चुनावले थला परे कांग्रेस-कम्युनिष्ट, शपथपछि मात्र दलको नेता चयन

चुनावले थला परे कांग्रेस-कम्युनिष्ट, शपथपछि मात्र दलको नेता चयन

70
SHARES

काठमाडौँ – मतदाताको रिसको झोकमा थलिएका कांग्रेस–कम्युनिष्ट पुरानै पारा अपनाउन छोडेका छैनन्। युवाको नेतृत्व स्वीकार गर्न अझै तयार छैनन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मत परिणाममा करङ भाँचिनेगरी ढलाउँदा समेत चेत्ने कुनै स्पष्ट छनक देखिएको छैन।

चुनावी नतिजासँगै कांग्रेस र कम्युनिष्ट दुवै ‘सच्चिने कि सक्किने’ भन्ने गम्भीर सङ्कटको घेरामा परेका छन्। परिणामले थला परेका यी दुई शक्तिलाई अब आफ्नै अस्तित्व जोगाउन धौधौ पर्ने देखिएको छ। २०७९ को चुनावमा प्रमुख दल बनेको कांग्रेस अहिले संख्याका आधारमा कमजोर प्रतिपक्षमा खुम्चिएको छ।

कांग्रेस–कम्युनिष्ट मिलेर पनि जेनजी आन्दोलनको बलमा उभार ल्याएको रास्वपालाई दबाबमा पार्न नसक्ने अवस्थामा पुगेका छन्। अबको प्रतिनिधिसभाको पाँच वर्षे कार्यकालमा कांग्रेस–कम्युनिष्टको नाममा सत्ताको भागबन्डा हुने सम्भावना न्यून प्रायः देखिन्छ। रास्वपाको उभारले परम्परागत शक्तिकेन्द्रहरूलाई विस्थापित गर्दै नयाँ शक्ति सन्तुलन निर्माण गरिरहेको छ।

कांग्रेस–कम्युनिष्टभित्र आन्तरिक किचलो भने जस्ताको त्यस्तै छ। दुवै दलले पहिले आफ्नै घरभित्र एकता कायम गर्ने चुनौती सामना गरिरहेका छन्। कांग्रेस, एमाले र नेकपाले अझै संसदीय दलको नेता चयन गरेका छैनन्।

तीनवटै दलले सांसदहरूको शपथ ग्रहणपछि मात्रै नेता चयन गर्ने बताएका छन्, जसले उनीहरूको आन्तरिक अन्योल र दिशाहीनता झल्काउँछ।

नेकपाले भने सर्वसम्मत रूपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै संसदीय दलको नेता बनाउने तयारी गरेको छ। प्रचण्डको नाममा पार्टीभित्र कुनै विवाद नरहेको दाबी नेता देव गुरुङले गरेका छन्। उनका अनुसार वैकल्पिक नेतृत्व खोज्ने अवस्था नै छैन।

तर, असन्तुष्टिको भारी बोकेर हिँडिरहेका दल कांग्रेस र कम्युनिष्ट नै हुन्। विगतको इतिहास गाएर मात्रै राजनीति अगाडि बढ्न नसक्ने एमाले नेता सुरेन्द्र पाण्डेको भनाइ छ। असन्तुष्टिको पोको बोकेर लामो यात्रा सम्भव नहुने उनको निष्कर्ष छ।

नेतृत्वमा लौरो टेकेर हिँड्दा समेत दाबी नछोड्ने परम्परा कांग्रेस–कम्युनिष्ट दुवैमा यथावत् देखिन्छ। यी दलले सांसदहरूको शपथपछि मात्रै संसदीय दलको नेता चयन गर्ने तयारी गरे पनि नयाँ पुस्ता नेतृत्वमा आउने सम्भावना न्यून देखिएको छ।

झन्डै दुईतिहाइ बहुमत ल्याएको रास्वपाले सर्वसम्मत रूपमा बालेन शाहलाई संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ। चैत १२ गते सांसदको शपथ र भोलिपल्टै प्रधानमन्त्रीको शपथ लिने तयारी छ। यसले नयाँ पुस्ताको आक्रामक राजनीतिक उदयलाई थप स्पष्ट बनाएको छ।

चुनावको नतिजाले बामे सरेर हिँड्नुपर्ने अवस्थामा पुगेका पुराना दल भने नेतृत्व चयनमै ढिलाइ गरिरहेका छन्। नेपाली कांग्रेसले पनि शपथपछि मात्रै नेता चयन गर्ने तयारी गरेको छ, जहाँ चार दशकदेखि संसदीय राजनीतिमा सक्रिय अर्जुन नरसिंह केसीले दाबी प्रस्तुत गरेका छन्।

पुराना दलहरूमा अहिले पनि विगतका अनुभव बोकेका नेताहरूको वर्चस्व कायम छ। उनीहरूसँग भविष्यको स्पष्ट दृष्टि देखिँदैन। वर्तमान राजनीतिक यथार्थ भने फरक छ, फिजिकल युगबाट डिजिटल युगतर्फको सङ्क्रमणमा देश अघि बढिरहेको छ, तर कांग्रेस–कम्युनिष्ट भने सोच र संरचनामा पुरानै ढाँचामा अड्किएका छन्।

इतिहासको कुरा गर्ने र भविष्यको खोजी गर्ने बीचको सङ्घारमा उभिएका यी दलहरूको आगामी बाटो असहज देखिएको छ। सहज छैन-सक्किन सजिलो छ, तर सच्चिन अत्यन्त कठिन। विगतका कमजोरी सच्याउनेतर्फ नेतृत्वको ध्यान नगएको कुरा उनीहरूले स्वयं स्वीकार गरेका छन्।

‘सच्चिने कि सक्किने’ भन्ने शब्द अहिले चलनचल्तीमा छ, तर व्यवहारमा त्यो देखिँदैन। त्यसो भन्नुको अर्थ, दलहरूले व्यवहारतः सक्किने यात्रातर्फ अघि बढिरहेको सङ्केत मिलिरहेको एमाले नेता पाण्डेको भनाइ छ।

अब कांग्रेस–कम्युनिष्ट सच्चिन्छन् कि सकिन्छन् भन्ने प्रश्नको जवाफ भने आगामी दिनले नै दिनेछ।

समाचार शेयर गर्नुहोस्
70
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.