कांग्रेस महाधिवेशनको प्रस्तावित तालिका हेरफेर

कांग्रेस महाधिवेशनको प्रस्तावित तालिका हेरफेर

68
SHARES

काठमाडौँ – नेपाली कांग्रेसले १५औँ महाधिवेशनको मिति र विस्तृत कार्यतालिका सार्वजनिक गर्दै औपचारिक रूपमा प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

२०८२ पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष केन्द्रीय महाधिवेशनले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति विघटन गर्दै १५औँ महाधिवेशन सम्पन्न नभएसम्मका लागि गगनकुमार थापाको सभापतित्वमा केन्द्रीय कार्यसमिति गठन गरेको थियो।

विशेष महाधिवेशनले २०८३ साल मंसिर २३ गतेभित्र पार्टीका सबै तह र निकायका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन सम्पन्न गर्नुपर्ने म्यान्डेट दिएको थियो। केन्द्रीय कार्यसमितिको बैठकले १५औँ महाधिवेशन २०८३ असोज १६, १७, १८ र १९ गते काठमाडौँमा गर्ने निर्णय गरेको हो।

बैठकले विशेष महाधिवेशनको निर्णय तथा नेपाली कांग्रेसको विधान, २०१७ को धारा ४३ बमोजिम १५औँ महाधिवेशन सम्पन्न नभएसम्म पार्टीका तह तथा निकायको पदावधि कायम रहने पनि स्पष्ट गरेको छ।

बैठकले प्रस्तावित महाधिवेशन कार्यतालिका संशोधनसहित पारित गरेको छ। कार्यतालिकाअनुसार क्रियाशील सदस्यता वितरण तथा अद्यावधिक विशेष अभियान २०८२ चैत २१ देखि चैत मसान्तसम्म सञ्चालन हुनेछ। केन्द्रबाट सदस्यता फाराम वडा तहसम्म पठाइने र १६५ वटै क्षेत्रमा प्रतिनिधि खटाइनेछ।

२०८३ वैशाख १ देखि मसान्तसम्म ६७४३ वटै वडाबाट सदस्यता वितरण तथा अद्यावधिक गरिनेछ भने प्रत्येक सदस्यले आफू सदस्य भएको वडामै अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ। सबै वडा र क्षेत्रीय कार्यसमितिलाई आइडी र पासवर्ड उपलब्ध गराइनेछ र वैशाखभरि वडामा एक महिने सदस्यता अद्यावधिक अभियान सञ्चालन गरिनेछ।

यस्तै, २०८३ जेठ १ देखि १५ गतेसम्म सदस्यता विवरण प्रतिनिधिसभा क्षेत्र र जिल्लामा पठाइनेछ। जेठ मसान्तसम्म क्षेत्र र जिल्लाबाट सदस्यता विवरण केन्द्रमा पठाइसक्नुपर्नेछ भने जेठ २५ भित्र इन्ट्री गरी केन्द्रमा पठाउने र उजुरी परेका विषयमा छानबिन गरी जेठ मसान्तसम्म टुङ्गो लगाइनेछ।

केन्द्रले २०८३ असार १५ भित्र सदस्यतासम्बन्धी आवश्यक छानबिन गरी अन्तिम टुङ्गो लगाउनेछ। प्रारम्भिक छानबिन समितिको निर्णयविरुद्ध परेका पुनरावेदन, विवादित स्थानको पहिचान तथा अध्ययनपछि सदस्यता व्यवस्थापन केन्द्रीय समितिले अन्तिम सूची केन्द्रीय कार्यसमितिलाई बुझाउनेछ।

असार मसान्तभित्र अद्यावधिक क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाइनेछ। केन्द्रीय सभापतिबाट प्रमाणित अन्तिम सूची प्रक्रिया सुरु हुनुअघि निर्वाचन समितिलाई उपलब्ध गराइनेछ र निर्वाचन समितिले विधानको धारा ३५(२)(च) अनुसार विस्तृत निर्वाचन क्यालेन्डर बनाउनेछ।

नेपाली जनसम्पर्क समिति अधिवेशन २०८३ साउन मसान्तभित्र सम्पन्न गरिनेछ। असार मसान्तभित्र सदस्यता सूची केन्द्रमा पठाइने, साउन १० भित्र स्वीकृत गरिने र साउन मसान्तभित्र अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरिएको छ।

वडा अधिवेशन २०८३ भदौ २ गते ६७४३ वटै वडामा सम्पन्न हुनेछ। त्यसपछि गाउँ–नगरपालिका अधिवेशन भदौ ७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन भदौ १७ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एकमात्र क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन भदौ २४ गते हुनेछन्।

जिल्ला अधिवेशन असोज २ र ३ गते, प्रदेश अधिवेशन असोज ७ र ८ गते र अन्ततः केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा सम्पन्न हुनेछ।

बैठकले केन्द्रीय निर्वाचन समिति गठन गर्ने निर्णयसमेत गरेको छ। विशेष केन्द्रीय महाधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिलाई धन्यवाद दिँदै विधान २०१७ (संशोधनसहित) को धारा ३५(१) बमोजिम १५औँ महाधिवेशनका लागि नयाँ केन्द्रीय निर्वाचन समिति गठन गरिने भएको हो।

केन्द्रीय सभापतिले नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता प्रेमबहादुर खडकालाई संयोजकको रूपमा प्रस्ताव गरेकोमा उनको नाम अनुमोदन गरिएको छ। साथै केन्द्रीय निर्वाचन समितिका चार जना सदस्य चयन गरी नियुक्त गर्ने अधिकार केन्द्रीय सभापति गगनकुमार थापालाई प्रदान गरिएको छ।

समाचार शेयर गर्नुहोस्
68
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.