"/>
काठमाडौँ – जेनजी आन्दोलनको रापतापमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सदस्यहरूले शपथ ग्रहण गरेका छन्। ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले २७४ सदस्यलाई पद तथा गोपनीयताको शपथ गराए।
केसीले बुधवार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ज्येष्ठ सदस्यको शपथ लिएका थिए। सभामुख चयन नभएसम्म ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्नेछन्।
२७५ सदस्यीय प्रतिनिधिसभामा झन्डै दुई तिहाइ बहुमत अर्थात् १८२ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी शपथ ग्रहणसँगै सरकार निर्माणमा जुटेको छ। रास्वपाले सांसदको शपथ लिए लगत्तै सर्वोच्च अदालत पुगेर अवहेलना मुद्दामा तारेख बुझेका बालेन्द्र शाह ‘बालेन’लाई संसदीय दलको नेता चुनेको छ।
शुक्रवार राम नवमीको दिन बालेनले राष्ट्रपति पौडेलसमक्ष प्रधानमन्त्री पदको शपथ लिनेछन्। जेनजी आन्दोलनका सूत्रधार बालेन शंखनाद र स्वस्तिक वाचनसहित सत्ता यात्रा सुरु गर्दैछन्। सांस्कृतिक भव्यता र आध्यात्मिक ऊर्जाबीच प्रधानमन्त्री पदको शपथ लिँदैछन्।
काठमाडौँ महानगरपालिकाको मेयरको जिम्मेवारी सम्हालेको करिब तीन वर्षमै उनी देशको केन्द्रीय सत्ताको बागडोर सम्हाल्ने स्थानमा पुगेका हुन्। बालेन २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा उदाएका नेता हुन्।
जेनजी आन्दोलनबाट सिर्जित राजनीतिक उथलपुथल, सुशासनको माग, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने दबाब, बेथिति र विसङ्गति अन्त्य गर्नुपर्ने जनआवाज, तथा सार्वजनिक सेवा लाइनमा होइन अनलाइनमार्फत सरल, छिटो र पारदर्शी बनाउने मूल एजेन्डाहरूलाई केन्द्रमा राख्दै उत्पन्न जनआक्रोशको लहरलाई पुँजीकरण गर्दै बालेन देशको नयाँ प्रधानमन्त्री बन्न लागेका छन्।
महानगरपालिकाको गाडी रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु भन्ने चेतावनी दिएका बालेन अहिले त्यही सिंहदरबार प्रवेश गरेर शासन सञ्चालन गर्ने भूमिकामा पुगेका छन्। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन, जसले राज्यसत्ता हल्लाइदिएको थियो, त्यसको नेतृत्व र जनसमर्थन बालेनकै प्रभावमा केन्द्रित भएको जगजाहेर छ।
आन्दोलनको तीव्रता, त्यसमा देखिएको जनसहभागिता, सुशासनको स्पष्ट माग, भ्रष्टाचारविरुद्धको आक्रोश र राजनीतिक असन्तुष्टिको विस्फोटले देशको शक्ति समीकरण नै परिवर्तन गरिदियो।
जाँचबुझ आयोगको प्रतिवेदनमा भने बालेनले आफूले शान्तिपूर्ण र्यालीलाई मात्र समर्थन गरेको बयान दिएका छन्। आन्दोलनका क्रममा भीड अनियन्त्रित बन्दा, मानवीय तथा भौतिक क्षति हुँदा उनले त्यसको प्रत्यक्ष जिम्मेवारीबाट आफूलाई अलग राख्न खोजेका छन्।
तर, यही आन्दोलनमार्फत पुराना दलका कमजोरी, भ्रष्टाचार, कुशासन, सेवा प्रवाहमा भएको ढिलासुस्ती र असफलतालाई उजागर गर्दै उनले व्यापक जनसमर्थन बटुलेका थिए। अन्ततः बालुवाटारबाट पुराना शक्ति केन्द्रलाई विस्थापित गर्दै उनी स्वयं त्यही कुर्सीमा पुग्न सफल भए।
बालेन, हिजोसम्म सामाजिक सञ्जाल र जनदबाबमार्फत पुराना नेताहरूको आलोचना गर्ने पात्र, आज राज्य सञ्चालन गर्ने प्रमुख कार्यकारी भूमिकामा पुगेका छन्। महानगर प्रमुखबाट एकैपटक देशको प्रधानमन्त्री बन्ने उनको यात्रा असामान्य र ऐतिहासिक मानिएको छ।
भदौ २३ र २४ का घटनालाई अराजक भिडको संज्ञा दिनेहरूलाई समेत उनले निर्वाचनमार्फत वैधानिक जवाफ दिएका छन्। प्रधानमन्त्रीको कुर्सीमा आसीन हुन बालेनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नमिठो पराजय चखाइदिए। लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुँदै सत्ताको भर्याङ उक्लिनु उनको राजनीतिक वैधताको महत्त्वपूर्ण आधार बनेको छ।
