समानुपातिकबाट ११० सांसद निर्वाचित, ८२ महिला (सूचिसहित)

समानुपातिकबाट ११० सांसद निर्वाचित, ८२ महिला (सूचिसहित)

83
SHARES

काठमाडौँ – निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने दलहरूका सांसदहरूको सूची सार्वजनिक गरेको छ। दलहरूबाट सिफारिस भएका नामहरू आयोगले सोमबार सार्वजनिक गरेको हो।

आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ थ्रेसहोल्ड कटाएका ६ वटा पार्टीबाट निर्वाचित हुने ११० जना सांसदहरूको सूची प्रकाशित गरेको हो।

आयोगका अनुसार सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ५७ जना, नेपाली कांग्रेसबाट २० जना, नेकपा (एमाले)बाट १६ जना, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट ९ जना, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ४–४ जना निर्वाचित भएका छन्।

आयोगका अनुसार ६ दलबाट ११० जना सांसद निर्वाचित हुँदा ८२ जना महिला निर्वाचित भएका छन्। जसमा सबैभन्दा बढी रास्वपाबाट ४८ जना, दोस्रोमा नेपाली कांग्रेसबाट १५ जना, तेस्रोमा नेकपा (एमाले)बाट १० जना, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट ४ जना, श्रम संस्कृति पार्टीबाट ३ जना र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट २ जना छन्।

रास्वपाले ५७ जनाको सूचीमा ४८ महिला र ९ पुरुषलाई स्थान दिएको छ। खस आर्य क्लस्टरबाट १७ जना, आदिवासी जनजातिबाट १६ जना, मधेसीबाट ९ जना, दलितबाट ८ जना, थारुबाट ४ जना र मुस्लिमबाट ३ जना समावेश छन्।

रास्वपाका ४८ जना महिलामध्ये लिङ्ग परिवर्तन गरेर पुरुषबाट महिला बनेकी भूमिका श्रेष्ठ पनि छिन्। चुनाव प्रचारप्रसारका क्रममा आफूलाई तेस्रोलिंगी भएको बताएकी भूमिका महिला क्लस्टरबाट समानुपातिक सांसद बनेकी छन्। भूमिका सांसद बन्ने निश्चित भएसँगै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्ति, सङ्घसंस्था लगायतले सामाजिक सञ्जालमा बधाई दिइरहेका छन्।

नेपाली कांग्रेसले समानुपातिकतर्फ १५ जना महिला र ५ जना पुरुषको सूची निर्वाचन आयोगमा पेस गरेको छ। यसमा महिला प्रतिनिधित्व सुनिश्चित गर्दै खस आर्य, आदिवासी, दलित, मधेशी, थारु र मुस्लिम कोटाबाट नाम सिफारिस गरिएको छ।

नेकपाले समानुपातिक सूचीमा खस आर्यबाट प्रमेश हमाल र बलावती शर्मा, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमारी बुढा, अपाङ्गताबाट प्रेमबहादुर बयक, मधेसीबाट जोगकुमार बर्बरिया यादव, दलितबाट पार्वती विक र गणेश विश्वकर्मा, थारु समूहबाट निराशा चौधरी डगौरा नाम सिफारिस गरेको छ।

निर्वाचन आयोगले सूची स्वीकृत गरेसँगै समानुपातिकतर्फ निर्वाचित सांसदहरूले प्रमाणपत्र प्राप्त गर्नेछन्। निर्वाचित सांसदहरूलाई चैत ५ गते प्रमाणपत्र प्रदान गर्ने आयोगले जनाएको छ।



समाचार शेयर गर्नुहोस्
83
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.