काठमाडौँ – सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोले यतिबेला लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको ध्यान तानेको छ। उक्त भिडियोमा भूमिका श्रेष्ठलाई “नेपालको इतिहासमै पहिलो तेस्रोलिंगी उम्मेदवार”का रूपमा प्रस्तुत गरिएको छ।
प्रमाणित कागजातसहित तेस्रोलिंगी पहिचानमा राजनीतिक यात्रा गरिसकेका व्यक्तिहरूका लागि भने यस्तो दाबीले मन खिन्न बनाएको समुदायका सरोकारवालाहरू बताउँछन्।
भूमिका श्रेष्ठले अन्य पहिचानको नागरिकता त्याग गरी लिङ्ग परिवर्तन पश्चात् महिलाको नाममा नागरिकता लिएको तथ्य सार्वजनिक अभिलेखमै उल्लेख छ। त्यसपछि महिलाको कोटामा राजनीतिक अवसर पाएको सन्दर्भमा अहिले आफूलाई “पहिलो तेस्रोलिंगी उम्मेदवार” भनेर प्रचार गरिएको भिडियोप्रति समुदायभित्र प्रश्न उठेको छ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बाट तेस्रोलिंगी पहिचानमा नागरिकता लिएका दिलु बुदुजा (बद्री पुन) उम्मेदवार बनेका थिए। उनी ऐतिहासिक रूपमा “पहिलो” भनेर भाइरल भएनन्, तर निर्वाचन इतिहासमा तेस्रोलिंगी पहिचानसहितको उम्मेदवारी दर्ता भएको तथ्य भने अभिलेखमा कायम छ।
समुदायका केही व्यक्तिहरूका अनुसार बद्री पुनले आफ्नो मौलिक र प्राकृतिक पहिचानमा अधिकारको लडाइँ लडे, तर परिस्थितिअनुसार पहिचान परिवर्तन गर्दै अवसर व्यवस्थापन गर्ने अभ्यास अङ्गालेनन्। यही कारण उनको उम्मेदवारी प्रचार–प्रसारमा “पहिलो” का रूपमा स्थापित नभएको टिप्पणी गरिन्छ।
अघिल्लो निर्वाचनमै तेस्रोलिंगी पहिचानसहित समानुपातिकको बन्दसूचीमा उम्मेदवारी परिसकेको इतिहासलाई बेवास्ता गर्दै महिलाको नागरिकता लिएकी भूमिकाले “पहिलो तेस्रोलिंगी उम्मेदवार” दाबी गर्नु अवसर अनुकूल पहिचान प्रयोग गर्ने चरित्रको निरन्तरता भएको व्याख्या गरिएको छ।
यसअघि भूमिकाले अन्य लैङ्गिक पहिचानमा पासपोर्ट लिने मनोज शाही मोनिकाको अवसर खोसेर ताइवान भ्रमण गरेको आरोप पनि सार्वजनिक भएको थियो। समुदायभित्र पहिलो पटक अन्य पहिचानमा पासपोर्ट लिने अवसर मोनिकाले पाउनुपर्ने दाबी गरिँदै आएको थियो। त्यस सन्दर्भमा ब्लु डायमन्ड सोसाइटीका तत्कालीन अध्यक्ष सञ्जीव गुरुङ (पिंकी) र कार्यकारी निर्देशक सुबेन ढकाल (मनिषा)ले भूमिकालाई प्राथमिकता दिइएको भन्दै मोनिकाले विरोध जनाएका थिए।
ब्लु डायमन्ड सोसाइटीका संस्थापक अध्यक्ष सुनिल बाबु पन्तलाई नेतृत्वबाट बाहिर राखेर व्यक्तिगत स्वार्थमा पहिचानको पुनर्व्याख्या गरिएको र त्यही अभियानको छत्रछायामा लिङ्ग परिवर्तनपछि महिलाको नागरिकता लिने प्रक्रिया अघि बढाइएको दाबी पनि भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले भूमिकालाई महिला कोटामा समानुपातिक उम्मेदवार बनाएपछि परिस्थिति फेरिएको आरोप छ। पार्टीभित्रै केही महिलाहरूले “भूमिका तेस्रोलिंगी होइन भने किन महिलामा राखिएको?” भनेर आपत्ति जनाएपछि भूमिका आफूलाई तेस्रोलिंगी उम्मेदवार भन्न बाध्य भएको दाबी रास्वपाका एक नेताले बताए।
