नयिराको बयान र युद्धको राजनीति

नयिराको बयान र युद्धको राजनीति

'जब भावना अघि बढ्छ, सत्य पछि पर्छ'

67
SHARES

युद्ध सधैँ बन्दुकबाट सुरु हुँदैन। कहिलेकाहीँ युद्ध एउटा कथाबाट सुरु हुन्छ-त्यस्तो कथा, जसले मानिसको मन छुन्छ, आँखा रसाउँछ, र तर्कलाई केही समयका लागि मौन बनाउँछ।

सन १९९० मा इराकले कुवेतमाथि आक्रमण गरेपछि अमेरिकामा एक किशोरी “नयिरा”ले कंग्रेसमा दिएको बयान विश्वभर फैलियो। उनले दाबी गरिन्-इराकी सैनिकहरूले अस्पतालमा घुसेर नवजात शिशुहरूलाई इन्क्युबेटरबाट निकालेर भुइँमा मर्न छाडेका थिए।

यो दृश्य कल्पना मात्रले पनि जो कोहीलाई विचलित बनाउँछ।

त्यही भयो-अमेरिकी जनमत हल्लियो, आक्रोश बढ्यो, र अमेरिकाले इराक विरुद्ध गर्ने भनेको युद्धको लागि जनसमर्थन बलियो बन्यो।

पछि थाहा भयो-यो कथा प्रमाणित थिएन। नयिरा साधारण पीडित होइनन्; उनी कुवेती राजदूतकी छोरी थिइन्, र उनको बयान एक योजनाबद्ध प्रचार अभियानको हिस्सा थियो। तर त्यतिन्जेल, कथा आफ्नो काम गरिसकेको थियो-भावनालाई निर्णयमा बदलिसकेको थियो। अमेरिकाले इराकमाथि आक्रमण गरिसकेको थियो।

यो इतिहास किन सम्झिनु? किनभने आज हामी त्यही मनोविज्ञानको पुनरावृत्ति आफ्नै समाजमा देखिरहेका छौँ।

कर्की आयोगको छानबिन केवल प्रशासनिक प्रक्रिया होइन; यो लोकतन्त्रको परीक्षा हो। यसले स्पष्ट गर्नुपर्छ-के भयो, कसले गर्‍यो, र किन भयो। यदि यो स्पष्ट भएन भने, हामी कथा र अनुमानको आधारमा नै दोषी तय गर्नेछौँ।

२३ भदौको घटना, बालबालिकाको मृत्युको खबर नेपालमा छिटो फैलियो। त्यो खबरसँगै आक्रोश पनि फैलियो। तर एउटा आधारभूत प्रश्न अझै खुला छ: उनीहरूलाई कसले मार्‍यो? यसको स्पष्ट, प्रमाणमा आधारित उत्तर सार्वजनिक रूपमा स्थापित भइसकेको छैन। तर भोलिपल्ट, २४ भदौमा, काठमाडौँका सडकमा देखिएको दृश्यले देखायो-जब भावना अघि बढ्छ, सत्य पछि पर्छ।

आगजनी भयो। लुटपाट भयो। भीडले ‘भिडको न्याय’ दियो।

हामीले यसलाई केवल “आक्रोश” भनेर बुझ्न सजिलो त होला तर आक्रोश एक्लै आउँदैन; यसलाई कथा चाहिन्छ। र जब कथा अपुष्ट हुन्छ, आक्रोश दिशाहीन बन्छ। प्रश्न उठ्छ-के त्यो स्वतःस्फूर्त विस्फोट थियो, वा कुनै अपुष्ट सूचनाले भीडलाई हिंसातर्फ मोड्यो?

नेपालको जेनजी पुस्ता जागरूक छ, आवाज उठाउन डराउँदैन। यो लोकतन्त्रका लागि आशाको सङ्केत हो। तर यही पुस्ता सबैभन्दा धेरै सूचना (र गलत सूचना) को बीचमा छ। सामाजिक सञ्जालले दिएको सूचनाले संसारमा सत्य र अफवाहबीचको दूरी खतरनाक रूपमा घटाएको छ। प्रतिक्रिया सत्य स्थापित हुनु भन्दा निकै छिटो आउँछ।

यही सन्दर्भमा गौरी बहादुर कर्की आयोगको छानबिन केवल प्रशासनिक प्रक्रिया होइन; यो लोकतन्त्रको परीक्षा हो। यसले स्पष्ट गर्नुपर्छ-के भयो, कसले गर्‍यो, र किन भयो। यदि यो स्पष्ट भएन भने, हामी कथा र अनुमानको आधारमा नै दोषी तय गर्नेछौँ।

नयिराको कथाले युद्धलाई वैधता दियो। काठमाडौँको कथाले एक दिनमै शहरलाई, देशलाई जलायो। यी दुई घटनाबीच दूरी धेरै छ-तर पाठ एउटै छ: भावना शक्तिशाली हुन्छ, तर यदि त्यसलाई सत्यले मार्गदर्शन गरेन भने, त्यो विनाशकारी बन्न सक्छ।

प्रश्न सरल छ तर गहिरो: हामी कस्तो समाज बन्न चाहन्छौँ? यस्तो समाज, जहाँ कथा सुनेपछि तुरुन्तै निर्णय हुन्छ? कि यस्तो समाज, जहाँ प्रश्न गरिन्छ, प्रमाण खोजिन्छ, र सत्य नपाएसम्म निर्णय रोकिन्छ?

लोकतन्त्रमा नागरिकको सबैभन्दा ठूलो शक्ति मत होइन-विवेक हो।

र विवेक तब मात्र जीवित रहन्छ, जब हामी भावना र सत्यबीचको भिन्नता बुझ्न तयार हुन्छौँ।

(लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अधिकारकर्मी सुनिल बाबु पन्त एसियाकै पहिलो समलिङ्गी सभासद् हुन्।)

समाचार शेयर गर्नुहोस्
67
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.