काठमाडौँ – पश्चिम एसियामा चर्किएको युद्धको प्रत्यक्ष असर नेपाली नागरिकहरूमा गम्भीर रूपमा देखिन थालेको छ। युद्धका कारण ३८ जना नेपालीको शव नेपाल ल्याउन नसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण खाडी तथा पश्चिम एसियाका विभिन्न मुलुकबाट ३८ जना नेपालीको शव ल्याउन समस्या भएको हो। युद्धका कारण हवाई मार्ग नियमित रूपमा सञ्चालन हुन नसक्दा विभिन्न कारणले मृत्यु भएकाहरूको शव ल्याउन अवरोध सिर्जना भएको मन्त्रालयले स्पष्ट पारेको छ।
उनीहरूको शव ल्याउनका लागि आवश्यक पहल भइरहेको र अवस्था सहज भए लगत्तै नेपाल ल्याइने परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए।
युद्धको प्रभाव केवल शव ल्याउने प्रक्रियामै सीमित छैन। पश्चिम एसियाली राष्ट्रहरूमा रहेका नेपाली नागरिकहरू पनि ठूलो संख्यामा त्रास र असुरक्षाबीच बाँच्न बाध्य भएका छन्।
८६ हजार ४२० नेपालीले उद्धारका लागि आफ्नो विवरण पेस गरिसकेका छन्। कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको वेबपोर्टलमार्फत उनीहरूले आफ्नो विवरण दर्ता गराएका हुन्।
प्रवक्ता क्षेत्रीका अनुसार पश्चिम एसियामा हाल १७ लाख २९ हजारभन्दा बढी नेपाली रहेका छन्। अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु भएपछि त्यहाँ रहेका नेपाली नागरिकहरू असुरक्षित र त्रसित बनेका छन्, जसले दीर्घकालीन रूपमा उनीहरूको रोजगारी, बसोबास र सुरक्षामा असर पार्ने सङ्केत देखिएको छ।
परराष्ट्र मन्त्रालयले तत्काल ठूलो संख्यामा रोजगारी गुम्ने जोखिम नदेखिएको जनाए पनि हस्पिटालिटी, निर्माणलगायत क्षेत्रमा असर पर्ने सम्भावना रहेको छ। युद्ध लामो समयसम्म लम्बिएमा यसको प्रभाव अझ गहिरो हुन सक्ने सङ्केत पनि देखिएको छ।
इरानी सरकारको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झा सकुशल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। ३३ वर्षीय झा हाल त्यहाँको कारागारमा रहेका छन्। मन्त्रालयका अनुसार उनी मध्यपूर्वमा तनाव सुरु हुनुभन्दा पहिले नै पक्राउ परेका हुन्।
उनी विरुद्ध जिल्ला अदालतमा मुद्दा चलिरहेको छ। मुद्दा विचाराधीन रहेकाले तत्काल थप पहल गर्न सकिने अवस्था नरहेको प्रवक्ता क्षेत्रीले जानकारी दिए।
झाको विषय अहिलेको द्वन्द्वसँग सम्बन्धित नरहेको मन्त्रालयले प्रस्ट पारेको छ। उनको अवस्थाबारे थप जानकारी सङ्कलन गर्ने र सम्बन्धित पक्षसँग निरन्तर सम्पर्कमा रहने काम भइरहेको पनि मन्त्रालयले जनाएको छ।
युद्धग्रस्त पश्चिम एसियाली देशहरूले सामाजिक सञ्जालमा फैलिने भ्रमपूर्ण सन्देशप्रति कडाइ गरेका छन्। सोही क्रममा हालसम्म ११ जना नेपाली पक्राउ परेका छन्। पक्राउ पर्नेमा युएईमा ३ जना, साउदी अरेबियामा ४ जना, कतारमा ३ जना र ओमानमा १ जना रहेका छन्।
सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने खालका फोटो तथा भिडियो सार्वजनिक गरेको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रवक्ता क्षेत्रीले बताए। ती देशहरूले यस्ता गतिविधिमा संलग्नलाई पक्राउदेखि डिपोर्टसम्मका कारबाही गर्ने चेतावनी दिएका छन्।
यता वैदेशिक रोजगार विभागले सेवा प्रवाहमा सुधार गर्दै एकै दिनमा श्रम स्वीकृति दिने व्यवस्था सुरु गरेको जनाएको छ। शुक्रवार आयोजित पत्रकार सम्मेलनमा विभागकी महानिर्देशक मिरा आचार्यले टोकन प्रणाली खारेज गर्दै एकै दिनमै श्रम स्वीकृति कार्यान्वयनमा ल्याइएको जानकारी दिइन्।
वर्तमान सरकार गठनपछि वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका साथ श्रमिकको हकहित संरक्षणका लागि विभिन्न सुधारात्मक कदम चालिएको विभागले जनाएको छ।
विभागले सूचीकृत म्यानपावर कम्पनीहरूलाई श्रमिकबाट अन्तर्वार्ताको फारम अंग्रेजी र नेपाली दुवै भाषामा अनिवार्य रूपमा भराउन निर्देशन दिएको छ। साथै, अभिमुखीकरण तालिमका नाममा सात सय रुपैयाँभन्दा बढी शुल्क लिएमा तालिम केन्द्रको इजाजत खारेज गर्ने चेतावनी पनि विभागले दिएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.