निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

चुनाव नजिकिँदै राजनीतिक घम्साघम्सी, सम्भावित झडप रोक्न उच्च सतर्कता

चुनाव नजिकिँदै राजनीतिक घम्साघम्सी, सम्भावित झडप रोक्न उच्च सतर्कता

78
SHARES

काठमाडौँ – फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी माहोल तातिँदै गएको छ। राजनीतिक दल र उम्मेदवारहरू घरदैलोमा व्यस्त छन् भने विभिन्न स्थानमा चुनावी सभा आयोजना गरी मत माग्ने क्रम तीव्र बनेको छ। निर्वाचनको गतिविधि बढेसँगै राजनीतिक आरोप–प्रत्यारोप र सुरक्षासम्बन्धी चुनौतीसमेत सार्वजनिक रूपमा देखिन थालेका छन्।

मत माग्ने क्रममा दल तथा उम्मेदवारहरूबीच आरोप–प्रत्यारोपको शृङ्खला चलिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले समयमा काम नगर्नेलाई बाँधेर झुन्ड्याउने अभिव्यक्ति दिएपछि त्यसले राजनीतिक वृत्तमा तरङ्ग उत्पन्न गरेको छ। उक्त अभिव्यक्तिको काउन्टरमा नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले रुखमा झुन्ड्याएर सडक छिटो बन्दैन, कांग्रेससँग स्पष्ट योजना रहेको जवाफ दिएका छन्।

चुनावी प्रतिस्पर्धा वाकयुद्धमा मात्र सीमित नभई झन्डा जलाउनेदेखि जम्काभेट हुँदा पाखुरा सुर्कनेसम्मका गतिविधिमा उत्रिएको छ। दाङमा रास्वपाका कार्यकर्ताले नेकपा एमालेको झन्डा जलाएको आरोप लागेको छ। झन्डा जलाउने कार्यमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जनाएको छ, जसले सुरक्षा संयन्त्रलाई थप सतर्क बनाएको छ।

सुनसरीमा शनिवार कांग्रेस समर्थक र रास्वपा कार्यकर्ताबीच झडपको स्थिति सिर्जना भएको थियो। प्रहरीले समयमै हस्तक्षेप गरी स्थिति सामान्य बनाउँदा कुनै अप्रिय घटना हुन पाएन। रास्वपाका कार्यकर्ता आक्रमणमै उत्रन थालेको आरोप कांग्रेस र एमालेले लगाएका छन्। यी घटनाक्रमले निर्वाचनको सन्दर्भमा सम्भावित झडप र अवाञ्छित गतिविधि रोक्न सुरक्षातर्फ विशेष ध्यान दिनुपर्ने सङ्केत गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपा चुनावमा पराजित हुने डरले चुनाव भाँड्न लागेको आरोप नै लगाएका छन्। झापा–५ बाट उम्मेदवार रहेका ओलीको यो पटक रास्वपाका वरिष्ठ नेता बालेनसँग प्रतिस्पर्धा पर्ने अनुमान सार्वजनिक भइरहेका छन्।

आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित ओलीले झापा–५ बाहेक अन्यत्र समय दिन सकेका छैनन्। एक महिनाको अन्तरालमा उनी पाँच पटक झापा पुगिसकेका छन्। शनिवार झापामै आयोजित कार्यक्रममा उनले रास्वपा चुनाव भाँड्ने गतिविधिमा लागेको दाबी दोहोर्‍याए।

ओलीले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा छिटो टुङ्गो लगाउनुपर्नेमा आलटाल भइरहेको आरोप पनि लगाए। सर्वोच्च अदालतले अङ्ग पुग्ने बित्तिकै सुनुवाइमा जाने बताएको छ। नयाँ प्रतिनिधिसभा निर्वाचनका लागि मतदान भएको भोलिपल्ट मात्र सर्वोच्चले मुद्दामा साधारण तारेख दिएकोप्रति ओलीले त्यसलाई अर्थहीन र प्रयोजनविहीनका संज्ञा दिएका छन्।

