काठमाडौँ – फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका अग्रणी अधिकारकर्मी सुनिल बाबु पन्तले समुदाय लक्षित गर्दै विशेष अपिल जारी गरेका छन्।
२५ वर्षदेखि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको हकहितका लागि निरन्तर काम गर्दै आएका पन्त २०६४ सालको पहिलो संविधान सभामा पुगेका थिए। त्यसयताका निर्वाचनहरूमा भने एक जना पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक संसद् पुग्ने अवसर पाउन नसकेको उनले स्मरण गराएका छन्।
पन्तका अनुसार कुनै पनि राजनीतिक दलले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूलाई संसदमा पुग्ने हैसियतमा पुर्याउन सकेनन्। “जबसम्म लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक आफैँ संसदमा पुग्दैनन्, तबसम्म कानुन, नीतिहरू लेखिँदैनन्। हाम्रो कथा अरूले भन्दैनन्, हामी आफैँ भन्नुपर्छ,” उनले भिडियो सन्देशमार्फत भनेका छन्।
संसदमा रहेको त्यस अभावलाई पूर्ति गर्नका लागि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरू एकजुट भएर समावेशी समाजवादी पार्टी खोलेको पन्तले जानकारी दिएका छन्। उक्त पार्टीले प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ १५ जनालाई उम्मेदवार बनाएको छ।
प्रत्यक्षतर्फ काठमाडौँ १ मा सुरेन्द्र पाण्डे, काठमाडौँ १० मा पूर्णचन्द्र पौडेल, मोरङ ४ मा नुमा लिम्बु, रुपन्देही २ मा देवेन्द्रबहादुर खत्री, काभ्रेपलान्चोक १ मा विनोद लामा र ओखलढुङ्गामा पिंकी राई उम्मेदवार छन्।
पन्तले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समलिङ्गी महिला, समलिङ्गी पुरुष, तेस्रोलिंगी महिला, तेस्रोलिंगी पुरुष तथा अन्तरलिंगी सबै जना खुलेर आउने स्थिति अझै नभएको उल्लेख गरेका छन्।
सामाजिक र पारिवारिक बाध्यताका कारण कतिपय व्यक्ति विपरीतलिंगी वैवाहिक जीवन बाँचिरहेको उनले बताएका छन्। “सबैले खुलेर आउनुपर्छ भन्ने पनि छैन, तर हाम्रो हक–अधिकारको सुनिश्चितताका लागि आफ्नो प्रतिनिधित्व त्यहाँ पुग्नुपर्ने, संसदमा आवाज उठ्नुपर्ने आवश्यकता भएकाले गोप्य मतदानमार्फत समावेशी समाजवादी पार्टीलाई मत दिन सक्नुहुन्छ,” पन्तले भनेका छन्, “त्यसका लागि श्रीवत्स अर्थात् अनन्त गाँठोमा मत हाल्नुहोस्।”
सरकार र राजनीतिक दलहरूलाई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको वास्तविक जनसंख्या थाहा नभएको पन्तले बताएका छन्। “जहाँ जनसंख्या थाहा हुँदैन, नीति–नियम, बजेट र कार्यक्रमहरू पनि बन्दैनन्,” उनले भने, “यदि यो समुदायका सदस्यहरूले समावेशी समाजवादी पार्टीलाई मत दिए भने एक ढङ्गले जनगणना पनि हुन्छ। देशलाई थाहा हुन्छ, हामी कति छौँ?”
उनका अनुसार सबैले समावेशी समाजवादी पार्टीलाई गोप्य मतदानमार्फत भोट हाल्दा समुदायको शक्ति देखाउन सकिन्छ। “हामी कति छौँ? हाम्रो बल कति छ? भन्ने कुरा बाँकी समाजलाई पनि थाहा हुन्छ,” उनले उल्लेख गरेका छन्।
पन्तले श्रीवत्स चुनाव चिन्हमा मत हालेर समावेशी समाजवादी पार्टीलाई समर्थन गरेमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित हुने बताएका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.