निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

मतदानअघि देउवालाई उच्चरक्तचाप, कांग्रेस जिताउन निर्देशन दिएर सिंगापुर

मतदानअघि देउवालाई उच्चरक्तचाप, कांग्रेस जिताउन निर्देशन दिएर सिंगापुर

विकल्प र परिवर्तनको दाबीमा दलहरूको होड

117
SHARES

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सार्वजनिक रूपमा चुनावबारे बोल्दै नबोली सिंगापुर पुगेका छन्। मतदान गर्ने दिन नजिकिँदै जाँदा देउवा सुटुक्क सिंगापुर जानुले कांग्रेसभित्र मात्र होइन, बाहिर पनि अनेक शङ्का र जिज्ञासा उब्जाएको छ। यति संवेदनशील घडीमा प्रस्थान गर्नु बाध्यता हो कि रणनीति भन्ने प्रश्नहरू उठ्न थालेका छन्।

कांग्रेसका पूर्वमुख्यसचिव एवं राष्ट्रिय सभा सदस्य कृष्ण प्रसाद पौडेलका अनुसार ‘जेनजी आन्दोलन’का क्रममा भदौ २४ गते निवासमै आक्रमणमा परेका देउवालाई डाक्टरले पुनः स्वास्थ्य परीक्षणका लागि बोलाएकाले सिंगापुर जानु अनिवार्य भएको हो। पौडेलका अनुसार यो विशुद्ध स्वास्थ्य कारणले भएको यात्रा हो, न कि कुनै राजनीतिक सन्देश दिने प्रयत्न।

फागुन २१ गते नयाँ प्रतिनिधिसभाको निर्वाचन हुँदैछ। मतदानको साता दिन मात्र बाँकी रहँदा देउवाको प्रस्थानले भने विशेष महाधिवेशनको तुष देउवाले अझै मनमा राखेका छन् कि भन्ने अनुमानलाई बल दिएको छ। विशेष महाधिवेशनबाट पदच्युत हुनुपरेको अवस्था, निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा गएको मुद्दा विचाराधीन रहनु,यी सबै पृष्ठभूमिबीच देउवाको मौनता अर्थपूर्ण रूपमा हेरिएको छ।

तर, पौडेलले भने देउवाले आफूलाई भेट्न आउनेहरूसँग कांग्रेसलाई जिताउन लाग्न स्पष्ट निर्देशन दिएको बताए। “३–४ दिनमै फर्कने गरी उपचारका लागि जानुभएको हो। कांग्रेसलाई जिताउन आग्रह गर्नुभएको छ,” पौडेलले जानकारी दिए।

देउवाको रक्तचाप तल ११५ र माथि १८० पुगेको भन्दै स्वास्थ्य चेकजाँच टार्न नमिल्ने स्थिति बनेको उनको दाबी छ। देउवा सिंगापुर जानुअघि पनि पार्टीका नेता–कार्यकर्तासँग भेटघाटमा सक्रिय नै थिए। उनले निर्वाचन केन्द्रित अभियान प्रभावकारी बनाउन निर्देशन दिइरहेका थिए। १ हजार जनालाई कांग्रेस जिताउन खटिन निर्देशन दिएको दाबी समेत पौडेलले गरे।

१८ गते मध्यरातदेखि दल तथा उम्मेदवारको मौन अवधि सुरु हुँदैछ। त्यसपछि पक्ष–विपक्षमा प्रचारप्रसार गर्न पाइँदैन। देउवाको फर्कने तालिका मौन अवधिअगावैको राखिएको छ। यद्यपि सार्वजनिक रूपमा चुनावबारे एक शब्द नबोली प्रस्थान गर्नुले विभिन्न कोणबाट टिप्पणी भइरहेको छ। कांग्रेसजनबीच कम्तीमा लिखित वा मौखिक अपिल आउने अपेक्षा रहे पनि त्यसबारे टुङ्गो छैन।

विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले कांग्रेस अब दायाँ–बायाँ नहुने बताएका छन्। ठूला चुनावी सभामा देउवाको उपस्थिति हुने भनिए पनि सुर्खेत र बाँकेको सभा हुनु अघिल्लो दिन नै उनी विदेश गए।

देउवाको सिंगापुर प्रस्थानबारे भइरहेका तर्क–वितर्कको जवाफ दिँदै थापाले कर्णालीको चुनावी सभामार्फत सच्चिएको कांग्रेस उड्न तयार भए पनि जमिन नछोडेको सन्देश दिए।

चुनावलाई उनले ‘परीक्षा’को संज्ञा दिएका छन्। अब पाँच वर्षपछि मात्र होइन, हरेक महिना रिपोर्ट सार्वजनिक गर्ने र वैशाख १ गते नै कांग्रेस सरकारले देशवासीका नाममा सम्बोधन गर्ने दाबी उनले सुनाएका छन्।

६८ राजनीतिक दल र ३ हजार ४०६ उम्मेदवार फागुन २१ को परीक्षामा उत्रँदै छन्। जेनजी आन्दोलनपछिको पहिलो चुनाव भएकाले विकल्प र परिवर्तनको नारा चर्को छ। प्रत्येक दलले आफूलाई विकल्प र परिवर्तनको पहरेदार दाबी गरिरहेको छन्।

राजसंस्थाको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंगदेनले फेरि पनि गल्ती गर्ने कि नगर्ने मतदाताको हातमा निर्णय रहेको बताएका छन्।

परिवर्तनको नारा घन्काइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी रकम ठगी प्रकरणमा अदालतमा धरौटी बुझाएर रिहा भइसकेका छन्। उनले आफूहरू अपरिपक्व रहेको र परिपक्व हुँदै जाने बताए।

चुनावी तापक्रम तीव्र छ। नेताहरूको अभिव्यक्तिमा शब्द प्रहार चर्किँदै गएको छ। सिटामोलले निको हुने रोगमा एन्टिबायोटिक प्रयोग गरिएको जस्तो भाषिक आक्रोश देखिएको छ।

यसरी चुनावी दौड चर्कँदै जाँदा देउवाको सिंगापुर यात्रा एकातिर स्वास्थ्य बाध्यता भएको दाबी भइरहेको छ भने अर्कोतिर राजनीतिक सन्देशको सङ्केतका रूपमा हेरिएको छ। अन्ततः मतदाता भने फागुन २१ को निर्णय पर्खिरहेका छन्।

मतदाताले शान्ति, स्वतन्त्रता र विवेकसहित मत प्रयोग गर्न पाउन् भन्ने सामूहिक कामना छ। चुनाव शान्तिपूर्ण, मतदाताको सुरक्षासहित सम्पन्न होस् भन्ने अपेक्षा सबैको छ।

समाचार शेयर गर्नुहोस्
117
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.