निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

गैरआवासीय पेसाकर्मी नेपालीले गरे कांग्रेसलाई मतदान गर्न अपिल

गैरआवासीय पेसाकर्मी नेपालीले गरे कांग्रेसलाई मतदान गर्न अपिल

91
SHARES

काठमाडौँ – अमेरिका लगायतका विभिन्न मुलुकमा बसोबास गर्दै आएका विभिन्न पेसामा आबद्ध गैरआवासीय नेपालीले आगामी प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसलाई मतदान गर्न अपिल गरेका छन्।

विभिन्न मुलुकमा बस्दै आएका ११८ जना डाक्टर, इन्जिनियर, प्राध्यापकलगायत विभिन्न पेसाकर्मी गैरआवासीय नेपालीले निर्वाचनमा कांग्रेसलाई समर्थन गर्न अपिल गरेका हुन्।

एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले नेपाली कांग्रेसलाई समर्थन गर्न अपिल गरेका हुन्। नेपाली कांग्रेसभित्र सुधारको प्रक्रिया सुरु भएको जनाउँदै “बदलियो कांग्रेस, बदल्छौँ देश” भन्ने नारासहित पार्टी निर्वाचनमा होमिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

विविध भाषाभाषी, जातजाति र सांस्कृतिक पृष्ठभूमि भएको मुलुकमा समावेशी राजनीतिक शक्तिका रूपमा नेपाली कांग्रेसले नै देशलाई एकताबद्ध र समृद्धिको मार्गमा डोर्‍याउन सक्ने उल्लेख छ।

गैरआवासीय नेपालीहरूले नेपालको लोकतान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया तथा संविधान निर्माणमा कांग्रेसको नेतृत्वदायी भूमिकालाई स्मरण गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको प्रभावकारी कार्यान्वयनका लागि अनुभवी र लोकतन्त्रप्रति प्रतिबद्ध नेतृत्व आवश्यक रहेको जनाएका छन्।

अमेरिकास्थित प्राध्यापक डा. यादव पण्डितले नेपाली कांग्रेसले आफ्नो प्रतिज्ञापत्रमा मुलुकको रूपान्तरणकारी र स्पष्ट मार्गदर्शन सहितको भिजन र कार्ययोजना ल्याएकाले यो आम चुनावमा कांग्रेस नै एकमात्र भरपर्दो विकल्पको रूपमा उपस्थित भएको जानकारी दिए।

वंशजको नेपाली नागरिकताको निरन्तरता तथा गैर आवासीय नेपाली नागरिकताको कार्यान्वयन लगायतका मुद्दामा नेपाली कांग्रेसले स्पष्ट प्रतिबद्धता ल्याएको र अरू दलहरूको लोकतन्त्र प्रतिको आस्थाको अझै परीक्षण हुन बाँकी रहेकाले नेपाली कांग्रेसको विकल्प मुलुकमा अझै स्थापित भैनसकेको उनको भनाइ छ।

संयुक्त विज्ञप्तिमा अहिले मुख्य चुनौतीका रूपमा रोजगारी अभाव, उद्योगधन्दाको कमजोर अवस्था, पूर्वाधार आयोजनामा ढिलाइ, शिक्षा र सीपबीचको अन्तर, तथा सरकारी तहमा देखिएको भ्रष्टाचार र सेवा प्रवाहको सुस्ततालाई रहेको उल्लेख गर्दै छिमेकी मुलुकहरू तीव्र आर्थिक वृद्धि र प्रविधि विकासतर्फ अघि बढिरहेको अवस्थामा नेपालले समयमै निर्णय लिन नसके श्रम निर्यातमुखी अर्थतन्त्रमै सीमित हुने खतरा बढ्ने चेतावनीसमेत दिइएको छ।

नेपाल लामो समयदेखिको राजनीतिक सङ्क्रमण, बारम्बार सरकार परिवर्तन, नीतिगत निरन्तरताको अभाव तथा कार्यान्वयन कमजोर हुँदा थकित बनेको जनाउँदै यसले जनताको धैर्य क्षीण बनाएको र विशेषगरी युवाहरू परिणाममुखी नेतृत्वको खोजीमा रहेको जनाइएको छ।

संसार भरिरहेका लोकतन्त्रवादी बुद्धिजीवीहरूले आगामी संसद् सङ्ख्यात्मक समीकरणभन्दा पनि प्रभावकारी, जिम्मेवार र जनभावनाको प्रतिनिधित्व गर्ने हुनुपर्ने बताउँदै सुशासन, पारदर्शिता, रोजगारी सिर्जना र युवाहरूको सुरक्षित भविष्य सुनिश्चित गर्न कांग्रेसलाई नै जिम्मा दिनु पर्ने जनाएका छन्।

विज्ञप्तिमा सम्पूर्ण नेपाली मतदातालाई आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई समर्थन गर्न आग्रह गर्दै मुलुकलाई स्थायित्व, सुशासन र दिगो विकासतर्फको यात्रामा अगाडि बढाउन नयाँ नेतृत्वसहित अगाडि बढेको कांग्रेसलाई नै अवसर दिनु पर्ने जिकिर गरिएको छ।

समाचार शेयर गर्नुहोस्
91
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.