काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र व्यापक शुद्धीकरण र संरचनात्मक परिवर्तनका लागि ‘ग्रान्ड रिफर्म’ (वृहत् सुधार) को योजना अघि सारेका छन्।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामको नैतिक जिम्मेवारी लिँदै दिएको राजीनामा केन्द्रीय समितिले अस्वीकृत गरेपछि पहिलो पटक मङ्गलवार पार्टी केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले अबको यात्रा महाधिवेशन र पार्टी पुनर्जागरणतर्फ केन्द्रित हुने उद्घोष गरे।
पार्टीको ‘ग्राण्ड रिफर्म’: शुद्धीकरण र पुनर्जागरण
पार्टीको आन्तरिक जीवनका बारेमा बोल्दै थापाले कांग्रेसमा अब ‘सानो सुधार होइन, ग्राण्ड रिफर्म’ चाहिएको बताए। उनले सत्ताका लागि गरिने सिद्धान्तहीन सम्झौता र राज्यशक्तिको दुरुपयोग जस्ता ‘मैला पातहरू’ अब हटाउनुपर्ने बेला आएको उल्लेख गरे।
पार्टीको भद्दा संरचनाले यसको मौलिकता थिचिएको भन्दै उनले चार पुस्ताको विविधतालाई कांग्रेसको शक्तिमा बदल्नुपर्ने धारणा राखे। पार्टीलाई केवल ‘इलेक्सन मेसिन’ मात्र नबनाई एक जीवन्त सामाजिक आन्दोलनका रूपमा पुनर्जागृत गर्ने उनको सङ्कल्प छ।
उनले निर्वाचनको हारको जिम्मेवारी लिँदै आफू ‘टिमको क्याप्टेन’ भएको नाताले जबाफदेहिताबाट नभाग्ने स्पष्ट पारे।
राजीनामा, जबाफदेहिता र केन्द्रीय समितिको निर्णय
सभापति थापाले निर्वाचन परिणाम लगत्तै उपसभापति विश्वप्रकाश शर्मासमक्ष बुझाएको राजीनामाका सम्बन्धमा बोल्दै यो कुनै हताश मानसिकता नभई राजनीतिक जबाफदेहिताको कसी भएको बताए। उनले भने, ‘म यो टिमको क्याप्टेन हुँ र मेरो नेतृत्वमा हामी निर्वाचनमा गएका हौँ, त्यसैले हारको जिम्मेवारी मैले लिनुपर्छ भन्ने मेरो दृढ निष्कर्ष थियो।’
यद्यपि, केन्द्रीय समितिले विशेष महाधिवेशनबाट आएको नेतृत्वले नै बाँकी जिम्मेवारी पूरा गर्नुपर्ने निर्णय गरेपछि उनले समितिको निर्णयलाई सम्मान गर्दै नयाँ अध्यायको प्रारम्भ भएको घोषणा गरे।
थापाले अब राजीनामाको अध्याय समाप्त भएको र पार्टीलाई १५ औँ महाधिवेशनतर्फ डोर्याउने जिम्मेवारी आफ्नो काँधमा आएको बताए।
२०४६ पछिका भ्रष्टाचार काण्ड र सम्पत्ति छानबिनको माग
सुशासनका सन्दर्भमा सभापति थापाले आक्रामक प्रस्ताव अघि सारेका छन्। उनले २०४६ सालको जनआन्दोलनपछि सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न उच्च स्तरीय आयोग गठन गर्नुपर्ने माग गरे।
‘गलत ढङ्गले आर्जन गरिएको सम्पत्ति जफत गरिनुपर्छ, यो हाम्रो प्रतिज्ञा पत्रको मुख्य बुँदा हो’, उनले भने। गिरीबन्धु, ललिता निवास, वाइडबडी जस्ता चर्चित प्रकरणहरू अब सार्वजनिक खपतको विषय मात्र नभई‘दूधको दूध पानीको पानी’ हुनुपर्ने र दोषीले सजाय पाउनुपर्नेमा उनले जोड दिए। उनले नयाँ सरकारले यस्ता काण्डहरूको निष्पक्ष अनुसन्धान गरेमा कांग्रेसको पूर्ण साथ रहने प्रतिबद्धतासमेत व्यक्त गरे।
संविधान संशोधन र राष्ट्रिय सहमतिको पहल
संविधानका आधारभूत पिलरहरूलाई नचलाई सुशासन र प्रभावकारिताका लागि संविधान संशोधन गर्नुपर्ने प्रस्ताव थापाले राखेका छन्। यसका लागि कांग्रेसले एक वरिष्ठ नेताको संयोजकत्वमा विज्ञहरू सम्मिलित समिति बनाउने र उक्त समितिले पार्टीभित्र, संसद्का दलहरू र संसद् बाहिरका शक्तिहरूसँग समेत छलफल गरी राष्ट्रिय सहमति निर्माण गर्ने योजना सुनाए।
समावेशीकरण, सामाजिक न्याय र युवाको अधिकारलाई अझ सुदृढ बनाउँदै संविधानलाई समयसापेक्ष परिमार्जन गर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेल्ने उनको दाबी छ।
डिजिटल सदस्यता र ‘ल्याटरल इन्ट्री’ को व्यवस्था
