काठमाडौँ – भारतको इतिहासमै पहिलो पटक राज्यसभामा समलैंगिक सांसद निर्वाचित भएकी छन्। तृणमुल कांग्रेस पार्टीले उम्मेदवार बनाएकी मेनका गुरुस्वामी निर्विरोध निर्वाचित भएकी हुन्।
वरिष्ठ अधिवक्ता समेत रहेकी गुरुस्वामी पश्चिम बङ्गालबाट राज्यसभा सदस्यमा निर्वाचित भएकी हुन्। यससँगै उनी खुला रूपमा भारतको पहिलो समलैंगिक सांसद बन्न सफल भएकी छन्।
पश्चिम बङ्गालको प्रतिनिधित्व गर्दै राज्यसभामा ऐतिहासिक रूपमा निर्वाचित भएकोमा उनलाई एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिल बाबु पन्तले बधाई दिएका छन्।
भारतको पहिलो समलैंगिक सांसदका रूपमा उनको निर्वाचन समानता, मर्यादा र लोकतान्त्रिक समावेशीकरणका लागि एक शक्तिशाली कोसेढुंगा भएको पन्तले बताएका छन्।
पन्तले सामाजिक सञ्जाल फेसबुकमार्फत मेनकालाई बधाई दिँदै लेखेका छन्, “भारतको पहिलो समलैंगिक सांसदको रूपमा तपाईँको निर्वाचन समानता, मर्यादा र लोकतान्त्रिक समावेशीकरणका लागि एक शक्तिशाली कोसेढुंगा हो।”

पन्तका अनुसार मेनका लामो समयदेखि संवैधानिक अधिकार र न्यायका लागि साहसी आवाजका रूपमा उभिँदै आएकी व्यक्तित्व हुन्। मायाको पहिचान नेपालका कार्यकारी निर्देशक समेत रहेका पन्तले उल्लेख गरे अनुसार, नवतेज सिंह जोहर विरुद्ध समलिङ्गी सम्बन्धलाई अपराधमुक्त गर्ने मुद्दामा पनि गुरुस्वामीको महत्त्वपूर्ण भूमिका रहेको थियो।
यो क्षण भारतका लागि मात्र नभई सम्पूर्ण दक्षिण एसियाली क्षेत्रका लागि गहिरो महत्त्व राख्ने पन्तले बताएका छन्। “प्रतिनिधित्वको महत्त्व छ, र संसदमा उनको उपस्थितिले हाम्रो समाजका धेरै मानिसहरूलाई प्रेरणा दिनेछ, जसले लामो समयदेखि मान्यता र समान अधिकारका लागि सङ्घर्ष गर्दै आएका छन्,” पन्तले लेखेका छन्,“हार्दिक बधाई, मेनका। इतिहास बनाइएको छ।”
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.