निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

भ्रष्टाचार ढाकछोप गर्ने भूमिकाको योजनामा रास्वपाको साथ

भ्रष्टाचार ढाकछोप गर्ने भूमिकाको योजनामा रास्वपाको साथ

214
SHARES

काठमाडौँ – भूमिका श्रेष्ठ लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायभित्र परिचित नाम बनेकी छन्। राजनीतिमा पनि सदाबहार छाइरहेकी भूमिकाको दल अदलबदल सामान्य जस्तै बनेको छ।

नेपाली कांग्रेसको १२ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि, त्यो पनि तेस्रोलिंगी पहिचानमा, भूमिकाको राजनीतिक चर्चा कांग्रेसबाटै सुरु भएको हो।

नील हिरा समाज (ब्लु डायमन्ड सोसाइटी)की हर्ताकर्ता भूमिकाले पहिचानसहितको अधिकार र अवसरमा पनि छलाङ मारेकी छन्। नेपाली कांग्रेसमा हुँदासम्म उनले अन्य लैङ्गिक पहिचानको नागरिकता लिन सफल भइनन्। कांग्रेसकै सरकारमा गृह मन्त्री बालकृष्ण खाँणको पहलमा भूमिकाले तेस्रोलिंगी पहिचान त्यागिन् र महिला बनिन्।

लिङ्ग परिवर्तन गरेर महिला बनेकी भूमिकाले अमेरिकी प्रतिष्ठित अवार्ड समेत हात पारिन्। अन्य पहिचानको नागरिकता लिएर ताइवान भ्रमण गर्ने अवसर पाएकी भूमिकाले लिङ्ग परिवर्तन गरेपछि अमेरिकी फेलोसिप पाइन्। नेपालको संस्कृति–परम्पराविपरीत उनी लिङ्ग परिवर्तन गराउने ‘फिगर’को रूपमा प्रस्तुत भइन्।

अमेरिकी डाक्टर नै भित्र्याएर शिक्षण अस्पताल महाराजगन्जमा धनुषाका एक जना विवाहित व्यक्तिको लिङ्ग परिवर्तन गराउन ब्लु डायमन्ड सोसाइटी सफल भयो। विवाहित व्यक्तिको लिङ्ग परिवर्तन गराएपछि विवादमा आएको ब्लु डायमन्ड यतिबेला पुनः तेस्रोलिंगीको वकालत गरे जस्तो देखाउन थालेको छ। परिस्थिति अनुसार पहिचान बदल्नेहरूकै नेतृत्व सुवेन ढकाल (मनिषा)ले गरेकी छन्।

तेस्रोलिंगी पहिचानको कुरा गर्दा “महिला नै हौँ” भन्दै मिडियालाई समेत गालीगलौज गर्ने भूमिकाले दल बदलेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा परेकी उनले आफूलाई तेस्रोलिंगी नै भएको बताएकी छन्।

अवसरका लागि जे पनि बन्ने र जे पनि भन्ने प्रवृत्ति मात्र होइन, भूमिकाले जे भने पनि पत्याइदिनुपर्ने जस्तो मानक बसालिएको छ। यही अवस्थाले समुदायभित्र गहिरो असन्तोष जन्माएको छ।

जेनजी आन्दोलन भूमिका जस्ता पछाडि पारिएका नाममा अगाडि आएका, अवसर नै अवसरको भारी बोकिरहेका लागि थिएन। जेनजी आन्दोलन सुशासन कायम गर्दै भ्रष्टाचार अन्त्य गर्ने उद्देश्यले उठेको थियो। तर भूमिका तिनै व्यक्ति हुन, जसले ब्लु डायमन्डमा भएको अनियमितताको छानबिन रोकाउन सरकारी निकायमा दबाब दिएको आरोप लाग्दै आएको छ।