तर, यो यात्रा सहज थिएन। जेनजी आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाए। राज्यका ऐतिहासिक धरोहरहरू ध्वस्त भए, कतिपय सरकारी संरचना र निजी सम्पत्तिमा आगजनी तथा तोडफोड भयो। मन्त्री तथा नेताहरूका निवास लक्षित हमलामा परे, निजी क्षेत्रले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्यो। आन्दोलनको उग्रताका कारण कतिपय नेताहरू ज्यान जोगाउँदै भाग्नुपर्ने अवस्था सिर्जना भएको थियो। यसले देशको राजनीतिक, सामाजिक र आर्थिक संरचनामा गहिरो धक्का पुर्यायो।
देशमा बढ्दो बेथिति, विसङ्गति, कुशासन, सेवा प्रवाहमा देखिएको असहजता र सार्वजनिक सेवामा लाइनमा बस्नुपर्ने बाध्यतालाई अन्त्य गरी प्रविधिमार्फत अनलाइन प्रणाली लागू गर्ने प्रतिबद्धताप्रति जनताको गहिरो असन्तुष्टिलाई रास्वपाले चुनावमार्फत आफ्नो पक्षमा रूपान्तरण गर्यो। अब त्यही जनआकाङ्क्षालाई सम्बोधन गर्ने जिम्मेवारी बालेन शाहको काँधमा आएको छ।
जनताले उठाएका प्रश्न-सुशासन कायम गर्ने, पारदर्शिता स्थापित गर्ने, भ्रष्टाचार नियन्त्रण गरी दोषीलाई कारबाही गर्ने, बेथिति र विसङ्गति अन्त्य गर्ने, तथा सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यमबाट सहज, छिटो र प्रभावकारी बनाउने अब व्यवहारमा कार्यान्वयन गर्नुपर्ने चुनौती उनका सामु ठाडो रूपमा उभिएको छ।
बालेनको सत्तायात्रामा तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीको भूमिकालाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ। कार्कीले पुराना दलका नेतृत्वलाई पुनः सत्ता सुम्पन आफू तयार नरहेको अभिव्यक्ति सार्वजनिक रूपमा दिएकी थिइन्। बालेनकै सार्वजनिक अभिव्यक्ति र सामाजिक सञ्जालमा व्यक्त धारणा राजनीतिक दबाबका रूपमा उभिएपछि कार्की प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन्।
अन्ततः उनले आफ्नै अडानअनुसार पुरानो राजनीतिक शक्ति संरचनालाई निरन्तरता नदिई सत्ता हस्तान्तरणको मार्ग रोजिन्। कार्कीले आफ्नो कार्यकालमा सङ्क्रमणकालीन अवस्थालाई व्यवस्थापन गर्दै निर्वाचन सम्पन्न गराइन् र परिणामलाई स्वीकार गर्दै शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गरिन्।
आन्दोलनबाट उत्पन्न उग्र ऊर्जा, सुशासनको माग, भ्रष्टाचारविरुद्धको दबाब, सेवा प्रवाहमा सुधारको अपेक्षा तथा डिजिटल शासनको एजेन्डालाई उनले संस्थागत प्रक्रियामा रूपान्तरण गरिदिइन्।
बालेनको राजनीतिक उदय केवल सडक आन्दोलनको परिणाम मात्र नभई, सुशासन, प्रणाली सुधार, अनलाइन सेवा प्रवाह, प्रशासनिक सरलीकरण र उत्तरदायी शासनको वाचासहित सत्ता हस्तान्तरणको योजनाबद्ध व्यवस्थापनसँग पनि जोडिएको देखिएको छ।
अब प्रश्न उठेको छ-आन्दोलनको रापतापमा सत्तामा पुगेका बालेनले के वास्तवमै परिवर्तन दिन सक्छन् ? जनताको अपेक्षा उच्च छ, सुशासन र परिणाममुखी शासनको माग स्पष्ट छ, तर चुनौतीहरू त्यत्तिकै जटिल छन्। आन्दोलनको ऊर्जा, चुनावी बाचापत्रका प्रतिबद्धता, डिजिटल नेपाल निर्माणको लक्ष्य, सेवा प्रवाहको अनलाइन प्रणाली, भ्रष्टाचार नियन्त्रणको कडाइ र जनआकाङ्क्षालाई प्रभावकारी शासनमा रूपान्तरण गर्ने क्षमता नै उनको नेतृत्वको वास्तविक परीक्षा हुनेछ।
बालेन सरकारलाई स्वागत गर्न प्रधानमन्त्री कार्की आतुर रहेकी छन्। प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै नयाँ सरकारलाई स्वागत गर्न आतुर रहेको बताएकी हुन। चुनाव सम्पन्न गराएकी प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मेवारी नयाँ सरकारलाई सुम्पेकी छन्।
जेनजी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु र करिब ८४ अर्बको भौतिक क्षति व्यहोरेको देशले अब स्थायित्व, सुशासन र पुनर्निर्माणको अपेक्षा गरेको छ।
तोकिएको कुनै दलले बहुमत प्राप्त गर्न सक्दैन भन्ने भाष्यलाई रास्वपाले गलत साबित गरिदिएको छ, र अब प्राप्त जनादेशलाई परिणाममा रूपान्तरण गर्नु बालेन नेतृत्वको प्रमुख जिम्मेवारी बनेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.