मतदान केन्द्रको भित्री कथा : कसरी सम्पन्न भयो एक दिनको महापर्व

मतदान केन्द्रको भित्री कथा : कसरी सम्पन्न भयो एक दिनको महापर्व

केही नहुँदा सबै ठिकठाक, तर केही भइहाल्यो भने मतदान अधिकृतलाई मात्र तनाव

78
SHARES

विगतका निर्वाचनमा विशेष गरी काठमाडौँस्थित कूटनीतिक निकायका प्रतिनिधि तथा विदेशी पर्यवेक्षकहरूसँग सम्पर्क अधिकृतको भूमिका र जिम्मेवारी निर्वाह गरेको अनुभव थियो। वि.सं.२०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौँस्थित अमेरिकी दूतावासका प्रतिनिधिसँग लुक्ला तथा आसपासका क्षेत्रको पर्यवेक्षण गर्ने समूहको सम्पर्क अधिकृत भएर जिम्मेवारी निर्वाह गरेको थिएँ। त्यो बाहेक अरू निर्वाचनमा काठमाडौँमा विदेशी मुलुकका पर्यवेक्षक तथा काठमाडौँस्थित विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक कर्मचारीहरूको सम्पर्क अधिकृतको भूमिकामा रही जिम्मेवारी पूरा गरेको थिएँ।

२०८२ को निर्वाचनमा पनि काठमाडौँ जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचनमा खटिन इच्छुक कर्मचारीको विवरण तथा खटिन नसक्ने कर्मचारीको विवरण कारणसहित माग गरिएको थियो। सुरुमै आफू कार्यरत मन्त्रालयका धेरै कर्मचारी साथीहरूले इच्छा देखाएका थिएनन् र नजानेमा आफ्नो नाम सूचीकृत गरेका थिए।

तर मलाई भने यसपटक पुरै निर्वाचनमा खटिएर ग्राउन्डको अनुभव लिने हुटहुटी थियो। सुरुमै जान इच्छुक कर्मचारीको रूपमा मैले आफ्नो नाम दर्ज गराएँ। मलाई यो राष्ट्रिय कर्तव्य र जिम्मेवारी हो, जसरी पनि पूरा गर्नु पर्दछ भन्ने लागेको थियो। हामी केवल चार जना मात्र उपसचिव निर्वाचन अधिकृतको रूपमा मन्त्रालयबाट खटिएका रहेछौँ। अरू साथीहरूले हिम्मत नै गरेनन्। बाँकी पछि केही पर्यवेक्षकका रूपमा खटिनु भयो होला, त्यो तथ्याङ्क थाहा भएन।

सोही बमोजिम मलाई काठमाडौँ महानगरपालिका भित्र मतदान अधिकृतको रूपमा खटाउने भनी निर्वाचन कार्यालयबाट फोन आयो। समग्र प्रक्रिया बुझ्न र सिक्न मन थियो। त्यसमाथि जेन–जेड मुभमेन्टपछिको पहिलो चुनाव भएकाले मतदाताको मुड पनि बुझ्न पाइने अवसर थियो।

त्यसै क्रममा फागुन १० गते निर्वाचन अधिकृतको कार्यालयबाट तपाईँलाई काठमाडौँ क्षेत्र नं. ५ अन्तर्गत मतदान अधिकृतको रूपमा खटाइएको र मतदान केन्द्र पछि खबर गर्ने भनेर फोनमार्फत जानकारी गराइयो। त्यस्तै फागुन १३ वा १४ मा मतदान अधिकृत र सहायक मतदान अधिकृतको अभिमुखीकरण तालिम हुने पनि जानकारी भयो।

सोही बमोजिम फागुन ११ मा मलाई वडा समितिको कार्यालय, बालुवाटार (ग) मतदान केन्द्रको मतदान अधिकृतको रूपमा नियुक्त गरिएको जानकारी काठमाडौँ निर्वाचन क्षेत्र नं. ५ को निर्वाचन अधिकृतको कार्यालयको फेसबुक पेजमार्फत थाहा भयो। साथै फागुन १३ गते बिहान १० बजे राष्ट्रिय सभा गृहमा अभिमुखीकरण तालिम हुने कार्यक्रम पनि तय भएको पत्र उक्त फेसबुक पेजबाटै जानकारी भयो।

