सभामुखमा रास्वपाका अर्यालको मात्र उम्मेदवारी

सभामुखमा रास्वपाका अर्यालको मात्र उम्मेदवारी

250
SHARES

काठमाडौँ – फागुन २१ को चुनावी परिणामले प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पाइसकेको छ भने सभामुख पद पनि निर्विरोध रूपमा आफ्नै पक्षमा सुरक्षित गर्ने अवस्थामा पुगेको छ।

प्रतिनिधिसभाको सभामुखमा रास्वपाका डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित हुने भएका छन्। १८२ सदस्य रहेको रास्वपाबाट अर्यालले सभामुख पदमा उम्मेदवार मनोनयन दर्ता गराएका थिए।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाबाट उम्मेदवारको मनोनयन नहुँदा अर्याल निर्विरोध निर्वाचित हुने अवस्था बनेको हो।

सङ्घीय संसद् सचिवालयले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सभामुख पदमा ‘निर्वाचित गरियोस्’ भनी प्रस्तावको सूचना दिने समय निर्धारण गरेको थियो। सचिवालयले अर्यालको मात्र सूचना दर्ता हुन आएको जनाएको छ।

फागुन २१ को चुनावपछि प्रतिनिधिसभामा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बैठकको अध्यक्षता गर्दै आएका छन्। अब २२ चैतमा बस्ने बैठकले सभामुख चयन गरेपछि केसीले अध्यक्षता गर्न पाउनेछैनन्।

अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपा सभापति रवि लामिछाने हुन् भने समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन्।

एकजनाको मात्रै प्रस्ताव परेका कारण प्रस्तावक सदस्यहरूले २२ चैतमा बस्ने बैठकमा प्रस्ताव प्रस्तुत गर्नेछन्। समर्थन गर्ने सदस्यहरूले समर्थन जनाएपछि एक मात्रै प्रस्ताव परेको आधारमा त्यसै बैठकबाट अर्याललाई निर्विरोध निर्वाचित भएको घोषणा गरिने संसद् सचिवालयले जनाएको छ।

आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा ‘सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। अर्याल निर्विरोध निर्वाचित भएसँगै अब चैत २२ गते बस्ने बैठकले औपचारिक रूपमा सभामुख चयन प्रक्रिया टुङ्ग्याउनेछ।

समाचार शेयर गर्नुहोस्
250
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.