काठमाडौँ – उपत्यकामा एकाएक ग्यास अभाव भएको जस्तो देखिएको छ। उपभोक्तामा ग्यास अभाव हुने मनोवैज्ञानिक त्रास उत्पन्न भएपछि बजारमा माग अस्वाभाविक रूपमा बढेको छ।
उपत्यकामा करिब ३५ देखि ४० लाख नागरिकको बसोबास छ। नियमित रूपमा जस्तै करिब ४५ देखि ४६ लाख मेट्रिकटन ग्यास खपत भइरहे पनि आपूर्तिमा वास्तविक अभाव नभएको दाबी नेपाल आयल निगमले गरेको छ। तर हुनेखाने उपभोक्ताले आवश्यकता भन्दा बढी ग्यास होल्ड गर्न थालेपछि बजारमा अभाव जस्तो देखिएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए।
ग्यास आपूर्ति व्यवस्थामा देखिएको असहजता समाधान गर्न नेपाल आयल निगमले ग्यास उद्योगीहरूसँग छलफल गरेको छ। बजारमा खाना पकाउने एलपी ग्यास अभावको हल्ला फैलिन थालेपछि निगमले उद्योगीहरूलाई आपूर्ति प्रणाली व्यवस्थित, पारदर्शी र नियमित बनाउन विशेष निर्देशन जारी गरेको हो।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार निगम र ग्यास उद्योगीहरूबीच भएको छलफलमा उद्योगीहरूले आपूर्तिमा प्रत्यक्ष समस्या नभए पनि वितरण प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन्।
निगमले उद्योगहरूलाई आफ्नो तोकिएको क्षमता अनुसार निरन्तर ग्यास बजारमा पठाउन निर्देशन दिएको छ। साथै, उद्योगहरूले दैनिक रूपमा कुन विक्रेतालाई कति ग्यास पठाइयो भन्ने स्पष्ट विवरण निगममा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। त्यसैगरी ग्यास विक्रेताहरूले पनि कसलाई ग्यास बिक्री गरियो भन्ने विवरण फोन नम्बर सहित अभिलेख राख्न अनिवार्य गरिएको छ।
ग्यास वितरणको क्रममा घरायसी प्रयोजनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने निगमको मुख्य निर्देशन रहेको छ। निगमका प्रवक्ता ठाकुरले आपूर्तिमा कुनै समस्या नभएको भन्दै आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न उपभोक्तालाई अनुरोध पनि गरेका छन्।
ग्यास विक्रेता महासङ्घ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने र सरकारले तोकेको मूल्यभन्दा बढी लिने जोकोहीलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
महासङ्घले विज्ञप्ति जारी गर्दै बजारमा ग्यास अभाव भएको र केही ठाउँमा विक्रेताहरूले अनुचित मूल्य लिएर उपभोक्तालाई मर्कामा पारेको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासङ्घका अनुसार मध्यपूर्वमा देखिएको पछिल्लो तनावका कारण भविष्यमा ग्यास आपूर्ति प्रभावित हुने हो कि भन्ने चिन्ता उपभोक्तामा पर्नु स्वाभाविक देखिएको छ। यद्यपि यस्तो परिस्थितिको फाइदा उठाएर सरकारले तोकेको मूल्यभन्दा बढीमा ग्यास बिक्री वितरण गर्नु गम्भीर अपराध भएको महासङ्घको ठहर छ।
महासङ्घले देशभरिका आमविक्रेतालाई कुनै पनि गैरकानुनी काम नगर्न र जिम्मेवार भएर सेवा प्रवाह गर्न विज्ञप्तिमार्फत अपिल गरेको छ। साथै, सङ्कटका बेला उपभोक्ता ठग्ने विक्रेता वा ग्यास उद्योगीहरूलाई पहिचान गरी कडा कानुनी कारबाही गर्न महासङ्घले सरकारसँग माग गरेको छ। यस्ता गैरकानुनी काम गर्ने जोकोहीलाई कारबाही हुने जानकारी सबै जिल्ला सङ्घमार्फत देशभरिका विक्रेतालाई गराउन समेत महासङ्घले निर्देशन दिएको छ।
ग्यास उद्योगीहरूले पनि नेपाल आयल निगमकै दाबी दोहोर्याएका छन्। उनीहरूका अनुसार बजारमा ग्यासको वास्तविक अभाव नभई हल्लाका कारण असहजता देखिएको हो। ग्यास उद्योगी शिव प्रसाद घिमिरेले बजारमा ग्यासको अभाव नभएको दाबी गरेका छन्।
उद्योगीहरूका अनुसार मध्यपूर्वमा बढेको तनाव र छिमेकी देश भारतमा ग्यास वितरणमा कडाइ गरिएको समाचारका कारण नेपाली उपभोक्तामा ग्यास नपाइने हो कि भन्ने भय फैलिएको छ। भारतका केही स्थानमा ग्यासको लाइन लागेको समाचार सार्वजनिक भएपछि त्यसको प्रभाव नेपालमा पनि परेको उद्योगीहरूको भनाइ छ।
भारतमा ग्यासको मूल्य बढेकोले नेपालमा पनि तत्काल प्रभाव पर्ने भन्ने हल्लामा विश्वास नगर्न ग्यास उद्योगी शिव प्रसाद घिमिरेले उपभोक्तालाई आग्रह गरेका छन्।
काठमाडौँ उपत्यकामा ग्यास अभाव जस्तो देखिए पनि कोशी प्रदेशमा त्यस्तो अवस्था नदेखिएको कोशी प्रदेशका ग्यास उद्योगी जेबी कार्कीले बताए।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनका कारण केही समय सीमा नाकाहरू सिल भएका थिए भने भन्सार कार्यालयहरू पनि बन्द भएका थिए। त्यसको प्रभाव केही दिन आपूर्ति प्रणालीमा देखिए पनि अहिले अवस्था सामान्य हुँदै गएको आयल निगम र उद्योगीहरूले बताएका छन्।
उनीहरूका अनुसार उपभोक्ताले आवश्यकता भन्दा बढी ग्यास भण्डारण नगरेमा अहिले देखिएको असहजता एक–दुई दिनमै अन्त्य हुन सक्छ। आवश्यकता भन्दा बढी भण्डारण गर्दा कसैलाई आवश्यक ग्यास नपाउने अवस्था सिर्जना हुने र त्यसले थप समस्या निम्त्याउन सक्ने भएकाले आम उपभोक्ता पनि सचेत हुनु आवश्यक देखिन्छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.