दाङ – फरक पहिचान भएका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरू आर्थिक आयआर्जनसँग जोडिन थालेका छन्। लामो समयसम्म समाजमा खुला रूपमा आफ्नो पहिचान दिन अप्ठ्यारो मानिरहेका उनीहरू अहिले बिस्तारै समाजसँग घुलमिल हुन थालेका हुन्।
सामाजिक बहिष्कार, विभेद र अवसरको अभावका बीच आफ्नो अस्तित्व र सम्मानका लागि सङ्घर्ष गरिरहेका उनीहरू आज सीप र उद्यममार्फत आत्मनिर्भर बन्ने बाटो खोज्न थालेका छन्।
स्थानीय सरकारसँग समन्वय गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको फरक पहिचान समाज नेपालले दश दिने सीपमूलक च्याउ उत्पादन तालिम समापन गरेको छ। सहभागीहरूका अनुसार तालिम अत्यन्त फलदायी रहेको छ।
लामो समयसम्म रोजगार, सीप र अवसरबाट टाढा पारिएका फरक पहिचान भएका व्यक्तिहरूका लागि यस्तो तालिमले आत्मविश्वास बढाउनुका साथै आर्थिक रूपमा आत्मनिर्भर बन्ने सम्भावनालाई पनि बलियो बनाएको सहभागीहरूले बताएका छन्।
फरक पहिचान समाज नेपालका सदस्य कृष्टिना सेन्चुरीले तालिमले आर्थिक आयआर्जनका अवसर सिर्जना गर्न सहयोग पुगेको बताइन्। लामो समयदेखि फरक पहिचानका कारण सामाजिक र आर्थिक अवसरबाट वञ्चित हुनुपरेको अनुभव सुनाउँदै उनले आगामी दिनमा राज्यले यस्ता सीपमूलक तालिमलाई निरन्तरता दिनुपर्ने बताइन।
त्यस्तै तालिममा सहभागी गंगा अधिकारीले च्याउलाई भान्सामा तरकारीका रूपमा खाने गरिए पनि यसको उत्पादन प्रक्रिया थाहा नभएको बताउँदै तालिमले आफूलाई उद्यम र सीपसँग जोड्न मद्दत गरेको बताइन। तालिम केही अप्ठ्यारो भए पनि जीवन उपयोगी रहेको उनको बुझाइ छ।
अर्का सहभागी भूमी सिंह नेपालीले कडा मेहनतपछि च्याउ उत्पादनको सीप हासिल गर्दा अब आफू पनि आर्थिक आयआर्जनसँग जोडिन सक्ने आशा पलाएको बताए। फरक पहिचान भएका व्यक्तिहरूले समाजमा विभिन्न प्रकारका विभेद भोग्नुपरेको उल्लेख गर्दै उनले यस्तो समुदायका लागि राज्य गम्भीर हुनुपर्ने धारणा राखे।
फरक पहिचान भएका व्यक्तिहरूको सवालमा राज्य संवेदनशील नभएको उनीहरूको गुनासो छ। “हामी पनि शिक्षित छौँ, केही गर्न सक्ने क्षमता छ, तर राज्यले किन बुझ्दैन?” उनीहरूको प्रश्न छ। नागरिकता प्राप्त गर्ने क्रममा समस्या हुने, आफूले चाहेको व्यक्तिसँग विवाह गर्न नपाउनेजस्ता समस्या अझै समाधान नभएको उनीहरूले बताए।
उनीहरूका अनुसार पहिचानका आधारमा नागरिक अधिकार प्राप्त गर्न अझै पनि अनेक प्रशासनिक र सामाजिक अवरोधहरू पार गर्नुपर्ने अवस्था रहेको छ।
तालिम समापन कार्यक्रममा बोल्दै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले फरक पहिचान समाज नेपालले समाजमा रहेको विभेदकारी सोच परिवर्तन गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए। फरक पहिचान भएका व्यक्तिहरू पनि समाजकै अभिन्न सदस्य भएको उल्लेख गर्दै उनले उनीहरूलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सबैले जिम्मेवारी लिनुपर्ने बताए।
“फरक पहिचान भएका मानिस पनि हाम्रै दाजुभाइ दिदीबहिनी हुन्। उनीहरूलाई समाजमा सम्मानपूर्वक बाँच्न पाउने अधिकार छ। सम्मानित भएर बाँच्न सक्ने वातावरण सिर्जना गर्नु हामी सबैको दायित्व र कर्तव्य हो,” प्रमुख चौधरीले भने।
कार्यक्रममा बोल्दै लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले तालिमले सहभागीहरूको क्षमता अभिवृद्धि गर्दै समाज रूपान्तरणमा योगदान पुर्याउने विश्वास व्यक्त गरे। फरक पहिचान भएका व्यक्तिहरूले आफ्नो क्षमता र सीपलाई सकारात्मक रूपमा प्रयोग गर्दै समाजमा उदाहरणीय काम गर्नुपर्ने उनको भनाइ थियो।
डाँगीले ढुसीभित्र पनि खुशी खोज्दै च्याउ उत्पादनजस्तो व्यावसायिक क्षेत्रमा लागेको फरक पहिचान समाज नेपालको प्रयास प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा पनि समाजलाई सही बाटोमा डोर्याउने काम निरन्तर हुने विश्वास व्यक्त गरे।
“नराम्रो देखिने चिजभित्र पनि राम्रो सम्भावना लुकेको हुन्छ,” भन्दै उनले च्याउ खेतीलाई व्यावसायिक रूपमा मन, वचन र कर्मले लागेर अघि बढाउन सहभागीहरूलाई आग्रह गरे।
समाजमा अझै पनि फरक दृष्टिले हेर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै डाँगीले त्यस्ता सोचलाई परिवर्तन गर्न सकारात्मक काममार्फत उच्च नैतिकताको पाठ सिकाउनुपर्ने बताए। “समाज बनाउने कि बिगार्ने भन्ने कुरा गम्भीर विषय हो, त्यसैले सबैले सकारात्मक काममा लाग्नुपर्छ,” उनले भने।
कार्यक्रममा लमही नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी समीक्षा पोख्रेलले राज्यले प्रदान गरेको सीपलाई व्यवहारमा लागू गर्न आग्रह गरिन। वडा नम्बर ६ की वडा सदस्य पार्वती राना मगरले सीपलाई व्यवहारमा लागू गरे जीविकोपार्जनमा सहज हुने बताइन।
फरक पहिचान समाज नेपालका अध्यक्ष वर्षा ठकुरीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सदस्य तिला भुसालले स्वागत मन्तव्य राखेका थिए भने सलिना चौधरीले कार्यक्रमको सहजीकरण गरेकी थिइन।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.