सदस्यता प्रणालीमा आमूल परिवर्तन गर्दै आगामी वैशाख १ गतेबाट सबै क्रियाशील सदस्यको नयाँ ढङ्गले अभिलेखीकरण र अद्यावधिक गरिने थापाले जानकारी दिए। अब प्रत्येक सदस्यले ‘काँग्रेस आइडी’ पाउनेछन् र सबै प्रक्रिया डिजिटल हुनेछ।
यस्तै, विभिन्न पेसा र व्यवसायमा रहेका विज्ञहरूलाई पार्टीको नेतृत्वमा ल्याउन ‘ल्याटरल इन्ट्री’ (पार्श्व प्रवेश) को ढोका खोलिने उनले बताए। शुभेच्छुक संस्थाहरूबाट महाधिवेशन प्रतिनिधि आउने पुरानो व्यवस्था खारेज गरी विज्ञहरूलाई सिधै नीति निर्माण र नेतृत्वमा सहभागी गराइने नयाँ विधानको व्यवस्था कार्यान्वयन गरिने उनको प्रस्ताव छ।
कांग्रेस लिडरसिप एकेडेमी र अनिवार्य प्रशिक्षण
सार्वजनिक जिम्मेवारीमा जान चाहने नेताहरूका लागि थापाले ‘कांग्रेस लिडरसिप एकेडेमी’ को अवधारणा अघि सारेका छन्। अब स्थानीय वा प्रदेश निर्वाचनमा उम्मेदवार बन्न चाहने व्यक्तिले अनिवार्य रूपमा एकेडेमीको पाठ्यक्रम अनुसार प्रशिक्षण लिनुपर्नेछ। ‘मेयर वा वडाध्यक्ष बन्न चाहनेले पब्लिक पोलिसी, अर्थतन्त्र र सुशासनका बारेमा तोकिएको घण्टा क्लास लिनैपर्छ’, उनले भने।
यसले पार्टीका उम्मेदवारहरूलाई शासकीय क्षमतामा अब्बल बनाउने र जनताका समस्या समाधानमा प्रभावकारी भूमिका खेल्न मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे।
१५ औँ महाधिवेशनको कार्यतालिका
सभापति थापाले आगामी २०८३ भदौमा १५औँ केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी विस्तृत कार्यतालिका प्रस्ताव गरेका छन्।
प्रस्तावित तालिकाअनुसार २०८३ वैशाखमा वडा तहमा क्रियाशील सदस्यता वितरण र अद्यावधिक गरिनेछ। साउन ६ गते वडा अधिवेशन, साउन १२ गते गाउँ/नगर अधिवेशन, साउन २३ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन, साउन ३० गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन गरिनेछ।
यस्तै, भदौ ६ र ७ गते जिल्ला अधिवेशन, भदौ १५ र १६ गते प्रदेश अधिवेशन र अन्ततः २०८३ भदौ २४, २५ र २६ गते नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन सम्पन्न गरिने कार्यतालिका उनले पेस गरेका छन्।
अनुशासन र एकताको सन्देश
सभापति थापाले पार्टीको ‘गाडी’ अब अगाडि बढिसकेको र यसले कसैलाई पनि नछोड्ने बताए। निर्वाचनका बेला पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने वा रुख चिन्हमा मत नहाल्ने प्रवृत्तिलाई आफूले गम्भीरतापूर्वक ‘नोटिस’ मा लिएको उनले चेतावनी दिए।
‘पार्टीको सदस्य भएर शपथ खाएपछि उम्मेदवारलाई जिताउनु कर्तव्य हो, कसैसँग असन्तुष्टि छ भन्दैमा पार्टीलाई हराउन पाइँदैन’, उनले भने।
उनले विगतका सबै पूर्वाग्रह त्यागेर सबैलाई समेटेर अगाडि बढ्ने र कांग्रेसलाई एक भरोसायोग्य र विश्वासिलो पार्टी बनाउने प्रतिबद्धता जनाए।
सङ्घीय प्रतिपक्षको भूमिका र राष्ट्रिय राजनीति
निर्वाचनपछि नेपाली कांग्रेसले प्राप्त गरेको सङ्घीय प्रतिपक्षको भूमिकालाई सभापति थापाले विशिष्ट जिम्मेवारीका रूपमा व्याख्या गरे।
उनले नयाँ सरकार गठन गर्ने म्यान्डेट पाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई दिँदै कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिज्ञा गरे। ‘सरकारको गति बढाउन हाम्रो दबाब र प्रोत्साहन रहन्छ, तर देशलाई कुनै पनि हालतमा दुर्घटनामा पर्न दिँदैनौँ’, उनले भने।
थापाले लोकतन्त्रका आधारभूत मूल्य, प्रेस स्वतन्त्रता र न्यायपालिकाको स्वायत्ततामा कुनै सम्झौता नहुने र कांग्रेसले ‘भिजिलेन्ट’ (सतर्क) भएर पहरेदारी गर्ने स्पष्ट पारे।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.