निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

शपथग्रहण अघिनै सरकार गठनको तयारी !

शपथग्रहण अघिनै सरकार गठनको तयारी !

57
SHARES

काठमाडौँ – निर्वाचन परिणाम आफ्नो पोल्टामा पारेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको तयारीमा जुटेको छ। भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका बालेन शाह चुस्त र छरितो मन्त्रिपरिषद् गठन गर्ने तयारीमा सक्रिय भएका छन्।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै सरकार गठनको गृहकार्य तीव्र पारिएको र जनतासमक्ष गरिएको प्रतिबद्धता कार्यान्वयन गर्ने तयारीसमेत सुरु गरिएको रास्वपाका नेताहरूले बताएका छन्।

निर्वाचन आयोगले अन्तिम परिणाम राष्ट्रपतिसमक्ष बुझाए लगत्तै संविधानको धारा ७६ को उपधारा १ अनुसार सरकार गठनको प्रक्रिया सुरु हुनेछ। आयोगले समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ दलले सांसदको नामावली बुझाए लगत्तै प्रक्रिया पूरा गर्ने तयारी गरेको छ।

आयोगका अनुसार चैत ५ गतेभित्र समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने तयारी छ। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार दलहरूले समानुपातिक सूची बुझाएपछि आयोगले आवश्यक प्रक्रिया पूरा गरी प्रमाणपत्र वितरण गर्नेछ।

अन्तिम परिणाम घोषणा भएपछि निर्वाचित सांसदहरूको शपथ ग्रहण हुनेछ। सङ्घीय संसद् सचिवालयले सांसदहरूको शपथ ग्रहणका लागि कम्तीमा ३–४ दिन समय आवश्यक पर्ने जनाएको छ। सचिवालयले निर्वाचन आयोगबाट आधिकारिक परिणाम प्राप्त हुनासाथ शपथ ग्रहण कार्यक्रमको तयारी सुरु गर्ने प्रवक्ता एकराम गिरीले जानकारी दिए।

तर रास्वपाले शपथ ग्रहण अगाडि नै सरकार गठनको तयारी अघि बढाएको छ। संसदीय अभ्यासमा शपथ ग्रहणअघि नै सरकार गठनका प्रयास हुने उदाहरणहरू पहिले पनि देखिएको संसद् सचिवालयका प्रवक्ता गिरीले बताए। उनका अनुसार संवैधानिक प्रक्रिया सुरु भएपछि राजनीतिक दलहरूले बहुमत सुनिश्चित गर्ने र सरकार गठनको तयारी गर्ने अभ्यास नेपाली राजनीतिमा नयाँ होइन।

रास्वपाले भने सरकार गठनका लागि अझै करिब १० दिन लाग्ने अनुमान गरेको छ। समानुपातिकतर्फका सांसदहरूले निर्वाचित भएको प्रमाणपत्र प्राप्त गरेपछि सरकार गठनको प्रक्रिया अघि बढ्ने रास्वपाका प्रवक्ता मनिष झाले बताए। उनले सरकार गठनका लागि सांसदहरूको औपचारिक शपथ ग्रहणसम्म कुर्न नपर्ने सङ्केतसमेत गरेका छन्।

रास्वपाको पार्टी सचिवालय बैठकले समानुपातिकको बन्दसूचिमा रहेकामध्ये ५७ जना प्रस्तावित समानुपातिक सांसदहरूको नामावली बुझाउनले निर्णय गरेको छ।

खस आर्यबाट १७ जना, आदिवासी जनजातिबाट १६ जना, मधेशीबाट ९ जना, दलितबाट ८ जना, थारुबाट ४ जना र मुस्लिमबाट ३ जनाको नाम छनोट गरेको छ। जसमा ४८ जना महिला र ९ जना पुरुष रहेका रास्वपाले जनाएको छ। उनीहरूको नाम भने रास्वपाले सार्वजनिक गरेको छैन।

निर्वाचनका क्रममा जनतासँग गरेका बाचा पूरा गर्ने प्रतिबद्धतासहित रास्वपाका नेताहरू अहिले आन्तरिक छलफल र तयारीमा जुटेका छन्। सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार, सेवा प्रवाहमा पारदर्शिता, युवालाई रोजगारीका अवसर, तथा राज्य संयन्त्रलाई चुस्त बनाउने जस्ता प्रतिबद्धताहरूलाई प्राथमिकतामा राखेर सरकार गठन गर्ने तयारी भइरहेको नेताहरूले बताएका छन्।

जेनजी आन्दोलनका अभियन्ता समेत रहेका गोरखाबाट निर्वाचित सांसद सुदन गुरुङले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आशीर्वाद लिएको बताएका छन्। उनले सरकार गठनको राजनीतिक गतिविधिभन्दा पनि जनतासमक्ष गरेका बाचा पूरा गर्न अहिलेबाटै आफू मौन व्रत बसेर तयारीमा जुटिरहेको बताए।

जेनजी आन्दोलनको बलमा बनेको वर्तमान सरकार भने निर्वाचनपछि बाहिरिने तयारीमा छ। आन्दोलनको रापतापका बीच चुनावमा झन्डै दुई तिहाइ बहुमत नजिकको समर्थन प्राप्त गरेको रास्वपा अब सरकार गठनको तयारीमा लागेको हो। आन्दोलनपछि राजनीतिक परिवर्तनको माग गर्दै उठेको जनमतले रास्वपालाई ठूलो शक्ति बनाएको विश्लेषण गरिएको छ।

वर्तमान सरकारले जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नगरी पदमुक्त हुने तयारी गरेको आरोपसमेत उठेको छ। रास्वपा सांसद सुदन गुरुङका अनुसार अहिलेको सरकारले उक्त प्रतिवेदन सार्वजनिक नगर्ने सङ्केत देखिएको छ।

उनले अब बन्ने रास्वपा नेतृत्वको सरकारले त्यो प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरे। आफू मन्त्रिपरिषद्मा जाने–नजानेबारे भने अझै कुनै टुङ्गो नलागेको उनले बताए।

चुनावी परिणामले रास्वपालाई प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको रूपमा स्थापित गरेको छ। विगतमा वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपा अहिले राष्ट्रिय राजनीतिको मूलधारमा प्रवेश गरेको छ।

जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने जिम्मेवारीसहित रास्वपा अहिले गम्भीर गृहकार्यमा जुटेको छ। सरकार गठनसँगै जनताको अपेक्षा पूरा गर्ने, शासन प्रणालीमा सुधार ल्याउने र पारदर्शी तथा जबाफदेही शासन प्रणाली स्थापना गर्ने लक्ष्यका साथ पार्टीले रणनीतिक तयारी अघि बढाएको नेताहरूको दाबी छ।

समाचार शेयर गर्नुहोस्
57
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.