हामीलाई फागुन १३ गते नै राष्ट्रिय सभा गृहमा २०८२।११।१२ गतेको नियुक्ति पत्र पनि थमाइयो। अनि त औपचारिक रूपमा निर्वाचनमा खटियौँ।

उक्त नियुक्ति पत्रमा मसँगै रहने सहायक मतदान अधिकृत, अन्य सहायक कर्मचारी तथा सहयोगीको नाम, कार्यरत कार्यालय र सम्पर्क नम्बर सहितको विवरण उपलब्ध थियो। म अन्तर्गत पाँच जना कर्मचारी थिए। सहायक मतदान अधिकृतको रूपमा सर्वोच्च अदालतका शाखा अधिकृत श्रीप्रसाद पौडेल रहनु भएको थियो। सहायक कर्मचारीहरूमा क्रमशः कमल गौतम (नायब सुब्बा, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग), कमला मिश्र (नायब सुब्बा, पर्यटन विभाग) र हरिकृष्ण पौडेल (नायब सुब्बा, प्रमाणीकरण नियन्त्रकको कार्यालय) हुनुहुन्थ्यो। सहयोगी कर्मचारीका रूपमा केन्द्रीय पशुपन्छी रोग अनुसन्धान प्रयोगशालाबाट देवकी रिमाल (कार्यालय सहयोगी) रहनु भएको थियो।

यसपछि अब आइलाग्यो सम्पूर्ण तयारी गर्नुपर्ने। हाम्रो मतदानस्थलमा पाँच वटा मतदान केन्द्रहरू क देखि ङ सम्म र जम्मा ४४४८ मतदाता रहेका थिए।

अभिमुखीकरण तालिममा हामीलाई हल्का जानकारी तथा विविध विषयमा सूचित गराइयो। तर फिल्डमै नखटेसम्म यहाँ भनेको कुराले मात्र केही हुँदैन भन्ने पनि बताइरहनु भएको थियो। शील कसरी लगाउने भनेर अभ्यास नै गराएर सिकाइयो भने विगतका कमजोरी र त्यसले उब्जाएका जटिलताहरू सेयर गरेर सचेत हुन झकझक्याइयो।

पूरै पुलिसको जिम्मा छोड्न पनि गाह्रो हुने रहेछ। फेरि मतपत्र लिएर जान पनि नमिल्ने। पूरै मतदान अधिकृतको जिम्मामा हुने रहेछ। केही नहुँदा सबै ठिकठाक, तर केही भइहाल्यो भने मतदान अधिकृतलाई मात्र तनाव हुने रहेछ।

अभिमुखीकरण कार्यक्रममा काठमाडौँका प्रमुख जिल्ला अधिकारी, काठमाडौँका लागि मुख्य निर्वाचन अधिकृतको रूपमा रहनु भएका जिल्ला न्यायाधीश, काठमाडौँ जिल्ला निर्वाचन कार्यालयका प्रमुख, काठमाडौँ निर्वाचन क्षेत्र नं. ५ का निर्वाचन अधिकृत तथा सुरक्षा निकायका अधिकारीहरूले समेत हामीलाई अभिमुखीकरण दिनु भएको थियो। तीन तहको सुरक्षा व्यवस्था तथा मतपेटिका सुरक्षित रूपमा निर्वाचन अधिकृतको कार्यालयसम्म पुर्‍याउने व्यवस्थाबारे पनि प्रकाश पारिएको थियो।

त्यसपछि हाम्रा बाँकी साथीहरू नियुक्ति पत्र लिन निर्वाचन अधिकृतको कार्यालय श्रीसमाज टोखा जानु भयो भने हामी चाहिँ मतदानस्थल निरीक्षण गर्न गयौँ। पाँच वटा केन्द्र बनाउनु पर्ने रहेछ। यसअघि चार वटा मात्र केन्द्र रहे पनि ठाउँ तथा स्पेस भने एकदमै साँघुरो रहेछ।