चुनावको क्रममा दल र उम्मेदवारहरूबीच घम्साघम्सी बढ्दै गएपछि केन्द्रीय सुरक्षा समितिले संयमता अपनाउन आग्रह गरेको छ। बैठकले गैरकानुनी गतिविधिलाई कानुनी दायरामा ल्याउन निर्देशन दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

काफ्लेका अनुसार मधेशको सुरक्षा अवस्था विश्लेषण गर्ने जिम्मा नेपाल प्रहरीका एआईजी उमाप्रसाद चर्तुवेदीलाई दिइएको छ। निर्वाचन नजिकिँदै जाँदा राजनीतिक प्रतिस्पर्धासँगै सुरक्षा संवेदनशीलता पनि बढेकाले प्रशासनले सतर्कता बढाएको जनाएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले गण्डकी प्रदेशपछि लुम्बिनी प्रदेशको भ्रमण गरी चुनावी तयारी र समग्र वस्तुस्थितिबारे जानकारी लिएकी छन्। प्रधानमन्त्री कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइन्।

निर्वाचनको वातावरण धमिल्याउन खोज्ने तत्त्वहरूको पहिचान गरी निर्वाचन केन्द्रित सुरक्षामा पूर्ण ध्यान दिन उनले निर्देशन दिएकी हुन्।

प्रधानमन्त्री कार्कीले जनतामा जान नसक्ने केही व्यक्ति र समूहले आफ्नो अस्तित्व देखाउन निर्वाचन बहिष्कारको हल्ला फैलाउने गरेको उल्लेख गर्दै यस्ता गतिविधिमाथि कडा निगरानी राख्न निर्देशन दिइन्। आफ्नो उपस्थिति देखाउन जनजीवनलाई आतङ्कित पार्ने र रकम असुली (एक्सटर्सन) गर्ने प्रवृत्ति पनि पाइएको र त्यसलाई समयमै निरुत्साहित गर्नुपर्ने उनको भनाइ थियो।

उनले भनिन्, ‘बहिष्कार पनि अहिले सजिलो व्यवसायजस्तो भएको छ। जनतामा जानुपरेन। मत माग्नुपरेन। पार्टीको सङ्गठन बनाउनुपरेन। दुईचार जना मिलेर बहिष्कार भन्दियो। जनतालाई आतङ्कित बनायो। चन्दाका नाममा एक्सटर्सन गर्‍यो। यस्तो प्रवृत्ति छ। यसलाई समयमै निरुत्साहित गर्नुपर्छ। राजनीति गर्ने हो भने त जनतामा मत माग्न जानुपर्‍यो नि।’

अहिले सबै सम्हालिएर संयमित भएर देशलाई निकास दिने गरी निर्वाचन सफल बनाउन लाग्नुपर्ने उनले बताइन्। ‘यो देश हाम्रो हो। हामीले नै बनाउनुपर्छ। यही देशमा बाँच्नुपर्छ। त्यसैले जस्तासुकै चुनौती आए पनि हामीले सामना गरेर नै अघि बढ्नुपर्छ। देशको माया हुनेहरू सबैले शान्ति सुव्यवस्था कायम गर्न सहयोग गर्नुपर्छ। निर्वाचन सफल बनाउँदै देशलाई निकास दिन लाग्नुपर्छ।’

निर्वाचन आफैँमा जित–हारको प्रतिस्पर्धा भएकाले सम्भावित झडपप्रति पनि चनाखो हुनुपर्ने उनले बताइन्। चुनावी सरगर्मीसँगै देखिएका वाकयुद्ध, झडप, बहिष्कारको हल्ला तथा असुलीका प्रवृत्तिलाई नियन्त्रणमा राख्दै शान्ति–सुरक्षा कायम गर्नु नै यतिबेला राज्य संयन्त्रको मुख्य चुनौतीका रूपमा उभिएको छ।

समाचार शेयर गर्नुहोस्
78
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.