निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

काभ्रे–१ मा कोनिकाको करुणामूलक राजनीतिक प्रस्ताव

काभ्रे–१ मा कोनिकाको करुणामूलक राजनीतिक प्रस्ताव

109
SHARES

काभ्रेपलान्चोक – काभ्रेपलान्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि विनोद लामा (कोनिका) चुनावी मैदानमा उत्रिएका छन्। लामो समयदेखि सामाजिक, मानवअधिकार र व्यावसायिक क्षेत्रमा सक्रिय उनी आफ्नो उम्मेदवारीलाई परम्परागत सत्ता संरचनाविरुद्धको वैकल्पिक राजनीतिक पहलका रूपमा प्रस्तुत गर्दै चुनावी सङ्घर्षमा होमिएकी छन्।

ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा जन्मिएर त्यहीँ हुर्किएका कोनिका हालसम्म पनि सोही स्थानमा बसोबास गर्दै आएकी छन्। उनले स्नातक तह (बीबीएस) अध्ययन पूरा गरेकी छन् भने पाकिस्तानको कराचीस्थित युनिभर्सिटी अफ कराचीबाट स्नातकोत्तर (एमबीए) तहसम्मको अध्ययन गरेकी छन्।

यसका अतिरिक्त उनले व्यवस्थापन, बैङ्किङ, शिक्षा, पर्यटन तथा अन्तर्राष्ट्रिय विद्यार्थी र मानवअधिकारसम्बन्धी ३–६ महिनाका विभिन्न तालिम तथा कोर्सहरू पनि पूरा गरेकी छन्। विगत २५ वर्षदेखि निरन्तर आफ्नै व्यवसाय तथा व्यापार सञ्चालन गर्दै आएकी उनले शिक्षा र पर्यटन क्षेत्रमा उल्लेखनीय अनुभव हासिल गरेकी छन्।

महिला, बालबालिका, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिहरूको मानवअधिकारका विषयमा काम गर्दै उनले देशभित्र र विदेशमा विभिन्न सामाजिक सङ्घ–संस्थामार्फत सक्रिय भूमिका निर्वाह गरेकी छन्। सामाजिक सरोकारका मुद्दालाई व्यावहारिक अनुभवसँग जोड्दै राजनीति गर्ने उनको दाबी छ।

उम्मेदवारी घोषणा गर्दै उनले आफ्नो मूल मन्त्र “कम लेख्ने, कम बोल्ने तर काम गरेर देखाउने।” स्पष्ट पारेकी छन्। उनका अनुसार चुनावी नारा र भाषणभन्दा कामको परिणाम महत्त्वपूर्ण हुन्छ। हालै भएको ‘जेनजी आन्दोलन’लाई उदाहरण दिँदै उनले युवाहरूका माग र उद्देश्य पूरा हुन नसकेको टिप्पणी गरेकी छन्।

आन्दोलनले सत्ताको मूल चरित्र परिवर्तन गर्न नसकेको उनको तर्क छ। उनकाे भनाइमा आन्दोलनको पीडा आन्दोलनमा ज्यान गुमाएका, अङ्गभङ्ग भएका व्यक्तिहरू र तिनका परिवारले मात्र भोगे, जबकि सत्ता संरचना उस्तै रहिरह्यो।

नेपालमा विगतमा पनि अनेक आन्दोलन भए, शहीद भए, दल फेरिए, सरकार बदलिए, संविधान आयो र गयो, तर सत्ताको आधारभूत चरित्र भने परिवर्तन नभएको उनी बताउँछिन्। यसको मूल कारण सत्ता अझै पनि पुरुष–केन्द्रित, शहर–केन्द्रित, पैसा–केन्द्रित र सीमित समूह–केन्द्रित रहेको उनको विश्लेषण छ।

चुनावी तथ्याङ्क उल्लेख गर्दै उनी भन्छिन् पुरुष उम्मेदवारको सङ्ख्या ८८.५ प्रतिशतसम्म पुग्दा महिला उम्मेदवार ११.५ प्रतिशतमा सीमित हुनु लोकतान्त्रिक समावेशितामाथि प्रश्नचिन्ह हो। “हामी लैङ्गिक समानता बनाउँछौँ” भन्ने घोषणाप्रति प्रश्न उठाउँदै उनी महिला, बालबालिका, ज्येष्ठ नागरिक, ग्रामीण समुदाय, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, दलित, आदिवासी, जनजाति, मधेसी र प्रकृतिसमेत सधैँ किनारामा पारिएको बताउँछिन्।