ब्लु डायमन्डको अनियमितता, अपारदर्शिता र समुदायका नाममा समुदायमाथि नै शोषण भएको उजुरीमा छानबिन नै नगराउन भूमिकाले रास्वपाको शक्ति प्रयोग गरेको भन्ने तथ्य छर्लङ्ग भएको भन्दै समुदायभित्र तीव्र असन्तुष्टि बढेको छ।

ब्लु डायमन्डभित्र आन्तरिक विस्फोट : समुदायबाटै शोषण अन्त्यको माग

काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर भूमिकाले छानबिन रोकाएको विषय यसअघि नै सार्वजनिक भइसकेको छ।

ब्लु डायमन्डकी कार्यकारी निर्देशक मनिषामाथि सूचना नदिएको आरोपमा किन कारबाही नगर्ने भनेर राष्ट्रिय सूचना आयोगले आदेश दिएको छ। उक्त आदेशविरुद्ध मनिषा उच्च अदालत पाटनसम्म पुगिन्।

तर उच्च अदालतले आयोगको आदेश सदर गरेपछि मनिषा उम्कने अन्य उपायमा लागेकी छन्। मनिषाको काँध थापिरहेकी भूमिका अहिले कुन मुखले सुशासनको नारा लगाउँदै रास्वपाको समानुपातिक उम्मेदवार बनेकी हुन् भन्ने प्रश्न लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायभित्र उठिरहेको छ।

अन्य लैङ्गिक पहिचानमा नागरिकता र पासपोर्ट लिने समुदायका अरू सदस्य पनि थिए। लिङ्ग परिवर्तन गरेर महिला बन्ने पनि भूमिका भन्दा अघि नै समुदायका सदस्यहरू थिए। तर अन्यदेखि लिङ्ग परिवर्तन गरेर महिला बनेको पुरस्कार भने मनिषाको जोडबलमा भूमिकाले नै पाउँदै आएकी छन्।

‘समुदायकै नेतृत्वबाट ठगी, प्रहरी प्रशासन र सरकारी वकिल कार्यालय दोषी बचाउने भूमिकामा’

अहिले राजनीतिमा अवसर आउँदा पनि उनै भूमिकालाई अगाडि बढाइयो। यसले सङ्घर्षमा होमिएका अरू सदस्यहरू ओझेलमा पारिएको, अवसर भने परिस्थिति हेरेर पहिचान बदल्ने व्यक्तिलाई मात्र सुम्पिएको भन्ने पीडा समुदायभित्र बढेको छ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले प्रश्न गरेका छन् के सङ्घर्ष गर्नेहरू तिरस्कृत हुने र अवसरका लागि परिस्थिति हेरेर पहिचान बदल्ने भूमिकालाई मात्रै अगाडि बढाउने ब्लु डायमन्डको नीति हो? के एउटै व्यक्तिले मात्रै अवसर पाउने संरचना बनाइएको हो?

तेस्रोलिङ्गी अधिकारको नाममा सूचना लुकाउने अभियानमा ‘ब्रेक’, सूचना आयोगको आदेश सदर

रास्वपाले भूमिकालाई के कारणले समानुपातिक सूचीमा राख्यो, त्यसको भेद बिस्तारै खुल्दै जाला। तर भ्रष्टाचारको ढाकछोप गर्ने, आरोपितलाई उम्काउन राज्यका निकायलाई दबाब दिने भूमिकाको सांसद यात्रा साँच्चै समुदायको अधिकारका लागि हो या शेयर ठगीमा मुछिएकी सञ्जीव गुरुङ (पिंकी) र अनियमितता प्रकरणमा मुछिएकी मनिषालाई जोगाउने चालबाजी मात्र हो भन्ने प्रश्न समयसँगै थप गम्भीर बन्दै गएको छ। यसको उत्तर समयले पक्कै देला, तर यतिबेला समुदायभित्र उठिरहेको पीडा, आक्रोश र अन्योलता चुलिँदै गएको छ।

समाचार शेयर गर्नुहोस्
214
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.