काठमाडौं – निर्वाचन आयोगले केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ५१ उजुरी प्राप्त भएको जनाएको छ। ती उजुरीका सम्बन्धमा सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकोमा ३० वटाको जवाफ प्राप्त भएको आयोगले जानकारी दिएको छ।
आयोगका अनुसार निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी उजुरी परेका राजनीतिक दल, उम्मेदवार, सरकारी एवं गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई समेत स्पष्टीकरण सोधिएको छ।
दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपालमार्फत स्पष्टीकरण तथा आवश्यक कारबाहीका लागि लेखी पठाइएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिए।
जिल्लास्तरमा पनि निर्वाचन आचारसंहिता उल्लङ्घनविरुद्धका उजुरी प्राप्त भई आवश्यक कारबाही भइरहेको आयोगले जनाएको छ। निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाही प्रक्रिया अघि बढाइएको आयोगको भनाइ छ।
आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालय क्रियाशील रहेको उनले बताए।
निर्वाचनको २२ दिन बाँकी हुँदासम्म ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको छ। बुधवारसम्म एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ भएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए।
हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेलधुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ, बाँके, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), पाल्पा, अर्घाखाँची, प्युठान, रुपन्देही र रोल्पा गरी ५३ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको हो।
ती जिल्लाका मतपत्र प्याकिङसमेत सम्पन्न भइसकेको सहायक प्रवक्ता जिसीले बताए। हालसम्म १३ हजार ३२१ बाकस मतपत्र प्याकिङ भइसकेको छ। अहिले दिनहुँ एक हजार बाकस मतपत्र प्याकिङ तथा १३ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइको काम सम्पन्न भएपछि माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि प्रश्न पत्र छपाइ गरिने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार मतपत्र छपाइको काम सकिएपछि मात्रै एसइई प्रश्न पत्र छपाइ सुरु हुनेछ। यसअघि बोर्डले फागुन पहिलो साताअघि नै एसइई परीक्षा प्रश्न पत्र छपाइ थाल्ने गरेको थियो। तर यस वर्ष निर्वाचनका कारण उक्त समयमा प्रश्न पत्र छपाइ नहुने देखिएको हो।
मतपत्र छपाइको काम सकिएपछि मात्रै एसइई प्रश्न पत्र छपाइ सुरु हुने परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० का नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए। अहिले जनक शिक्षा सामग्री केन्द्रले निर्वाचनका लागि मतपत्र छापिरहेको छ। मतपत्र छपाइको काम सकिएपछि सोही केन्द्रको सेक्युरिटी प्रेसमा एसइई प्रश्न पत्र छपाइ हुनेछ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.