निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

चुनावी परिणाममा रास्वपाको उभार, कांग्रेस–एमालेको हरिबिजोग

चुनावी परिणाममा रास्वपाको उभार, कांग्रेस–एमालेको हरिबिजोग

117
SHARES

काठमाडौँ – जेनजी आन्दोलन ६ महिनामै ब्यालेट विद्रोहबाट अनुमोदनको दिशामा अघि बढेको छ। विद्रोहको घण्टी बज्दा पुराना दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको हरिबिजोग हुने सङ्केत देखिएको छ।

प्रतिनिधिसभा चुनावको प्रारम्भिक मतगणना परिणाम अनुसार २०७९ को चुनावमा २१ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बन्ने देखिएको छ। जेनजी आन्दोलनसम्म दुई तिहाइको दम्भ देखाएर बसेका कांग्रेस र एमाले कमजोर प्रतिपक्षका रूपमा उभिनुपर्ने अवस्थामा पुगेका छन्।

२०७९ को चुनावमा कांग्रेस ८९ र एमाले ७८ सिटसहित पहिलो र दोस्रो दल बनेका थिए। तेस्रो दल रहेको नेपाली कम्युनिस्ट पार्टी यो चुनावमा चौथो दल बन्न कसरत गर्दैछ।

दिवङ्गत उज्ज्वल थापाको नेतृत्वमा सुरु भएको वैकल्पिक राजनीतिको लहर अहिले रास्वपासम्म फैलिएको देखिएको छ। काठमाडौँ महानगरका तत्कालीन मेयर बालेन शाहको रास्वपामा इन्ट्री भएसँग देशभर घण्टीको लहर चलेको हो। रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ।

बालेन प्रतिस्पर्धामा रहेको झापा–५ मा अर्का प्रधानमन्त्रीका उम्मेदवार केपी शर्मा ओली मत परिणाममा निकै पछाडि छन्। बालेनको जित लगभग निश्चित जस्तै देखिएको छ। बालेनले विजय उत्सव नमनाउने घोषणा गरेका छन्। “विजय उत्सव होइन, काम गर्ने,” बालेनले भनेका छन्।

भ्रष्टाचार, बेथिति र विसङ्गति अन्त्यको माग गर्दै भएको जेनजी आन्दोलनलाई कम आँकेका एमाले अध्यक्ष ओलीले हार बेहोर्नुपर्ने स्थिति देखिएको छ। जेनजी आन्दोलनका सूत्रधार बालेन मेयर पद छोडेर पहिलो पटक संसदीय यात्रा सुरु गर्ने अवस्थामा पुगेका छन्। ब्यालेट बक्सबाट वैकल्पिक राजनीतिको उदय हुने सङ्केत देखिएको छ।

विवेकशील साझाका उज्ज्वल थापाले सुरु गरेको वैकल्पिक राजनीतिको अभियानलाई निरन्तरता दिएको र चुनावमा त्यसकै परिणाम देखिएको रास्वपाका उपसभापति डोलप्रसाद अर्याल दाबी गर्छन्।

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस र एमालेले नराम्रो धक्का बेहोर्नुपर्ने देखिएको छ। तीन दशकदेखि आलोपालो राजनीतिक गठबन्धन गर्दै सत्ताको स्वाद लिइरहेका दलहरूसँग जनताले नसुध्रिएको रिस फेरेका छन्।

कांग्रेसले विशेष महाधिवेशनबाट सभापतिसहित नेतृत्व परिवर्तन गरे पनि एमालेले ओलीलाई नै अध्यक्षमा निरन्तरता दिएको थियो। जेनजी आन्दोलनलाई विध्वंसको संज्ञा दिएको एमाले मात्रै होइन, जेनजी विद्रोहलाई आत्मसात् गरेको कांग्रेसले समेत नसोचेको पराजय भोग्नुपर्ने सङ्केत प्रारम्भिक मत परिणामले दिएका छन्।

कांग्रेसबाट भावी प्रधानमन्त्री घोषित सभापति गगन कुमार थापा हारबाट जोगिन सङ्घर्षरत छन्। बालेन र रवि लामिछाने विजयी उन्मुख हुँदा गगन परीक्षणमै छन्।

कुनै एक मतदान केन्द्रको मतदान स्थगित नभई, कहीँ कतै गोली नचली छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा भएको चुनावी परिणाम स्वीकार गर्न कांग्रेस र एमालेलाई सकस पर्ने देखिएको छ।

२०६४ सालको संविधानसभा चुनावभन्दा पनि खुम्चिनुपर्ने अवस्थामा कांग्रेस र एमाले पुगेका छन्। समानुपातिकमा समेत रास्वपाले कांग्रेस एमालेभन्दा तेब्बर मत बढी ल्याएको छ।

जेनजी आन्दोलनकै बलमा बनेको सरकार हौसिएको छ। प्रधानमन्त्रीको कुर्सीमा पदासीन गराउने बालेनलाई नै सुशीला कार्कीले पद हस्तान्तरण गर्ने स्पष्ट सङ्केत देखिएको छ। सरकारले सुशासन कायम गर्ने दिशामा परिणाम आएको भन्दै सन्तोष व्यक्त गरेको छ।

गृहमन्त्री ओम प्रकाश अर्यालले निष्पक्ष र गुणस्तरीय चुनाव गराउन सरकार सफल भएको बताएका छन्।

पटकपटक नेपाली नागरिकलाई धोका दिने दल र उम्मेदवारलाई यो चुनावमा मतदाताले लगभग ढोका नै बन्द गराइदिएका छन्।उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङले पराजय भोगेका छन्। उनी रास्वपाका उम्मेदवार राजु नाथ पाण्डेसँग पराजित भए।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शनाले अब वैकल्पिक राजनीतिको रियल फाइट सुरु हुने बताएकी छन्।

निर्वाचन क्षेत्र बदलेर रुकुम पूर्व पुगेका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका छन्। यसअघिका पूर्वप्रधानमन्त्रीमध्ये संसद् प्रवेश गर्ने प्रचण्ड मात्र बन्ने देखिएको छ। केपी ओली र माधव कुमार नेपालको यो पटक संसद् प्रवेशको ढोका बन्द हुने देखिएको छ।

आलोपालो प्रधानमन्त्री बनेर देशलाई भड्खालोमा हालेको आरोप खेपेका शेर बहादुर देउवा मतदानमै सहभागी भएनन्। उपचारका लागि देउवा सिंगापुरमा छन्।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र झलनाथ खनाल उम्मेदवार नै बनेनन्। भट्टराईले उम्मेदवारी दिएर पछि फिर्ता लिएका थिए।

मतदाताले दलहरूको कामको मूल्याङ्कन गरेका छन्। काम राम्रो भएको भए पुरानै दलहरूलाई रोज्ने थिए। तर ती दलहरूलाई परीक्षण गर्दा गर्दा थाकेर मतदाताले नयाँलाई अवसर दिएको रूपमा हेर्न सकिने नतिजा आइरहेको पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले बताए।

मतदाताले पटकपटक परीक्षण गरेका दलहरूलाई यो चुनावमा झट्का दिएका छन्। सुशासनको नारा लगाउने तर काम कुशासनको गर्ने नेताहरू जनमतको परीक्षामा फेल भएका छन्।

पुराना दलले राम्रो काम गरेनन् भन्ने नारा लगाएर जनमत बटुलेको नयाँ दल मात्तिने छैन र मतदातासँग गरेका बाचा भुल्ने छैन भन्ने विश्वास मतदाताले गरेका छन्।

समाचार शेयर गर्नुहोस्
117
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.