काठमाडौँ – के तपाईँले नयाँ नागरिकता बनाउनुभएको छ? यदि त्यसो हो भने अब राष्ट्रिय परिचयपत्र बनाउन जाँदा तपाईँले झन्झट बेहोर्नुपर्ने छैन। नयाँ नागरिकता लिएका नागरिकले राष्ट्रिय परिचयपत्र बनाउँदा अब छुट्टै फारम भर्नु, शुल्क तिर्नु र लामो लाइन बस्नुपर्ने बाध्यता हटाइएको छ।
पहिले राष्ट्रिय परिचयपत्रका लागि छुट्टै फारम भरेर शुल्क तिर्नुपर्ने र घण्टौँसम्म लाइन बस्नुपर्ने झन्झटिलो प्रक्रिया थियो। यसले नागरिकलाई समय, श्रम र अतिरिक्त खर्च बेहोर्न बाध्य बनाएको थियो। तर अब यो प्रक्रिया सरलीकरण गरिएको छ, जसअनुसार प्रि–इनरोलमेन्ट फारम नभरीकनै नागरिकता नम्बरका आधारमा राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको गृह मन्त्रालयले जनाएको छ।
नेपाल सरकारको डिजिटल सुशासन र प्रशासनिक सरलीकरण अभियानअन्तर्गत जिल्ला प्रशासन कार्यालय, ललितपुरबाट यस सेवाको उद्घाटन गरिएको हो। अब ७७ वटै जिल्लाबाट नागरिकता नम्बरकै आधारमा, कुनै छुट्टै पूर्व–दर्ता फारम नभरी, राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिई सोही प्रक्रियाबाट परिचयपत्र प्राप्त गर्न सकिनेछ।
उक्त सेवाको आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालले शुभारम्भ गरेका हुन्। वर्षौँदेखि नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि छुट्टाछुट्टै प्रक्रिया पूरा गर्नुपर्ने, फारम भर्नुपर्ने र समय खर्चिनुपर्ने अवस्थालाई अन्त्य गर्दै सेवा प्रवाहलाई सरल, छरितो र नागरिकमैत्री बनाइएको उनले बताए।
गृहमन्त्री अर्यालले नागरिक सेवा प्रवाहमा सुधार र सुशासन प्रवर्द्धनका लागि एनआइडी इन्ट्रिग्रेसन उपयोगी र सान्दर्भिक रहेको उल्लेख गरे। उनका अनुसार यो परिवर्तित प्रणाली डिजिटल सुशासनको महत्त्वपूर्ण मानक हो र एकीकृत डिजिटल परिचय प्रणाली प्रवर्द्धनतर्फ सरकारको महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ।
नयाँ व्यवस्था अनुसार जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने नेपाली नागरिकहरूले अब राष्ट्रिय परिचयपत्रका लागि छुट्टै अनलाइन पूर्व–दर्ता (प्रि–इनरोलमेन्ट) फारम भर्नु नपर्ने भएको छ। यसले सेवा प्रवाहलाई अझ सरल, छरितो तथा नागरिकमैत्री बनाएको मन्त्रालयको दाबी छ।
यो सेवा केन्द्रीय नागरिकता व्यवस्थापन सूचना प्रणाली (सिसिएमआइएस) र राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली (एनआइडीएमआइएस) बीच एपिआईमार्फत गरिएको अन्तर–आबद्धताबाट सम्भव भएको हो।
अब नागरिकताको प्रमाणपत्र प्राप्त गरेकै दिन सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा राष्ट्रिय परिचयपत्र विवरण दर्ता केन्द्रमा नागरिकको ११ अङ्कको नागरिकता नम्बर प्रविष्ट गरेपछि आवश्यक विवरण स्वतः सिसिएमआइएसबाट एनआइडीएमआइएसमा स्थानान्तरण हुन्छ। त्यसपछि औँठाछाप, आँखा (आईरिस), फोटो तथा हस्ताक्षरजस्ता जैविक विवरण सङ्कलन गरी राष्ट्रिय परिचयपत्र दर्ता प्रक्रिया सम्पन्न गरिन्छ।
देशभर दैनिक करिब आठ हजारदेखि नौ हजारसम्म नागरिकता प्रमाणपत्र जारी हुने अवस्थालाई ध्यानमा राख्दै यो प्रणाली लागू गरिएको हो। यसमार्फत ठूलो सङ्ख्यामा नागरिकहरूले नागरिकता प्राप्त गर्ने दिनमै राष्ट्रिय परिचयपत्रमा दर्ता हुने सुविधा पाउनेछन्। यसले सेवा लिने समय घटाउने, पुनः कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गर्ने र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
सोही अवसरमा जिल्ला प्रशासन कार्यालय, ललितपुरबाट नागरिकताको प्रमाणपत्र प्राप्त गरेकै दिन राष्ट्रिय परिचयपत्र सेवा प्राप्त गर्ने पहिलो नागरिकलाई परिचयपत्र हस्तान्तरण गरिएको थियो। गृहमन्त्री अर्यालले उक्त परिचयपत्र हस्तान्तरण गरेका हुन्।
यस प्रणाली लागू हुनुअघि नागरिकता प्राप्त गरिसकेका नागरिकहरूले भने विद्यमान अनलाइन पूर्व–दर्ता प्रणालीमार्फत नै राष्ट्रिय परिचयपत्रमा दर्ता गर्न सक्नेछन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.