काठमाडौँ – नेपालको लोकतान्त्रिक इतिहासमा समावेशिता र पहिचानको राजनीति नयाँ मोडमा प्रवेश गरिरहेको छ। पहिलो पटक तेस्रोलिङ्गी समुदाय तथा अन्य विविध पहिचानका सदस्यहरूले मिलेर स्थापना गरेको पार्टीबाट समानुपातिक उम्मेदवारका रूपमा तेस्रोलिङ्गी नेता सञ्जीवनी लोप्चन (सन्ध्या) को उदय भएको छ।
यो उम्मेदवारी केवल व्यक्तिगत राजनीतिक आकाङ्क्षा नभई सामाजिक परिवर्तनको बलियो घोषणाका रूपमा व्याख्या गरिएको छ।
नेपाल जस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा लामो समयदेखि तेस्रोलिङ्गी समुदाय राज्य संयन्त्र र औपचारिक राजनीतिबाट वञ्चित हुँदै आएको यथार्थ सर्वविदित छ।
संविधानले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार सुनिश्चित गरे पनि व्यवहारिक राजनीतिक प्रतिनिधित्व अझै न्यून रहेको छ। यही असमानता, अदृश्यता र बहिष्करणलाई चुनौती दिँदै सञ्जीवनी लोप्चन (सन्ध्या) को उम्मेदवारी इतिहासकै पहिलो सङ्गठित राजनीतिक हस्तक्षेपको रूपमा प्रस्तुत भएको दाबी गरिएको छ।
सञ्जीवनी लोप्चन (सन्ध्या) केवल तेस्रोलिङ्गी समुदायको प्रतिनिधि मात्र नभई सामाजिक न्याय, समान अधिकार र समावेशी राज्यको पक्षमा लामो समयदेखि सक्रिय सामाजिक अभियन्ता पनि हुन्। आदिवासी जनजाति, महिला, दलित, अल्पसङ्ख्यक तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको हक–अधिकारका लागि उनले गरेको सङ्घर्ष अहिले राजनीतिक नेतृत्वको रूपमा रूपान्तरण भएको विश्लेषण भएको छ।
यस निर्वाचनमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायबाट देशभरि नै उल्लेखनीय सहभागिता देखिएको छ। समुदायका तर्फबाट ६ जना प्रत्यक्ष तथा १५ जना समानुपातिक उम्मेदवार चुनावी मैदानमा रहेका छन्। सोही सन्दर्भमा सञ्जीवनी लोप्चन (सन्ध्या) को उम्मेदवारीलाई समुदायको सङ्गठित राजनीतिक उपस्थिति र आत्मघोषित नेतृत्वको अभिव्यक्तिका रूपमा हेरिएको छ।
प्रतिनिधित्वको नयाँ युगको सुरुआत
पहिलो पटक तेस्रोलिङ्गी समुदाय आफैँले नेतृत्व गरेको पार्टी समावेशी समाजवादी पार्टीबाट उम्मेदवार उठ्नु लोकतन्त्रको परिपक्वताको सङ्केतका रूपमा लिइएको छ। यसले राज्यको मूलधारमा विविध पहिचानको उपस्थिति सुनिश्चित गर्ने नयाँ राजनीतिक बाटो खोल्ने अपेक्षा गरिएको छ।
समानुपातिक निर्वाचन प्रणालीको मूल उद्देश्य नै सीमान्तकृत समुदायलाई प्रतिनिधित्व उपलब्ध गराउनु हो। सञ्जीवनी लोप्चन (सन्ध्या) को उम्मेदवारीले उक्त प्रणालीलाई व्यवहारिक अर्थमा उपयोग गर्दै समावेशी राजनीतिलाई कार्यान्वयनतर्फ उन्मुख बनाएको दाबी गरिएको छ।
तेस्रोलिङ्गी समुदायका धेरै सदस्यहरू अझै पनि सामाजिक बहिष्कार, आर्थिक अभाव तथा विभिन्न प्रकारका हिंसा र विभेदको सामना गरिरहेका अवस्थामा यस्तो नेतृत्वको उदयले हजारौँ युवालाई आत्मविश्वास, पहिचान र राजनीतिक चेतनाको प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।
सञ्जीवनी लोप्चन (सन्ध्या) पक्षधरहरूले अहिलेको आवश्यकता केवल व्यक्तिको जितभन्दा पनि समावेशी विचार, समान अधिकार र सामाजिक न्यायको आवाजलाई संसद्सम्म पुर्याउनु भएको बताएका छन्। उनका अनुसार यो उम्मेदवारी राजनीतिक मैदानमा नयाँ इतिहास लेख्ने सम्भावना बोकेको छ- जहाँ कुनै पनि नागरिक आफ्नो पहिचानका कारण पछि नपरून्।
यस अभियानलाई उनीहरूले केवल चुनावी प्रक्रिया नभई सम्मान, पहिचान र समानताको आन्दोलनका रूपमा चित्रित गरेका छन्। समावेशी लोकतन्त्रको नयाँ अध्याय सुरु गर्ने विश्वाससहित सम्पूर्ण मतदातासमक्ष साथ र समर्थनको अपिल गरिएको छ।
चुनावी एजेन्डा र नाराहरू यस्ता छन् :
१. गाउँ सार्वभौम, जनता निर्णयकर्ता – प्रतिनिधिमूलक लोकतन्त्र होइन, प्रत्यक्ष सहभागितामूलक लोकतन्त्र हाम्रो आधार।
२. मातृसत्तामा आधारित समाजवाद – GDP होइन, प्रकृति, मानिस, पशुपन्छी, नदी–नाला र हिमाल सबैको समृद्धि (GCP: ग्रस कम्प्यासन प्रोडक्ट) हाम्रो मापदण्ड।
३. लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, दलित, आदिवासी, मधेसी, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, महिला र श्रमिकहरूको सम्मान – राज्यका सबै संरचनामा समान नेतृत्व र प्रतिनिधित्व।
४. शिक्षा, स्वास्थ्य, आवास र सामाजिक सुरक्षा – हरेक नागरिकको सुनिश्चित अधिकार।
५. बेरोजगारी अन्त्य र हरित रोजगारी – युवा शक्ति देशमै, उत्पादनमुखी अर्थतन्त्र सशक्त।
६. महिला, तेस्रोलिङ्गी तथा सबै पहिचानको सुरक्षा – हिंसा, घृणा र विभेदविरुद्ध शून्य सहनशीलता।
७. भ्रष्टाचारमुक्त शासन र डिजिटल पारदर्शिता – जनताको कर जनताकै विकासमा।
८. सामुदायिक वन, नदी र भूमि संरक्षण – प्रकृति–केन्द्रित विकास र वातावरणीय न्याय।
९. सङ्घीयताको पुनर्संरचना – शक्ति गाउँबाट माथि, केन्द्रमा न्यूनतम अधिकार।
१०. श्रीवत्स (अनन्त गाँठो) मा मतदान – समावेशी, न्यायपूर्ण र सहभागी समाजवादी नेपालको निर्माण।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक उम्मेदवारहरूको बढ्दो चुनावी उपस्थितिलाई नेपालको समावेशी लोकतन्त्रतर्फको महत्त्वपूर्ण राजनीतिक कदमका रूपमा प्रस्तुत गरिएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.