काठमाडौँ – काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका सुरेन्द्र पाण्डेले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्।
दक्षिण एसियामै पहिलो पटक लमजुङको दोर्दी गाउँपालिका कार्यालयमा कानुनी रूपमा समलिङ्गी विवाह दर्ता गर्न सफल भएका पाण्डेले सोमबार निर्वाचन कार्यालय काठमाडौँमा आफ्नो चुनावी खर्च विवरण बुझाएका हुन्।
समावेशी समाजवादी पार्टीबाट उम्मेदवार बनेका पाण्डेले बुझाएको विवरणअनुसार उनको चुनावी खर्च अत्यन्त न्यून देखिएको छ। उनले उम्मेदवारको मनोनयन दर्ता शुल्क मात्रै खर्च भएको उल्लेख गरेका छन्।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्य भएका कारण पाण्डेले उम्मेदवारको मनोनयन दर्ता शुल्कमा आधा छुट पाएका थिए। त्यसअनुसार उनले मनोनयन दर्ता शुल्कबापत ५ हजार रुपैयाँ मात्र खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन्।
पाण्डेले बुझाएको खर्च विवरणमा प्रचारप्रसार खर्च शून्य रहेको उल्लेख छ। आर्थिक स्रोतको अभाव, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका उम्मेदवारहरूले चुनावी मैदानमा सामना गर्नुपर्ने संरचनात्मक असमानता र सीमित पहुँचका कारण महँगो चुनावी प्रचार अभियान सञ्चालन गर्न नसकेको देखिएको छ।
निर्वाचन परिणामअनुसार पाण्डेले काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट ५ मत प्राप्त गरेका थिए। उनले पाएको मतका आधारमा गणना गर्दा एक मतका लागि करिब १ हजार रुपैयाँ खर्च भएको देखिन्छ।
पाण्डेले लामो समयदेखि भ्रष्टाचार न्यूनीकरण र सुशासनको पक्षमा आवाज उठाउँदै आएको बताएका छन्। तर केवल भाषण र नाराले मात्र परिवर्तन सम्भव नहुने उनले निर्वाचन खर्च विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै उल्लेख गरेका छन्।
उनले लेखेका छन्, “वास्तविक परिवर्तन तब सुरु हुन्छ, जब हामी आफैँबाट पारदर्शिता र उत्तरदायित्वको अभ्यास सुरु गर्छौँ।” त्यही विश्वास र प्रतिबद्धताका साथ, निर्वाचन खर्चलाई अनावश्यक रूपमा बढाउने पुरानो राजनीतिक अभ्यासलाई चुनौती दिँदै खर्च कटौती र पारदर्शितालाई प्राथमिकता दिने वाचा अनुरूप आफूले सम्पूर्ण चुनावी खर्च विवरण सार्वजनिक रूपमा प्रस्तुत गरेको उनले बताएका छन्।
राजनीतिमा विश्वास पुनः स्थापित गर्न पारदर्शिता अनिवार्य रहेको दृढ विश्वास आफूमा रहेको पाण्डेले उल्लेख गरेका छन्। आगामी दिनहरूमा पनि सुशासन, पारदर्शिता र जिम्मेवार राजनीतिक संस्कृतिको पक्षमा निरन्तर उभिने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.