बालुवाटार वडा समिति मतदानस्थल भनिए पनि वास्तविक मतदानस्थल भने महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा रहेछ। हाम्रो पाँच वटा केन्द्रमा खटिएका साथीहरूमध्ये केही प्राविधिक क्षेत्रका हुनु भएकोले ठाउँलाई कसरी बढी उपयोग गरी पाँच वटा केन्द्र निर्माण गर्न सकिन्छ भनेर नक्सा स्केच गर्ने तथा विभिन्न प्राविधिक पक्षबाट अध्ययन गर्दै एउटा खाका तयार पार्नु भयो।

हामीलाई मतदानस्थल निर्माण गर्ने, सर्वदलीय बैठक आयोजना गर्ने, निर्वाचनसँग सम्बन्धित विभिन्न अनुसूचीबमोजिमका सूचनाहरू टाँस्ने जस्ता कामहरू गर्नुपर्ने थियो। ती सूचनाहरूमा मतदान केन्द्रको क्षेत्र तोकिएको सूचना, प्रचार–प्रसार गर्न निषेध गरिएको सूचना, मतदान केन्द्र रहेको ठाउँको वरिपरि शान्ति भङ्ग नगर्ने सूचना, मतदान केन्द्रको वरिपरि हातहतियार लिएर हिँड्न निषेध गरिएको सूचना, मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न निषेध गरिएको सूचना लगायतका सूचना समावेश थिए। साथै नेपाल प्रहरी लगायतका सुरक्षा निकायहरूसँग समन्वय गर्ने जिम्मेवारी पनि हाम्रो नै थियो।

विद्यालयका उपप्रधानाध्यापक भिम पोखरेल सर र वडा अध्यक्षसँग सुरुमै भेटघाट गरी आवश्यक सहयोग र समन्वयका लागि अनुरोध गरियो। दुवै जनाबाट अन्तिमसम्म पूर्ण सहयोग पनि प्राप्त भयो।

अरू केन्द्रका साथीहरूले १७ गते नै गएर मतदान सामग्री लिनुभयो, तर हाम्रो केन्द्रको भने १९ गते मात्र लिएर आइयो। मतदानस्थल बनाउने र बारबेर गर्ने काम १९ र २० गते गरियो। हामीले फलामका स्ट्याण्डले बारबेर गर्ने तथा टेन्ट–पालसमेत हालेर हाम्रो मतदानस्थल चाहिँ चटक्क राम्रो बनाइएको थियो। महिला–पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था सानो ठाउँ भए पनि मिलाइएको थियो।

सबै केन्द्रका साथीहरू मिलेर फागुन १९ मै सर्वदलीय बैठक आयोजना गरी सम्पन्न गरियो। सहायक मतदान अधिकृत अनुभवी हुनुहुन्थ्यो र पहिले पनि धेरै पटक निर्वाचनमा खटिएको अनुभव भएकाले सर्वदलीय बैठकका एजेन्डा र निर्णयका प्रस्ताव तयार पारेर बैठकमा प्रस्तुत गरियो। सबै राजनीतिक दलको सहमति भएपछि त्यसलाई पारित गरियो। विवादास्पद केही विषय थिएन।

निर्वाचन कानून र विगतका अभ्यासहरू समावेश भएकाले विवाद हुने कुरा पनि भएन। उक्त निर्णयहरू स्कूलको बाहिर सबैले देख्ने ठाउँमा टाँस पनि गरियो।

हामीलाई सबै राजनीतिक दलको एकदमै साथ र सहयोग रह्यो। सर्वदलीय बैठकमा हामी पाँचै केन्द्रले भाग लगाएर सबै पच्चीस वटा दलका प्रतिनिधिलाई सम्पर्क गरी बैठकमा उपस्थित हुन अनुरोध गरेका थियौँ। त्यसअनुसार उज्यालो नेपाल पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा संयुक्त, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एमाले, नेपाली कांग्रेस तथा नेकपाका प्रतिनिधिहरू उपस्थित हुनु भएको थियो।

हाम्रो क्षेत्रमा प्रत्यक्षतर्फ पच्चीस जना उम्मेदवारहरू मैदानमा हुनुहुन्थ्यो भने ५८ दल समानुपातिक सूचीका लागि दर्ता भएका थिए। सोही बमोजिम समानुपातिकको मतपत्रमा ५८ वटा चिन्ह थिए भने प्रत्यक्षको मतपत्रमा २५ वटा मात्र थिए।

