काठमाडौँ – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं. १० बाट प्रत्यक्ष उम्मेदवारी दिएका पूर्णचन्द्र पौडेलले कीर्तिपुर–चम्पादेवी डाँडा केबलकार निर्माण गरेर पर्यटन र रोजगारीको नयाँ ढोका खोल्ने विस्तृत योजना सार्वजनिक गरेका छन्।
उनले चम्पादेवी डाँडालाई धार्मिक–पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने अर्को योजना पनि क्षेत्र नं. १० का मतदातासमक्ष प्रस्तुत गरेका छन्। उनी समावेशी समाजवादी पार्टीबाट टिकट लिएर उम्मेदवार बनेका हुन्।
उनका अनुसार कीर्तिपुरबाट चम्पादेवीसम्म केबलकार सञ्चालनको सम्भाव्यता अध्ययन गरिनेछ र त्यसका लागि सार्वजनिक–निजी साझेदारी मोडेलमार्फत लगानी भित्र्याइनेछ।
केबलकार निर्माणसँगै स्थानीयलाई रोजगारी र व्यवसायमा प्राथमिकता दिइनेछ। वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) सहित दिगो निर्माण प्रक्रिया अपनाइने, पदमार्ग, दृश्यावलोकन स्थल तथा स्थानीय उत्पादनको बजार विकास गरिने योजना रहेको छ। पौडेलको भनाइ छ, “पर्यटन बढ्छ, रोजगारी सिर्जना हुन्छ, स्थानीय अर्थतन्त्र बलियो हुन्छ।”
उनले कीर्तिपुर–सतुङ्गल जोडिएको खोला कटान नियन्त्रणलाई प्राथमिकतामा राखेका छन्। पक्का तटबन्ध तथा ग्याबियन वाल निर्माण गरिने, वर्षायामअघि आपत्कालीन रोकथाम बजेट विनियोजन गरिने र हरित तट संरक्षण तथा वृक्षारोपण गरिने उल्लेख गरेका छन्। प्राविधिक अध्ययनसहित दीर्घकालीन मास्टर प्लान तयार गरी दिगो समाधान अघि बढाइने उनको प्रतिबद्धता छ।
चितुवा आक्रमण नियन्त्रणका लागि वन कार्यालयसँग समन्वय गरी उद्धार तथा स्थानान्तरण प्रक्रिया अगाडि बढाइनेछ। जोखिम क्षेत्रमा बत्ती, सिसी क्यामेरा तथा नियमित गस्तीको व्यवस्था गरिनेछ भने समुदायमा सचेतना कार्यक्रम सञ्चालन गरिने योजना छ।
पूर्वाधार विकासअन्तर्गत मुख्य तथा भित्री सडक कालोपत्रे तथा ढलान गरिने, ढल, नाली तथा डुबान नियन्त्रणको काम अघि बढाइने, सुरक्षित पैदलमार्ग र सडक बत्ती जडान गरिने कार्यक्रम उनले सार्वजनिक गरेका छन्।
शिक्षा, युवा तथा उद्यम विकासलाई जोड दिँदै विद्यालय सुधार र डिजिटल शिक्षाको प्रवर्द्धन गरिने, सीपमूलक तालिम सञ्चालन गरिने र युवा स्टार्टअप प्रवर्द्धन कार्यक्रम ल्याइने उनले बताएका छन्। सहकारी र साना व्यवसाय सशक्तीकरणमार्फत स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य उनले सार्वजनिक गरेका छन्।
समावेशी र पारदर्शी शासनका लागि महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको सहभागिता सुनिश्चित गरिने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। नियमित जनसुनुवाइ, बजेट पारदर्शिता तथा जबाफदेही र परिणाममुखी नेतृत्वमार्फत सुशासन स्थापना गरिने योजना उनले अघि सारेका छन्।
पौडेलले कीर्तिपुर–चम्पादेवी क्षेत्रलाई पर्यटन, सुरक्षा र समावेशी विकासको नमुना बनाउने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै “डर होइन, विकासको बाटो रोजौँ” भन्ने सन्देश दिएका छन्। उनले पूर्वाधार, पर्यटन र जनसुरक्षालाई मुख्य आधार बनाउँदै विजयी गराउन मतदातासँग अपिल गरेका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.