काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित गरी स्थापना गरिएका निर्वाचनसम्बन्धी विभिन्न विशेष इकाई तथा समन्वय केन्द्रहरू बन्द गरिएको जनाएको छ।
निर्वाचनको समग्र व्यवस्थापन, सूचना प्रवाह, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन आयोगले स्थापना गरेका ती इकाईहरू मतदान तथा मतगणनाको कार्य सम्पन्न भइसकेपछि बन्द गरिएको हो।
निर्वाचन प्रक्रियासँग सम्बन्धित सूचनाको प्रभावकारी सम्प्रेषण, सरोकारवाला निकायबीच समन्वय तथा मतदाता र सर्वसाधारणलाई आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्यले आयोगले २०८२ पुस ११ गतेदेखि निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना गरेको थियो। त्यसैगरी मतदाता र आम सर्वसाधारणका निर्वाचनसम्बन्धी जिज्ञासा सम्बोधन गर्न २०८२ माघ ५ गतेदेखि कल सेन्टर सञ्चालनमा ल्याइएको थियो।
त्यस्तै सुरक्षा निकायबीच सहकार्य तथा निर्वाचन प्रक्रियाको समग्र समन्वयका लागि २०८२ माघ ११ गतेदेखि संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालन गरिएको थियो। मतदान तथा मतगणनाको कार्य सम्पन्न भइसकेको सन्दर्भमा ती इकाई तथा समन्वय केन्द्रहरू आयोगको निर्णयअनुसार बुधवारदेखि लागू हुने गरी बन्द गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए।
सञ्चालन अवधिभर निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र मातहतको सूचना सदाचार प्रवर्धन इकाईले निर्वाचनसम्बन्धी ९९८ हानिकारक सूचना पहिचान गरेको छ। ती सूचनाहरूको विश्लेषण गरी सम्बन्धित नियामक निकायमा पठाइएको प्रवक्ता भट्टराईले जानकारी दिए।
यस्तै, केन्द्र मातहतकै विद्युतीय मतदाता शिक्षा इकाईले निर्वाचन प्रक्रिया, मतदाता शिक्षा तथा निर्वाचन सचेतनासम्बन्धी भिडिओ र पोस्टर गरी ७०४ वटा सामग्री निर्माण गरी आयोगका डिजिटल प्लेटफर्ममार्फत प्रकाशन तथा प्रसारण गरेको आयोगले जनाएको छ।
यसैगरी प्रेस अफिसले आयोगका कामकारबाहीसम्बन्धी सूचना प्रवाह, सञ्चार माध्यमसँग समन्वय, प्रेस ब्रिफिङ, दैनिक पत्रपत्रिकामा प्रकाशित सामग्रीको विश्लेषण, आचारसंहिता विपरीतका सामग्री पहिचान गरी कारबाहीका लागि सिफारिस तथा मतदाता शिक्षासम्बन्धी सामग्री निर्माण गरेको छ।
साथै कल सेन्टरमार्फत मतदाता नामावली, मतदाता शिक्षा, निर्वाचन आचारसंहिता तथा निर्वाचन प्रक्रियाका अन्य विषयसमेत गरी आममतदाताबाट आएका ८,२२० जिज्ञासाको सम्बोधन गरिएको छ।
त्यस्तै संयुक्त निर्वाचन सञ्चालन केन्द्रले मतपत्र तथा निर्वाचन सामग्री ढुवानीमा सुरक्षा समन्वय र ट्र्याकिङ गर्ने, हवाई ढुवानी कार्ययोजनाको तयारी तथा कार्यान्वयन र समन्वय गर्ने, मतदान केन्द्रसम्म मतपत्र र निर्वाचन सामग्री ढुवानीको ट्र्याकिङ गर्ने तथा निर्वाचन सुरक्षासम्बन्धी विभिन्न सूचना सङ्कलन, विश्लेषण, समन्वय र प्रतिवेदन तयार गर्ने कार्य त्रुटिरहित रूपमा सम्पादन गरेको आयोगले जनाएको छ। यसले निर्वाचन सुरक्षा समन्वय र व्यवस्थापनलाई प्रभावकारी बनाउन सक्रियतापूर्वक भूमिका निर्वाह गरेको आयोगको भनाइ छ।
निर्वाचन अवधिभर केन्द्र र मातहतमा रही समन्वय, सूचना व्यवस्थापन तथा सेवा प्रवाहमा प्रत्यक्ष तथा परोक्ष रूपमा संलग्न गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका साथै सम्बन्धित कार्यमा खटिएका विज्ञ तथा सम्पूर्ण कर्मचारीहरूको समर्पण, दक्षता र सक्रियताप्रति निर्वाचन आयोगले धन्यवाद तथा आभार व्यक्त गरेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.