निर्वाचनको समग्र साक्षी हुँदा मतदाता वृद्धवृद्धा, वयस्क र युवामा परिवर्तनको अपेक्षा र हुटहुटी स्पष्ट देखिन्थ्यो। त्यो बडी ल्याङ्ग्वेज र उनीहरूको हाउभाउबाट सहजै अनुमान गर्न सकिन्थ्यो।

हामीले २० गतेसम्म मतदान पूर्वका गर्नुपर्ने लगभग सबै तयारी सम्पन्न गरेर मतदानको दिनका लागि आवश्यक तयारी पनि पूरा गरेर बसेका थियौँ। मतदानको दिनका लागि नाम रुजु गर्ने, मसी लगाउने, प्रत्यक्षको मतपत्र दिने, समानुपातिकको मतपत्र दिने तथा महिला, पुरुष र अन्यको तथ्याङ्क फाराम भर्ने जिम्मेवारी पनि आफ्नो टिमका साथीहरूलाई छुट्याइयो।

२० गते साँझ ४ बजे हाम्रो निर्वाचन अधिकृतको कार्यालय श्रीसमाज भवन, टोखा गएर मतपत्र लिएर आयौँ। मतपत्र लिन एक्लै जान नमिल्ने रहेछ, सुरक्षाकर्मी र पुलिस सहित जानुपर्ने रहेछ।

हाम्रो मतदानस्थलमा सिनियर सब–इन्स्पेक्टर भरत रेग्मीको कमान्डमा ११ जना प्रहरी र निर्वाचन प्रहरी गरी जम्मा ३३ जनाको समूह थियो। भरतजी एकदमै सहयोगी र मिलनसार हुनु भएकाले काम गर्न एकदम मज्जा पनि आयो र सहज पनि भयो। उता बीचबीचमा सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान तथा नेपाली सेनाबाट खटिएका अधिकारीहरूको पनि फोन आइरहन्थ्यो।

फागुन २० को राति मतपत्रसँगै हाम्रो केन्द्रका दुई जना साथीहरू स्कूलमै सुत्ने हुनु भयो, अन्यथा आफैँ बस्नु पर्ने हुन्थ्यो। उहाँहरूले गर्दा मलाई ढुक्क पनि भयो। मतपत्र उहाँहरूलाई जिम्मा लगाइयो। पूरै पुलिसको जिम्मा छोड्न पनि गाह्रो हुने रहेछ। फेरि मतपत्र लिएर जान पनि नमिल्ने। पूरै मतदान अधिकृतको जिम्मामा हुने रहेछ। केही नहुँदा सबै ठिकठाक, तर केही भइहाल्यो भने मतदान अधिकृतलाई मात्र तनाव हुने रहेछ।

घ केन्द्रका मतदान अधिकृत त राति त्यही सुत्नुभएको रहेछ। भोलिपल्ट भन्दै हुनुहुन्थ्यो-“केही परिहाल्यो भने अप्ठ्यारो हुन्छ भनेर।”

निर्वाचनको महापर्व फागुन २१ गते थियो। म बिहान साढे चार बजे उठेर तयार भई पाँच बजेर दश मिनेटमा घरबाट मतदानस्थलतिर लागेँ। मतदानस्थलमा साढे पाँच बजे अगाडि नै पुगिसकेको थिएँ। हामीले मतदान प्रतिनिधिहरूलाई साढे पाँचमा आउन अनुरोध गरेका थियौँ, त्यसैले आफू ढिलो जानु सोभनीय हुने थिएन।

दलका प्रतिनिधिहरूलाई फोन गरेर छिटो आउन ताकेता पनि गरियो। उहाँहरू आएपछि उहाँहरूको रोहवरमा मतपेटिका रित्तो भएको देखाएर यकिन गरियो। त्यसपछि रित्तो मतपेटिकामा बिर्को लगाई शील लगाउने, मुचुल्का गर्ने, शील नम्बर पोलबुकमा टिप्ने तथा अनुसूची १२ बमोजिम मतदान सुरु हुनुअघि मतपेटिका बन्द गरेको मुचुल्का उठाइयो।

