काठमाडौँ – सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०,२१ र २२ गते मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले सञ्चारकर्मीलाई जानकारी दिए।
निर्वाचन आयोगको सिफारिस अनुसार सरकारले तीन दिन बिदा दिने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकले जेनजी परिषद् गठन गर्ने निर्णय पनि गरेको छ।
सरकारले चीन सरकारबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदान गरिने प्रस्तावित चार मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रममा उल्लेख भएबमोजिम बुढिगण्डकी जलाशययुक्त आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय गरेको छ।
बैठकले काठमाडौँ जिल्ला अदालतका मुख्य न्यायाधीश डा दिवाकर भट्टलाई काठमाडौँ जिल्ला अदालतको कामसमेत हेर्ने गरी उपभोक्ता अदालत काठमाडौँको अध्यक्ष तोक्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्ले बिमा ऐन २०७९ को दफा १४० बमोजिमको कसुर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न जिल्ला अदालतलाई तोक्ने र विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्त सम्म एक वर्षभरि दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय समेत गरेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.