतिक उचाइ राष्ट्रिय स्तरको छ। यद्यपि, प्रत्यक्ष निर्वाचनमा उनी पटक–पटक झिनो मतान्तरले पराजित हुँदै आएकी छिन्। यस पटक भने मतदातामाझ “डिनालाई न्याय गर्नुपर्छ” भन्ने एउटा भावनात्मक लहर देखिएको छ। हारजित जे भए पनि निरन्तर जनताको सुख दुःखमा साथ दिएका कारण यस पटक उनलाई संसद्‌मा पठाउनुपर्ने धारणा सर्वसाधारणमा बलियो बन्दै गएको छ।

विशेष गरी महिला मतदाताहरू डिनाको पक्षमा खुल्ला रूपमा उभिन थालेका छन्। महिला अधिकार र नीति निर्माण तहमा उनको दख्खललाई मकवानपुरका महिलाले आफ्नो गौरवको विषय बनाएका छन्।

युवा र ‘जेनजी’ को आकर्षण

कांग्रेसले यस पटक युवा र ‘जेनजी’ अर्थात् नयाँ पुस्तालाई लक्षित गरी ‘पढ्दै कमाउँदै’ र कृषि आधुनिकीकरणको ठोस योजना अघि सारेको छ। सामाजिक सञ्जालमाथिको बन्देज जस्ता अनुदार नीतिको विपक्षमा उभिने कांग्रेसको प्रतिबद्धता र गगन थापा जस्ता युवा नेतालाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरिनुले युवा मतदातामा आशा जगाएको छ। हेटौँडाको औद्योगिक क्षेत्रको पुनरुत्थान र रोजगारी सिर्जना गर्ने डिनाको ‘भिजन’ ले विदेश पलायन हुन लागेका युवाहरूलाई आकर्षित गरेको देखिन्छ।

स्थानीय तहको बलियो जग

गत स्थानीय निर्वाचनमा मकवानपुरका बहुसङ्ख्यक पालिकामा प्राप्त गरेको नतिजाले कांग्रेसको पक्षमा बलियो आधार तयार पारेको छ। जिल्लाको पहिलो दलको हैसियत बनाएको कांग्रेसले यस पटक सङ्घीय निर्वाचनमा पनि ‘क्लिन स्विप’ गर्ने रणनीति लिएको छ। गाँजा खेतीको वैधानिकता, बफर जोन र राष्ट्रिय निकुञ्जका कारण स्थानीयले भोग्नुपरेको कानुनी जटिलतालाई कांग्रेसले साझा चुनावी मुद्दा बनाएको छ।

हेटौँडा १७ की स्थानीय सीता राई भन्छिन्, “हामीले केन्द्रमा प्रभाव राख्ने र हाम्रो समस्या बुझ्ने नेता खोजेका छौँ, त्यो क्षमता डिना दिदीमा देखिन्छ।”

एकातिर राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने डिना उपाध्यायको अनुभव र अर्कोतिर स्थानीय सङ्गठनमा भिजेका बुद्ध लामाको सक्रियता तथा प्रदेश सभापति समेत रहेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको साङ्गठनिक पकडले कांग्रेसलाई विगतको तुलनामा निकै बलियो बनाएको छ।

निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र अर्याल ‘माइकल’, पूर्व सभापति रघुरमण न्यौपाने, नेता आनन्दराम पराजुली, दामोदर खनाल, अर्जुन तिवारी लगायतका जिल्ला तहका नेताको सक्रियताले चुनावी अभियानलाई थप मजबुत बनाएको छ।

विगतमा कांग्रेसभित्र देखिएका आन्तरिक अविश्वासहरू यसपटक पूर्ण रूपमा हटेको देखिएको छ। विकासका अवरुद्ध प्रक्रियालाई गति दिन र मकवानपुरको आवाजलाई केन्द्रमा बुलन्द बनाउनका लागि डिनाको विजयलाई धेरैले महत्त्वका साथ हेरेका छन्। जिल्लाभर देखिएको कांग्रेसको सक्रियता र नेतृ डिनाको नेतृत्वदायी भूमिकाले मकवानपुरमा नयाँ राजनीतिक अध्यायको सङ्केत गरेको छ।

आगामी निर्वाचनमा डिनासँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बहादुर सिंह, नेकपा एमालेका रामेश्वर राना, नेकपाका विजय गौतम लगायतका उम्मेदवार चुनावी मैदानमा छन्।

समाचार शेयर गर्नुहोस्
74
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.