त्यसैगरी अनुसूची १३ बमोजिम स्वस्तिक छाप जाँच गरेको मुचुल्का र अनुसूची १४ बमोजिम मतपत्र शीलबन्दी प्याकेट खोल्ने मुचुल्का लगायतका मतदान सुरु गर्नु पूर्वका सम्पूर्ण तयारी सम्पन्न गरियो। अन्ततः अनुसूची १५ बमोजिम सात बजे मतदान प्रारम्भ भएको मुचुल्का तयार गरी ठ्याक्कै सातै बजेबाट मतदान प्रारम्भ गर्न सफल भइयो।

पहिलो मतदान गर्ने ६२ वर्षीय फुटी शेर्पा हुनुहुन्थ्यो। मतदान सुरु भएपछि नियमित रूपमा निर्वाचन अधिकृतको कार्यालयलाई अद्यावधिक गराउने, मतपत्रमा हस्ताक्षर गर्ने, सहायक कर्मचारीहरूसँग समन्वय गर्ने, लाइन व्यवस्थित गर्ने, आउने पर्यवेक्षकहरूसँग कुराकानी गर्ने र उनीहरूका जिज्ञासाको उचित जवाफ दिने काम भइरहेको थियो।

साथै प्रत्यक्ष र समानुपातिक मतपत्र मतदाताले राम्ररी मतपेटिकामा खसाले–नखसालेको चनाखो भएर छड्के गरिरहनु पर्थ्यो। एउटा पनि तलमाथि भए ठूलो समस्या हुने भएकाले प्रत्येकको क्रमसंख्या पोलबुकमा टिपिरहन्थेँ। यसरी हाम्रो केन्द्र व्यवस्थित रूपमा र भीड नभई सञ्चालन भइरह्यो। सबै साथीहरूले समूहमा खुसीसाथ काम गर्नुभयो।

साँझ साढे चार बजे “अब आधा घण्टा मात्र बाँकी छ” भनेर प्रहरीको माइकबाट माइकिङ पनि मैले नै गरेँ। मेरो केन्द्रमा करिब नौ सय मतदाता हुनुहुन्थ्यो, जसमा ६२ प्रतिशत मतदान भयो।

मतदानको समय सकिएपछि गर्नुपर्ने कामहरू सुरु भए। मतदान प्रतिनिधिको रोहवरमा अनुसूची २४ बमोजिम मतपेटिकाको मतपत्र खसाल्ने प्वाल बन्द गरेको मुचुल्का तयार गरियो। अनुसूची २५ बमोजिम मतपत्रको फाँटवारी, बाँकी रहेका र प्रयोग भएका मतपत्रको सम्पूर्ण विवरण तयार गरियो।

अनुसूची २६ बमोजिम मतपत्र तथा अन्य कागजात खामबन्द गरिएको मुचुल्का तयार गरियो। निर्वाचन अधिकृतलाई बुझाउने कागजात खाममा खुलै राख्ने अनुसूची ३२ बमोजिम दुई प्रति तयार गरियो, जसमा सबै मुचुल्का, तथ्याङ्क फाराम, पोलबुक लगायतका कागजातहरू समावेश थिए। सहायक मतदान अधिकृत र सहायक कर्मचारीहरू मिलेर बढो फुर्तीका साथ दश मिनेटमै सबै काम सकाउनु भयो।

हाम्रोमा कुनै अप्रिय परिस्थिति सिर्जना नभएकोले अन्य अनुसूचीहरू भर्नुपर्ने जरुरी परेन। हामीसँग रहेका प्रहरी साथीहरू भन्दै थिए,“तपाईँहरू त 6G जस्तै द्रुत, अरू बल्ल 3G को गतिमा चलेका छन् सर।”

हामी सबै प्रक्रिया पूरा गरेर राजनीतिक दलका प्रतिनिधिहरू राखी मतपेटिका शीलबन्दी गरेर निर्वाचन अधिकृतको कार्यालय जान तयार भएर बसेका थियौँ। तर हाँडी गाउँको मतपेटिका लिएर आउने गाडीमा हाम्रो पनि लिएर जाने व्यवस्था मिलाइएकोले उताबाट आउन एक घण्टाभन्दा बढी ढिला भयो।

