दुबई – मुस्लिम समुदायको ईद-उल-फ़ित्रको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली रक्तदाता सङ्घको भगिनी संस्था नेपाली रक्तदाता सङ्घ यूएईले मार्च २२ मा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। दुबई हेल्थ अथरिटी (डीएचए) सँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको अन्तर्राष्ट्रिय नेपाली रक्तदाता सङ्घका कोषाध्यक्ष तथा नेपाली रक्तदाता सङ्घ युएईका संरक्षक सुनिलराज श्रेष्ठले बताए।
मुस्लिम धर्मग्रन्थ कुरानका अनुसार, प्रत्येक व्यक्तिले एक वर्षभित्रको बचतको करिब साढे दुई प्रतिशत नगद वा जिन्सी दान (जकात) गर्नु पर्ने हुन्छ। यसरी दान गरिएका सामान दीन दुःखी र गरिबलाई बाँडिन्छ। इद–उल–फित्रमा प्रत्येकले आफ्नो गच्छे अनुसार दिने गर्दछन् सोही अनुरूप रक्तदाताले पनि आफ्नो रगत दान दिएर पूण्य कमाएको श्रेष्ठले बताए।
विभिन्न पेसामा कार्यरत नेपाली समुदायका व्यक्तिहरू, संस्थाका पदाधिकारीहरू, सदस्यहरू,, व्यवसायी, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरका सामाजिक संस्था एवं वैचारिक सङ्घ संस्थाका पदाधिकारीहरू मध्य पूर्वका वर्तमान परिस्थितिको कारण सोचे अनुसार रक्तदाताको उपस्थित नभए पनि १०० भन्दा बढीको उपस्थितिमा ६२ जनाले दर्ता गराएको भए पनि ५४ जनाले रक्तदान गरेको अध्यक्ष वासुदेव ढुङ्गानाले बताए।

सर्वोत्कृष्ट मानवीय सेवाबाट अभिप्रेरित भई ‘रक्तदान जीवन दान’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै स्वस्थ रगत सङ्कलन कार्यमा सहयोग पुर्याउने उद्देश्यका साथ यो पाँचौँ पटक भव्य र सभ्य तरिकाले रक्तदान कार्यक्रम सम्पन्न गरेको संयोजक जगन अधिकारीले बताए।
साथ साथै अधिकारीले मध्यपूर्वमा चलेको भयानक युद्धको कठिन चपेटामा फसेको बेला मानिसहरू त्रसित भएर पनि समय निकालेर टाढा टाढाबाट सहभागी भई रक्तदान गरेकोमा धन्यवाद तथा आभार व्यक्त गरे।
कार्यक्रमलाई यूएई स्थित विभिन्न व्यवसायीक सङ्घ संस्थाले आर्थिक सहयोग गरेका थिए। दुबई हेल्थ अथरिटीले अहिलेको प्रतिकुल अवस्थामा धेरै सङ्घ संस्थाहरूबाट पूर्व निर्धारित कार्यक्रमहरू स्थगित गरिएको भए पनि नेपाली रक्तदाता सङ्घ युएइले पूर्वनिर्धारित कार्यक्रम गरेर कार्यक्रम सफल बनाएकोमा आभार प्रकट गरेको थियो।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.