काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फको मतगणनामा पनि पहिलो भएको छ। प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकमा ५८ सिट पाउने आकलन गरिएको छ।
रास्वपाले संसदमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुर्याउन समानुपातिकबाट ४८ जना महिलाको नाम दिनुपर्ने हुन्छ। रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा ६१ जना महिला छन्। तीमध्ये ४८ जना महिला सांसद बन्ने छन्।
खस आर्य पुरुषमा रमेश प्रसाईं, सुदीप ढकाल र प्रमोद न्यौपानेको नाम चर्चामा छ। जनजाति पुरुषमा डा. राम लामा र खुश्बु सरकार श्रेष्ठ निर्वाचित हुनेछन् भने मिङ्मा ग्याबु शेर्पाको नाम पनि चर्चामा छ।
मधेसी पुरुषमा सुप्रभात यादव र खगेन्द्र कर्ण, दलित पुरुषमा प्रकाशचन्द्र परियार या प्रकाश वि.क., तथा थारू पुरुषमा सुरेन्द्र चौधरी निर्वाचित हुन सक्ने चर्चा छ।
खस आर्य महिलामा प्रतिभा रावल, रचना खतिवडा, लिमा अधिकारी, विदुषी राणा, समीक्षा बाँस्कोटा, श्रद्धा कुँवर क्षेत्री, टिका सङ्ग्रौला, क्रान्तिशिखा धिताल, आकृति अवस्थी, सृष्टि भट्टराई, मञ्जु भुसाल, प्रभा कार्की, शोभा खनाल, रत्ना कुमारी थापा र ज्ञानु पौडेल निर्वाचित हुने रास्वपाका नेता बताउँछन्।
जनजाति महिलामा बशुमाया तामाङ, गङ्गा छन्त्याल, सुन्निमा उदास, अनुष्का श्रेष्ठ, ओजस्वी शेरचन, सृजना श्रेष्ठ, रजनी श्रेष्ठ, कुसुम महर्जन, भूमिका श्रेष्ठ, प्रमीला कुलुजु, सुजता तामाङ, कृपा महर्जन, एलिजा गुरुङ र जीना विष्टको चर्चा छ।
मधेसी महिलामा पुनम कुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, कामीनी कुमारी, सुनिता कुमारी चौधरी र पुनम साह निर्वाचित हुनेछन्।
दलित महिलामा रिमा विश्वकर्मा, अमृता विक, सिता वादी, स्मृति सेञ्चुरी, सुस्मा स्वर्णाकार र तारा विश्वकर्मा तथा थारू महिलामा गीता चौधरी, उर्मिला चौधरी र करिश्मा कठरिया तथा मुस्लिम महिलामा समिना मियाँ र अफ्सना बानु निर्वाचित हुनेछन्।
यस सूचीभित्र जनजाति महिलामा निर्वाचित हुने भनिएकी भूमिका श्रेष्ठको सम्भावित संसद् प्रवेशले भने नयाँ बहस जन्माएको छ। जनजाति महिलामा निर्वाचित हुने भनिएकी भूमिका श्रेष्ठले रास्वपाको समानुपातिक कोटामा पर्ने बित्तिकै आफूलाई तेस्रोलिंगी भएको बताएकी थिइन्।
लिङ्ग परिवर्तन गरेर अन्य पहिचानको नागरिकता त्यागेर महिलाको नागरिकता लिएकी भूमिकालाई रास्वपाले महिला कोटामै सांसद बनाउने देखिएको छ। जसले भूमिकाको लैङ्गिक पहिचानबारे प्रश्न उठेका छन्। न यसबारे रास्वपा बोलेको छ, न भूमिकाले नै कुनै सार्वजनिक अभिव्यक्ति दिएकी छन्, दुवै मौन छन्। परिस्थिति अनुकूल लैङ्गिक पहिचान बताउने भूमिकाको संसद् प्रवेशलाई लिएर प्रश्न गरिएका छन्।
नेपालमा फागुन २१ गते सम्पन्न संसदीय निर्वाचनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्वबारे एकैचोटि आशा र अन्योल दुवै पैदा गरेको छ।
भूमिका श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीबाट संसद् सदस्य नियुक्त हुने राम्रो सम्भावना देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले भूमिकालाई जसरी पनि संसदमा लैजानु पर्छ भन्ने चर्चा पनि भइरहेको छ। यदि उनी संसदमा पुगिन् भने त्यो ऐतिहासिक क्षण हुन सक्छ, किनकि लिङ्ग परिवर्तन गरेर महिला बनेकी व्यक्तिको संसद् प्रवेशको सम्भावना पहिलो पटक देखिएको छ।
तर त्यससँगै केही जटिल प्रश्नहरू पनि उठिरहेका छन्, जसले लैङ्गिक पहिचान, कानुनी कागजात र राजनीतिक प्रतिनिधित्वबीचको सम्बन्धबारे गम्भीर बहस जन्माएको छ।