डेढ घण्टा जति प्रतीक्षा गरेपछि पुरानो बसमा कोचेर ल्याइएको रहेछ, अघिपछि नेपाली सेनाको स्कटसहित। हामी पनि बल्लबल्ल मतपेटिका राखेर भित्र छिरेर टोखातिर लाग्यौँ।

उता टोखामा बुझाउन पनि लाइनमा बस्नु पर्‍यो। केही समय गाडीमै उकुसमुकुस भएर बस्नुपर्‍यो त केही समय गाडीबाट झरेपछि प्राङ्गणमा। अन्ततः हामीले मतपेटिका, बाँकी सामग्री तथा अन्य कागजातका अतिरिक्त अनुसूची ३२- मतदान अधिकृतले निर्वाचन अधिकृतलाई मतदान सामग्री बुझाएको विवरण- दुई प्रतिसहितका सबै कागजात बुझायौँ।

यसमा मेरो सहायक मतदान अधिकृत अनुभवी भएकाले धेरै सहज भयो। हामीलाई बुझाउँदा थप कागजात वा सोधपुछ भएन। तर क र ख केन्द्रका साथीहरूलाई केही समय लागेको र थप विवरण मागिएको देखियो। त्यस्तै ङ केन्द्रका साथीकोमा त निविदा मत समेत परेको हुनाले निकै झन्झट भएको थियो।

यसरी राष्ट्रिय जिम्मेवारी पूरा गरियो। मतपेटिका बुझाएपछि शरीरको बोझै बिसाएजस्तो भयो। त्यसपछि म र सहायक मतदान अधिकृत हिँड्दै घरतर्फ प्रस्थान गर्‍यौँ।

मतपेटिका बुझाएपछि आफ्नो जिम्मेवारी सफलतापूर्वक सम्पन्न भएकोमा आनन्द पनि लागिरहेको थियो। यो मेरो लागि बिलकुलै नयाँ अनुभव थियो। तर मतपेटिकासँगै फाइल बुझाउँदा आवश्यक परेको बखत उपस्थित हुने प्रतिज्ञासहित सबै विवरण सत्य हो भनेर हस्ताक्षर र मोबाइल नम्बर लेखी आएकोले कतै मतपत्रमा हस्ताक्षर नमिलेर पछि बोलाउला कि वा कुनै लफडा हुने हो कि भन्ने डर मनमा भने लागिरहेको थियो।

धन्न त्यस्तो भएन। फेरि प्रत्येक मतपत्रमा हस्ताक्षर एकरूपता हुन गाह्रो हुने भएकाले केही न केही फरक त हुने नै रहेछ। मेरो हस्ताक्षर पनि त्यस्तै भएर होला।

निर्वाचनको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरियो। निर्वाचनको समग्र साक्षी हुँदा मतदाता वृद्धवृद्धा, वयस्क र युवामा परिवर्तनको अपेक्षा र हुटहुटी स्पष्ट देखिन्थ्यो। त्यो बडी ल्याङ्ग्वेज र उनीहरूको हाउभाउबाट सहजै अनुमान गर्न सकिन्थ्यो।

सँगै मतपत्र बाकस छेउमा खटिएका पुलिस साथीले बीचबीचमा मलाई त्यस्तै सङ्केत पनि गर्थे। नभन्दै केही समयपछि निर्वाचन अपडेट सुन्दा देशैभरि त्यो सङ्केत देखियो।

नेपालकै निर्वाचन इतिहासमा अभूतपूर्व सफलता नयाँ पार्टीमा देखियो। अब मतदाताको आशा र भरोसाअनुसार डेलिभरी गर्ने, परिवर्तनको सुनिश्चितता दिने जिम्मेवारी जनताबाट चुनिएका जनप्रतिनिधिको काँधमा आएको छ।

जनतालाई निराश बनाएमा यो सुनौलो अवसर फेरि सजायमा परिवर्तन हुनेछ अर्को निर्वाचनमा। यही नै आवधिक निर्वाचनको सुन्दर पक्ष हो- जनतामाझ पुनः परीक्षण हुने।

समाचार शेयर गर्नुहोस्
78
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.