प्रारम्भमा महिला पहिचानमै समानुपातिक उम्मेदवार सिफारिस भएकी भूमिका विवादपछि तेस्रोलिंगी परिचयलाई अघि सार्न थालेको टिप्पणी समुदायका केही व्यक्तिहरूले गरेका छन्।
लिङ्ग परिवर्तन गरेर महिला बन्ने घटना भूमिकाबाटै पहिलो नभएको दाबी पनि गरिएको छ। उनीभन्दा अघि सन्ध्या लामा, नुमा लिम्बुसहित सातजनाभन्दा बढी व्यक्तिले महिलाको नागरिकता लिएको उल्लेख छ। उनीहरूले भने सार्वजनिक कार्यक्रममा आफूहरू महिला नभई तेस्रोलिंगी नै भएको बताउँदै आएका छन्।
समुदायका केही सदस्यहरूका अनुसार भूमिका उम्मेदवार बन्नुअघि आफू महिला नै भएको दाबी गर्दै आएकी थिइन् र आफूलाई तेस्रोलिंगी भनेर उल्लेख गर्नेहरूमाथि आलोचनात्मक टिप्पणीसमेत गर्ने गर्थिन्। तर समानुपातिक सूचीमा परेपछि तेस्रोलिंगी पहिचानलाई राजनीतिक सन्दर्भमा उपयोग गर्न थालेको आरोप लागेको छ।
समुदायको नेतृत्वमा छुट्टै राजनीतिक दल गठन भई तेस्रोलिंगी तथा अन्य पहिचानमा ६ वटा निर्वाचन क्षेत्रमा प्रत्यक्ष र १५ जना समानुपातिक उम्मेदवार मैदानमा उतारिएपछि प्रतिस्पर्धात्मक सन्दर्भमा भूमिकाले पनि आफ्नो पहिचान पुनः प्रयोग गर्न थालेको विश्लेषण गरिएको छ।
यसअघि अमेरिकी दूतावासको अनुदान सहयोगमा सञ्चालन भएका कार्यक्रममार्फत हर्मोन सेवन र लिङ्ग परिवर्तन अभियानमा संलग्नता र त्यसपछि अमेरिकी फेलोसिप तथा प्रतिष्ठित अवार्ड प्राप्त गरेको प्रसङ्ग पनि चर्चामा आएको छ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम सम्बन्धित कार्यक्रममा ताइवान भ्रमण र अमेरिकी फेलोसिपको अवसर प्राप्त भएको विषयमा पारदर्शिता अपेक्षित रहेको सरोकारवालाहरू बताउँछन्।
यस्तै, जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भएको तीन बुँदे निर्णय कार्यान्वयन नगरेको विषयमा पनि प्रश्न उठेका छन्। रास्वपाले पारदर्शिता र सुशासनको नारा अघि सारेको सन्दर्भमा समानुपातिक सूचीमा परेकी भूमिकाको पहिचान परिवर्तन, अवसर प्राप्ति र सार्वजनिक जबाफदेहिताबारे स्पष्ट धारणा आउनुपर्ने माग गरिएको छ।
भूमिकाले भने हालसम्म सार्वजनिक रूपमा प्रतिक्रिया दिएकी छैनन्। प्रश्नहरू सतहमै छन्,-पुरुषबाट अन्य, अन्यबाट महिला पहिचानको क्रम, ताइवान भ्रमण, अमेरिकी फेलोसिप तथा राजनीतिक उम्मेदवारीका क्रममा अपनाइएको पहिचानको सन्दर्भमा पारदर्शी स्पष्टीकरण दिने दायित्व हुँदैन ? पारदर्शिता, सुशासन र जबाफदेहिताको नारा बोकेको रास्वपाले आफ्ना उम्मेदवारबारे उठेका प्रश्नहरूमा प्रस्ट धारणा सार्वजनिक गर्नुपर्ने होइन ?
यिनै प्रश्नहरूबीच “पहिलो तेस्रोलिंगी उम्मेदवार” दाबी गरिएको भिडियोको तथ्य जाँच र अवसर अनुकूल पहिचान परिवर्तनको चरित्रबारे बहस थप चर्किएको छ।
सम्बन्धित समाचार :
भ्रष्टाचार ढाकछोप गर्ने भूमिकाको योजनामा रास्वपाको साथ
बालेनको बोली सच्याउँदै रवि, भूमिकामाथि पनि प्रश्न
तेस्रोलिङ्गी अधिकारको नाममा सूचना लुकाउने अभियानमा ‘ब्रेक’, सूचना आयोगको आदेश सदर
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.