भूमिका श्रेष्ठको व्यक्तिगत पहिचान यात्रा पनि जटिल छ। सुरुमा उनको नागरिकतामा “पुरुष” पहिचान थियो। पछि उनले नागरिकता परिवर्तन गरेर “तेस्रोलिंगी” अर्थात् “अन्य” को पहिचान लिइन्। त्यसपछि उनले आफूलाई “तेस्रोलिंगी होइन, पूर्ण महिला” भएको दाबी गर्दै पुनः नागरिकता परिवर्तन गरिन्।
तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणसँग पहल गरेर, मन्त्रीस्तरीय निर्णयबाट नागरिकतामा “महिला” पहिचान दर्ता गराइन्। तर हालैको चुनावी अभियानका क्रममा भने उनले सार्वजनिक रूपमा आफूलाई “छोरा भएर जन्मिएको” तेस्रोलिंगी पहिचान भएको व्यक्ति भनेर प्रस्तुत गरेकी छिन्। यही ठाउँमा प्रतिनिधित्वको प्रश्न जटिल बन्छ।
यदि भूमिका श्रेष्ठ संसदमा पुग्छिन् भने अर्को प्रश्न उठ्छ-के उनी महिला सांसद हुन् वा तेस्रोलिंगी समुदायको प्रतिनिधि हुन्। कानुनी रूपमा उनी अहिले “महिला” हुन्, तर पछिल्लो समय राजनीतिक अभियानमा उनले आफूलाई तेस्रोलिंगी समुदायको रूपमा प्रस्तुत गरेकी छिन्। यसले भविष्यका लागि एउटा महत्त्वपूर्ण नजिर बसाल्न सक्छ।
यदि जन्मतः छोरा भएर पछि कानुनी रूपमा “महिला” पहिचान लिने र त्यसै आधारमा महिला प्रतिनिधित्वको स्थानमा जाने प्रवृत्ति बढ्यो भने केही जटिल प्रश्नहरू उठ्न सक्छन्, जस्तै के यसले महिला प्रतिनिधित्वको कोटालाई प्रभावित गर्नेछ, के यसले तेस्रोलिंगीको छुट्टै प्रतिनिधित्वको माग कमजोर बनाउनेछ, र भविष्यमा अन्य तेस्रोलिङ्गी वा पुरुष पहिचान भएका व्यक्तिहरूले पनि नागरिकता परिवर्तन गरेर महिला स्थानबाट प्रतिनिधित्व गर्ने प्रवृत्ति बढ्ने हो कि भन्ने बहस सुरु हुन सक्छ।
यी प्रश्नहरू कुनै एक व्यक्तिसँग मात्र सम्बन्धित होइनन्, यी प्रश्नहरू राज्यको नीति, कानुनी पहिचान र प्रतिनिधित्व संरचनासँग सम्बन्धित छन्।
यो बहस व्यक्तिको योग्यताको प्रश्न होइन। धेरैले स्वीकार गर्छन् कि भूमिका श्रेष्ठ लामो समयदेखि समुदायका मुद्दामा सक्रिय, अनुभवी र योग्य व्यक्ति हुन्। तर मूल प्रश्न उठ्छ-राज्यले प्रतिनिधित्व कसरी परिभाषित गर्ने। यदि कुनै व्यक्ति चुनावी अभियानमा आफूलाई “तेस्रोलिंगी समुदायको प्रतिनिधि” भनेर प्रस्तुत गर्छ तर कानुनी रूपमा “महिला” को श्रेणीमा संसदमा जान्छ भने राज्यले त्यसलाई कुन प्रतिनिधित्व मान्ने भन्ने प्रश्न उब्जिन्छ।
अहिले अर्को महत्त्वपूर्ण पक्ष पनि छ। संसद् सदस्य बन्नका लागि अन्ततः समानुपातिक सूचीबाट नाम अनुमोदन गर्ने जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीकै हुन्छ। भूमिका श्रेष्ठको प्रतिनिधित्व सुनिश्चित गर्नै पर्छ भन्ने चर्चा भइरहे पनि, उनको नाम अनुमोदन हुनुअघि पार्टी र स्वयं भूमिका श्रेष्ठ दुवैले आफ्नो प्रतिनिधित्वको स्वरूप स्पष्ट पार्नु आवश्यक देखिएको छ।
उनी संसदमा महिला प्रतिनिधिका रूपमा जाँदैछिन् वा तेस्रोलिंगी समुदायको प्रतिनिधिका रूपमा भन्ने स्पष्टता अहिले नै नआए भविष्यमा अझ ठूलो नीतिगत र राजनीतिक विवाद उत्पन्न हुन सक्छ।
अहिले केही प्रश्नहरू अझै खुलै छन्। के भूमिका श्रेष्ठ संसदमा जानुअघि आफ्नो नागरिकता फेरि “अन्य” मा परिवर्तन गर्नेछिन् वा संसदमा पुगेपछि उनी पूर्ण रूपमा “महिला प्रतिनिधि” का रूपमा मात्र चिनिनेछिन्, जुन उनको अहिलेको कानुनी पहिचान बनेको छ, र राज्यले यसलाई तेस्रोलिंगी प्रतिनिधित्व मानेर इतिहास लेख्नेछ कि महिला प्रतिनिधित्वका रूपमा बुझ्नेछ भन्ने विषय अझै स्पष्ट छैन।
तर एउटा कुरा भने स्पष्ट छ-नेपालमा लैङ्गिक पहिचान, कानुनी कागजात र राजनीतिक प्रतिनिधित्वबीचको सम्बन्धबारे नीतिगत स्पष्टता आवश्यक छ। नत्र भोलिका दिनमा प्रतिनिधित्वको राजनीति अझै जटिल र विवादित बन्न सक्छ।
सम्बन्धित समाचार :
भूमिका पहिलो तेस्रोलिंगी उम्मेदवार हुन्? किन खण्डन गर्दिनन्?
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.