यही यथास्थितिलाई भङ्ग गर्ने उद्देश्यसहित आफू काभ्रेपलान्चोक क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेको उनले बताएकी छन्। चुनावी मैदानमा उत्रिँदा पहिचानको कारण सामना गर्नुपरेको पूर्वाग्रह, सीमित स्रोतसाधन, र स्थापित राजनीतिक शक्तिसँगको प्रतिस्पर्धालाई उनले आफ्नो सङ्घर्षको हिस्सा मानेकी छन्। उनी भन्छिन्, प्रतिनिधित्व केवल नामको होइन, नीति र संरचनाको तहबाट हुनुपर्छ।

आफ्नो राजनीतिक दृष्टिकोणलाई उनी प्रभुत्वमा होइन, करुणामा आधारित राजनीति भनेर व्याख्या गर्छिन्। उनका अनुसार राजनीति प्रतिस्पर्धा होइन, सहकार्यमा आधारित हुनुपर्छ; दण्ड होइन, हेरचाहमा आधारित हुनुपर्छ; र युद्ध होइन, जीवनको रक्षा तथा पुनःस्थापनामा केन्द्रित हुनुपर्छ।

उनले अघि सारेको ‘मातृसत्तात्मक राजनीति’को अवधारणालाई उनी महिला–शासनको सङ्कीर्ण अर्थमा होइन, राज्य सञ्चालनमा करुणा, सहअस्तित्व र जिम्मेवार हेरचाहलाई केन्द्रमा राख्ने प्रणालीका रूपमा व्याख्या गर्छिन्। जसरी एउटी आमाले परिवार र सन्तानको हेरचाह गर्छिन्, त्यसैगरी राज्यले पनि नागरिक र प्रकृतिको संरक्षणलाई मूल दायित्व मान्नुपर्ने उनको धारणा छ।

संरचनात्मक परिवर्तनका लागि उनले राजनीतिक शक्ति गाउँ र नगरबाट क्रमशः केन्द्रतर्फ कम हुँदै जाने गरी सङ्घीय संरचनाको पुनर्संरचना आवश्यक रहेको बताएकी छन्। उनका अनुसार सार्वभौमसत्ता काठमाडौँ र सिंहदरबारमा मात्र केन्द्रित हुनु हुँदैन।

प्रत्यक्ष सहभागितामा आधारित लोकतन्त्रलाई सशक्त बनाउँदै गाउँलाई अधिकारसम्पन्न बनाउने, गाउँ–नगरबीच समन्वय कायम गर्दै ठूला पूर्वाधार विकास, साझा पर्यावरणीय मुद्दा, मुद्रा, सेना, परराष्ट्र नीति, राष्ट्रिय समन्वय तथा ठूला पर्यावरणीय सङ्कट व्यवस्थापनजस्ता विषयमा सन्तुलित संरचना निर्माण गर्नुपर्ने उनको धारणा छ।

कोनिकाको दाबीमा उनको उम्मेदवारी केवल पहिचानको राजनीति नभई संरचनात्मक रूपान्तरणको प्रस्ताव हो। लामो व्यावसायिक तथा व्यवस्थापकीय अनुभव, शिक्षा र पर्यटन क्षेत्रमा सक्रिय संलग्नता, मानवअधिकार र सामाजिक समावेशितामा प्रत्यक्ष काम, केन्द्रीकृत सत्ताविरुद्ध वैकल्पिक संरचनाको स्पष्ट दृष्टिकोण तथा समावेशी र करुणामूलक शासनको दर्शनका आधारमा आफू योग्य उम्मेदवार भएको उनले बताएकी छन्।

उनले काभ्रेपलान्चोक क्षेत्र नम्बर १ का मतदातालाई आफ्नो चुनाव चिह्नमा मतदान गरी वैकल्पिक राजनीतिक अभ्यासलाई सशक्त बनाउन अपिल गरेकी छन्।

समाचार शेयर गर्नुहोस्
109
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.