"/>

संसदमा बादल विस्फोट, राज्य संयन्त्रमाथि प्रश्नैप्रश्न

संसदमा बादल विस्फोट, राज्य संयन्त्रमाथि प्रश्नैप्रश्न

117
SHARES

काठमाडौँ – १० वर्षे सशस्त्र जनयुद्धका पूर्वमाओवादी सैन्य कमान्डर तथा हाल नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान राजनीतिक अवस्थाबारे कडा अभिव्यक्ति दिएका छन्। जनयुद्धकालमा माओवादी सैन्य संरचनाको नेतृत्व तहमा रहँदै सशस्त्र सङ्घर्षको रणनीतिक कमान्ड सम्हालेका बादल अहिले संसदीय राजनीतिमा एमालेको प्रमुख नेताको भूमिकामा छन्।

बादलले जेनजी आन्दोलनलाई ‘रङ्ग क्रान्ति’को संज्ञा दिएका छन् भने फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा चुनावी परिणामलाई ‘निलो क्रान्ति’ बताएका छन्।

उनले यो क्रान्तिको नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई व्यङ्ग्यात्मक शैलीमा बधाई दिएका छन्। प्रतिनिधिसभाको पहिलो अधिवेशनको प्रारम्भमै उनले जेनजी आन्दोलनबारे विस्फोटक अभिव्यक्ति दिएका हुन्।

उनका अनुसार नेपालमा भदौ २३ र २४ गते अवैधानिक ढङ्गबाट रास्वपाको अघोषित नेतृत्वमा रङ्ग क्रान्ति सफलतापूर्वक सम्पन्न भएको थियो। उनी बुधवार मात्रै नेकपा एमाले संसदीय दलको नेतामा सर्वसम्मत रूपमा चयन भएका थिए।

संसदमा दलका नेताका रूपमा सम्बोधन गर्दै उनले फागुन २१ गते आम निर्वाचनमार्फत निलो क्रान्तिलाई वैधानिकता प्रदान गरिएको र चैत १३ गते भव्य धार्मिक अनुष्ठानसहित बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ ग्रहण गराइएको उल्लेख गरे। उनले यसलाई ऐतिहासिक विजय भन्दै रास्वपा तथा प्रधानमन्त्री बालेन्द्र शाहलाई एमालेका तर्फबाट बधाई व्यक्त गरे।

यो अभूतपूर्व विजयमा आन्तरिक रूपमा कस–कसको निर्णायक भूमिका रह्यो भन्ने प्रश्न उठाउँदै उनले तथ्यहरूले मुख्यतः नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, बारबरा फाउन्डेसन, विभिन्न एनजिओ लगायत संस्था तथा पात्रहरूको निर्णायक भूमिका रहेको देखाएको दाबी गरे। उनले ती सबैलाई एमालेका तर्फबाट बधाई समेत दिए।

बाह्य रूपमा कस–कसले भूमिका खेले भन्ने सन्दर्भमा उनले अदृश्य शक्तिहरू, टिओबी, एआई, एल्गोरिदम र ‘गोयबल्स’ शैलीका प्रचार संयन्त्रहरू सक्रिय रहेको आरोप लगाए। उनका अनुसार यिनै शक्तिहरूले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, शान्ति र समृद्धिका पक्षधरहरूलाई खलनायकका रूपमा चित्रित गरेको र देश जलाउने तथा राष्ट्रिय पहिचान मेटाउने तत्त्वहरूलाई महानायक बनाएको दाबी गरे।

यो पनि : बादलको विवादित अभिव्यक्तिमा एमालेले समीक्षा गर्ने

बादलले यो चमत्कारिक विजयले गम्भीर प्रश्नहरू जन्माएको बताएका छन्। उनले सिंहदरबार, शीतल निवास, बालुवाटार, सर्वोच्च अदालत, राजनीतिक नेतृत्वका निवास, प्रहरी चौकी तथा व्यावसायिक प्रतिष्ठानहरू सुनियोजित रूपमा जलाइएको भन्ने प्रश्न उठाए। साथै अबोध विद्यार्थीलाई निषेधित क्षेत्र तोड्न कसले उक्सायो, २३ र २४ गते हतियारबद्ध टिओबीहरू कसरी प्रकट भए भन्ने विषयमा पनि उनले प्रश्न गरे।

उनले गैरकानुनी रूपमा पूर्वप्रधानमन्त्री र गृहमन्त्रीलाई गिरफ्तार गरिएको, राजनीतिक नेतृत्वलाई पक्राउ गर्ने प्रपञ्च रचिँदै गएको, देशव्यापी रूपमा दमनचक्र र राज्यआतंक मच्चाइएको तथा विद्यार्थी र पेसाकर्मीहरूको सङ्गठित हुने मौलिक अधिकार खोसिएको आरोप लगाए।

मिडिया ट्रायल र साइबर आतङ्क सिर्जना गरिएको भन्दै उनले यी सबै प्रश्नहरूको जवाफ भविष्यले दिने बताए। उनले यी प्रश्नहरूलाई राज्यसमक्ष निरन्तर उठाइरहने र सदनमा आवाज घन्काइरहने चेतावनी दिए।

उनले यो विजयले पराजित पक्षलाई गम्भीर शिक्षा दिएको र आफ्ना कमजोरी सच्याउने अवसर प्रदान गरेको बताए। पराजय अस्थायी हुने र पराजित शक्ति छिट्टै पुनः सशक्त भएर फर्किने दाबी पनि उनले गरे।

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि बादलले कार्यवाहक अध्यक्षको जिम्मेवारीसमेत सम्हालेका छन्। सोही सन्दर्भमा उनले संसदमा जेनजी आन्दोलनबारे कडा अभिव्यक्ति दिएका हुन्।

काठमाडौँ जिल्ला अदालतले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप दुई दिन थुनामा राख्न अनुमति दिएको छ। न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले लेखकको बयान सकिएको र ओलीको बयान जारी रहेको भन्दै म्याद थप गर्ने आदेश दिएको हो। यसअघि अदालतले पाँच दिनको म्याद थप गरिसकेको थियो।

सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले भने पर्सा जिल्ला अदालतबाट वारेसमार्फत मुद्दा लड्न पाउने अनुमति पाएका छन्। सानो पाइला बचत तथा ऋण सहकारी ठगी मुद्दामा न्यायाधीश सुमनकुमार न्यौपानेको इजलासले उनको मागअनुसार वारेस राख्न अनुमति दिएको हो।

यससँगै लामिछाने अब तारेखका लागि पर्सा अदालत धाइरहनु नपर्ने भएको छ। उनले बुधवार अदालत पुगेर तारेख बुझ्दै वारेसको माग गरेका थिए। पर्साको सानो पाइला सहकारी ठगी प्रकरणमा उनीविरुद्ध मुद्दा दायर छ।

समाचार शेयर गर्नुहोस्
117
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.