निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

कालीकोटमा लगातार चौथोपटक विजयी हुने शाही को हुन्?

कालीकोटमा लगातार चौथोपटक विजयी हुने शाही को हुन्?

82
SHARES

कालीकोट – कालीकोटबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही निर्वाचित भएका छन्।उनले ११ हजार ३३० मत प्राप्त गर्दै विजय हासिल गरे।

शाहीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नगिन्द्र शाही (नेश्नल)ले १० हजार ४२२ मत ल्याउँदै पराजित भए। निर्वाचित महेन्द्रबहादुर शाही र एमालेका उम्मेदवार नगिन्द्र शाहीबीच ९०९ मतको अन्तर रहेको छ।

नेपाली कांग्रेसका उम्मेदवार हर्षबहादुर बमले ७ हजार १३२ मत प्राप्त गरे।

को हुन् चौथो पटक सांसद बनेका शाही?

कर्णाली प्रदेशमै परिचित नाम हो, महेन्द्रबहादुर शाही। दश वर्षे सशस्त्र सङ्घर्षका एक कमान्डर महेन्द्रबहादुर २०७२ मा संविधानसभाबाट नयाँ संविधान जारी भएपछि बनेको कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री हुन्। उनी सङ्घीय सरकारमा ऊर्जा मन्त्री समेत बनेका थिए।

उनै शाहीले कालीकोटबाट सङ्घीय संसद्मा चौथो जित निकाले। जेनजी आन्दोलनपछि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका २३ दल र घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीका नेता रहेका महेन्द्रबहादुर विघटित प्रतिनिधिसभाका सदस्य पनि थिए।

महेन्द्रबहादुर २०७० को दोस्रो संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका थिए। त्यसपछि पार्टीले ०७४ को निर्वाचनमा उनलाई कर्णाली प्रदेश सभा सदस्यका लागि कालीकोट अन्तर्गतको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र (१) बाट उम्मेदवार बनाएको थियो। त्यसपटक उनी विजयी हुँदै कर्णालीको पहिलो मुख्यमन्त्रीसम्मको जिम्मेवारीमा पुगे। उनले २०७४ फागुनदेखि २०७८ सम्म मुख्यमन्त्रीको जिम्मेवारी निभाए।

२०७९ सालमा भने पार्टीले उनलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनायो। नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चालगायत दलको गठबन्धनका साझा उम्मेदवार रहेका महेन्द्रबहादुर २३ हजार ७२७ मतसहित विजयी भए।

माओवादीका पूर्वलडाकु कमान्डर महेन्द्रबहादुरले युद्धकलामा कालीकोटमा माओवादी सङ्गठन विस्तारमा उल्लेख्य भूमिका निभाएका थिए। पार्टीमा ‘प्रज्वल’ उपनामले चिनिने महेन्द्रबहादुर युद्धकालमा ६ नम्बर र ७ नम्बर डिभिजनको कमान्डर बनेका थिए। उनले सशस्त्र सङ्घर्षको समयमा ठूला–ठूला मोर्चामा निर्णायक भूमिका निर्वाह गरेका थिए।

१५ माघ २०३३ मा पचालझरना गाउँपालिका–९ (साबिकको नानीकोट– ८ कोटिला) कालिकोटमा जन्मिएका महेन्द्रबहादुरले वडीमालिका माध्यमिक विद्यालय रास्कोटबाट एसएलसी पास गरेका छन्।

२०४८ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका महेन्द्रबहादुरले नेकपा मसाल (एकता केन्द्र)बाट राजनीतिक यात्रा सुरु गरेका हुन्। पार्टी सदस्यता लिएपछि उनी अर्धभूमिगत रूपमा गोप्य सैन्य तालिममा सहभागी हुँदै युद्धको तयारीमा लागेका थिए।

२०४९ मा प्रहरी वारेन्ट जारी भएका उनी २०५२ मा तत्कालीन माओवादीको भूमिगत राजनीतिमा संलग्न थिए। जनयुद्धमा होमिएका शाहीले पार्टीको सङ्गठन र छापामारमा समानान्तर भूमिका निर्वाह गरेका थिए। कर्णाली अञ्चलमा पहिलो पटक छापामार सेनाको स्थापना भएको समयदेखि नै उनले पार्टी र सेनामा समानान्तर भूमिका खेलेका थिए।

सशस्त्र युद्धमा सामेल भएका उनी २०५३ मा मध्यमाञ्चलको गुरिल्ला गठनमा सदस्यदेखि लडाकु जीवनमा प्रवेश गरेका थिए। पश्चिम नेपालको बुटवलदेखि दार्चुलासम्मका आक्रमणमा जनयुद्धमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै शान्ति प्रक्रिया हुँदै सेना समायोजनसम्म सैनिक क्षेत्रमा शाही संलग्न भएका थिए।

माओवादीको जनमुक्ति सेनामा वार्ड कमान्डर, स्क्वाड कमान्डर, प्लाटुन कमान्डर, कम्पनी कमान्डर, बटालियन कमान्डर, बिग्रेड कमान्डर हुँदै डिभिजन कमान्डरसम्म भएका थिए।

माओवादी शान्तिप्रक्रियामा आएपछि उनी माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज थिए। हाल नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय नेता छन्।

समाचार शेयर गर्नुहोस्
82
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.