लोकप्रियताको भीडमा गुणस्तर हराउने खतरा

लोकप्रियताको भीडमा गुणस्तर हराउने खतरा

218
SHARES

काठमाडौँ – संविधान सभा सदस्य तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अधिकारकर्मी सुनिल बाबु पन्तले चुनाव र नेतृत्व छनोटको प्रवृत्तिबारे गम्भीर धारणा सार्वजनिक गरेका छन्।

उनले चुनावी प्रतिस्पर्धामा बढ्दो भीड देखाउने होड, प्रभाव पार्ने भाषणकला र भावनालाई उक्साउने प्रवृत्तिले गुणस्तरीय नेतृत्वलाई ओझेलमा पारिरहेको बताएका छन्।

उनका अनुसार, “चुनावले सधैँ उत्कृष्ट नेता छान्छ भन्ने ग्यारेन्टी हुँदैन। धेरै पटक यसले उत्कृष्ट कथावाचक छान्छ।” अहिलेको चुनावी मैदानमा धेरै बोल्न सक्ने, प्रभावशाली देखिन सक्ने र भीडको भावनालाई खेलाउन सक्ने व्यक्ति अग्रस्थानमा पुग्ने प्रवृत्ति बलियो बन्दै गएको उनले उल्लेख गरे।

पन्तको भनाइमा, गहिरो सोच भएको, कठोर निर्णय लिन सक्ने र संस्थागत सुधारमा धैर्य राख्ने व्यक्ति प्रायः “कम आकर्षक” देखिन्छन्। कडा सत्य बोल्ने उम्मेदवार “निराशावादी” ठानिन्छन्, जटिल समस्याको जटिल समाधान प्रस्तुत गर्ने व्यक्ति “ढिलो” देखिन्छन्। तर सजिलो नारा दिने, तुरुन्तै समृद्धि ल्याउने वाचा गर्ने उम्मेदवार “आशावादी” ठहरिन्छन्।

“हामीलाई कडा सत्यभन्दा मिठो वाचा मन पर्छ। लोकतन्त्रको जोखिम यहीँबाट सुरु हुन्छ,” उनले स्पष्ट पारे।

उनले इतिहासको उदाहरण दिँदै अस्थिरता र अपमानको समयमा जनताको क्रोधलाई उचाल्न सक्ने नेता छिट्टै शक्तिमा पुग्ने बताएका छन्। जर्मनीको अन्तरयुद्धकालीन शासन व्यवस्था Weimar Republicका बेला आर्थिक सङ्कट र राजनीतिक अन्योलबीच Adolf Hitler उदाएको प्रसङ्ग स्मरण गराउँदै उनले भने, “उनी सबैभन्दा ज्ञानी भएर होइन, जनताको पीडा र रिसलाई नाटकीय भाषणमा बदल्न सकेकाले शक्तिमा पुगे।”

पन्तका अनुसार, जब लोकप्रियता नै शक्ति बन्न थाल्छ, क्षमतावान् व्यक्तिहरू पराजित हुन थाल्छन् र ‘हिरो’ बन्नेहरू विजयी हुन्छन्। चुनावी प्रतिस्पर्धा यदि भीडको आकार र भावनात्मक उत्तेजनामै सीमित भयो भने लोकतन्त्रको गुणस्तर कमजोर हुने खतरा बढ्ने उनको निष्कर्ष छ।

समाचार शेयर गर्नुहोस्
218
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.