काठमाडौं – निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ प्राप्त गरेको मतका आधारमा दलहरूले पाउने सिट सङ्ख्याको टुङ्गो लगाएको छ। देशभरिबाट समानुपातिक प्रणालीतर्फको दलहरूले पाएको कुल सदर मतमध्ये तीन प्रतिशत मत कटाएका छ वटा राजनीतिक दललाई ११० सिट भाग लगाइएको आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
निर्वाचन परिणाम अनुसार कुल ५१ लाख ८३ हजारभन्दा बढी मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी ५७ सिट जितेको छ।
दोस्रो धेरै १७ लाख ५९ हजार मत पाएको नेपाली कांग्रेसले २० सिट जितेको छ। समानुपातिक प्रणालीतर्फ तेस्रो धेरै १४ लाख ५५ हजार मत पाएको नेकपा एमालेले १६ सिट पाएको छ।
नेपाली कम्युनिस्ट पार्टीले समानुपातिक प्रणालीमा नौ सिट पाएको छ। पहिलो पटक भाग लिएको प्रतिनिधिसभा निर्वाचनमा ३ लाख ८५ हजार मत पाएको श्रम संस्कृति पार्टीले चार सिट पाएको छ।
३ लाख ३० हजार मत पाएर तीन प्रतिशत ’थ्रेशहोल्ड’ कटाउने अन्तिम दल बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि चार सिट पाएको छ। यसअघिका निर्वाचनमा उल्लेख्य सांसद रहेको र थप दलहरू एकीकृत भएर बनेको जनता समाजवादी पार्टी नेपाल यो पटक प्रतिनिधिसभामा उपस्थिति जनाउन विफल भएको छ।
प्रत्यक्ष प्रणालीतर्फ कुनै सिट नजितेको जसपाले समानुपातिक प्रणालीतर्फ पनि ’थ्रेशहोल्ड’ कटाउन नसक्दा संसद् प्रवेशको ढोका बन्द भएको छ। निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ बाँडफाँट भएका सिटमध्येबाट बन्दसूचीमा भएका निर्वाचित हुने उम्मेदवारहरूको नामावली पठाउन दलहरूलाई तीन दिनको समय दिने निर्णय गरेको छ।
निर्वाचन आयोगले चैत ५ गतेसम्म समानुपातिक प्रणालीतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र दिएर अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाउने योजना बनाएको बताएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.