काठमाडौं – नयाँ सरकार बनेसँगै गुण्डागर्दीमा संलग्नहरू धमाधम पक्राउ पर्न थालेका छन्। प्रहरीको सक्रियतासँगै गुण्डागर्दी पृष्ठभूमिमा रहेकाहरूको भागाभाग नै भएको चर्चा छ।
गृहमन्त्री सुदन गुरुङ बनेसँगै प्रहरीको सक्रियता बढेको देखिएको छ, जसका कारण गुण्डागर्दीमा संलग्नहरू भाग्न थालेको भनाइसमेत सार्वजनिक भइरहेको छ। यही सन्दर्भमा पहिचान अनलाइनले जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं एसपी पवनकुमार भट्टराईसँग कुराकानी गरेको छ।
कुराकानीको सम्पादित अंश:
प्रश्न: गुन्डाहरू पक्राउ पर्न थाले, नेपाल प्रहरी बल्ल एक्टिभ भएको हो?
उत्तर: भदौ महिनाको जुन अवस्था थियो, त्यो अवस्थापछि नेपाल प्रहरीका धेरै संरचनाहरूमा क्षति पुगेको थियो। पहिलो चरणमा प्रहरीले आफ्ना क्षति पुगेका संरचनाहरूको पुनर्निर्माण, पुनर्सम्भार लगायत आफूलाई सबल बनाउने काममा प्राथमिकता दियौँ, पहिलो प्राथमिकता त्यही थियो।
त्यसपछि देशमा आमनिर्वाचन भयो। आमनिर्वाचनको तयारी गर्नु थियो। नेपाल प्रहरीको दोस्रो प्राथमिकता नेपाल सरकारको निर्णय, निर्वाचन आयोगको कार्यतालिका अनुसार देशमा हुन लागेको आमनिर्वाचनलाई भयमुक्त र सुरक्षित वातावरणमा सम्पन्न गराउने काममा केन्द्रित रह्यो। दोस्रो प्राथमिकीकरण त्यही भयो।
आमनिर्वाचनको समाप्तिपछि प्रहरी अब जेनरल पुलिसिङतर्फ फर्किएको छ। समाजमा संविधान, प्रहरी ऐन–नियम तथा अन्य कानुनले दिएको दायित्वअनुसार अपराध नियन्त्रण गर्ने, अपराध रोकथाम गर्ने, अपराध पत्ता लगाउने, अनुसन्धान गर्ने र आन्तरिक शान्ति–सुव्यवस्था मजबुत बनाउने मूल जिम्मेवारीमा अहिले हामी केन्द्रित भएका छौँ।
प्रश्न: मूल दायित्वमा यसअघि पनि फोकस हुँदै आएको थियो, तर यति धेरै चर्चा थिएन। सुदन गुरुङ गृहमन्त्री बनेपछि मात्रै सक्रिय भएको भन्ने कुरा कति सत्य हो?
उत्तर: संवैधानिक दायित्व, सरकारको नीति, सरकारको प्राथमिकता र निर्वाचनपछिको सुदृढीकरणले अहिलेको अवस्था आएको हो। पहिला संरचनाहरू बने, त्यसपछि निर्वाचनमा राम्रोसँग सुरक्षा प्रदान गर्न सफल भयौँ, र अहिले हामी आफ्नो मूल दायित्वमा फर्केका हौँ।
प्रश्न: यो गृहमन्त्री परिवर्तनसँगै पोलिसी फेरिएको हो कि नियमित काममै प्रहरी जुटेको हो?
उत्तर: प्रहरीका क्रियाकलापहरू जहिल्यै पनि प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय तथा ऐन–नियम र राज्यको नीतिअनुसार सञ्चालन हुन्छन्। आदेश, निर्देशन, परिचालन र स्रोत–साधन उपलब्ध गराउने काम स्वाभाविक प्रक्रिया हो। जनताको अपेक्षा, संविधान र कानुनले दिएको दायित्व पूरा गर्न नेपाल प्रहरी कटिबद्ध छ।
प्रश्न: अहिले पक्राउ परेकाहरू जेनजी आन्दोलनअगाडि नै गुण्डागर्दीमा संलग्न थिए कि पछिका हुन्?
उत्तर: व्यक्ति विशेषभन्दा पनि समग्र रूपमा हेर्नुपर्ने हुन्छ। त्यसको स्क्रिनिङ गर्दैछौँ।
प्रश्न: गुण्डागर्दी गर्नेहरूको भागाभाग भएको भनाइ पनि छ नि?
उत्तर: यो सर्वसाधारण नागरिकको अपेक्षासँग जोडिएको विषय हो। सार्वजनिक स्थानमा हुने हैरानी र दुःख कसैले भोग्न नपरोस् भन्ने अपेक्षा हो। त्यस्तो अवस्था कायम गर्नु प्रहरीको दायित्व हो, र हामी त्यही मूल दायित्वमा छौँ।
प्रश्न: आम नागरिकसँग प्रहरीको अनुरोध के छ?
उत्तर: नेपाल प्रहरीको अपराध न्यूनीकरण गर्ने नीति छ। ऐनले तोकेको सीमा, परिधि र विधिअनुसार हामी काम गर्छौँ। यसका साथै नागरिकहरूको पनि केही दायित्व हुन्छ। अपराध न्यूनीकरणका लागि कानुनी दायित्व पालना गर्ने, सूचनाहरू उपलब्ध गराउने, सचेत बन्ने, आफैँ अपराध नगर्ने र भइरहेको अपराधको जानकारी प्रहरीलाई दिनु आवश्यक छ। हाम्रो क्राइम रिडक्सन पोलिसीमा सबै नागरिकलाई सहभागी हुन आग्रह गर्दछु।
प्रश्न: अब गुण्डागर्दी गर्नेबाट डराउनुपर्दैन, प्रहरीलाई खबर गरेपछि तुरुन्तै पक्राउ हुन्छ भन्ने ग्यारेन्टी हो?
उत्तर: अपराध समाजमै उत्पन्न हुन्छ। अपराधी पनि समाजमै बस्छन् र कहिलेकाहीँ संरक्षण पनि त्यहीँबाट पाउँछन्। कुनै भ्याकुममा अपराधी हुँदैनन्। नेपाल प्रहरीका युनिटहरू गाउँगाउँ र वडावडासम्म फैलिएका छन्। निःशुल्क सूचना दिन १०० नम्बर छ, र आज सबैसँग मोबाइल छ। त्यसैले आफूले अपराध नगर्ने, आफ्नो समुदायमा अपराध भइरहेको देखेमा तुरुन्त जानकारी दिने नागरिकको भूमिका महत्त्वपूर्ण हुन्छ। हामीलाई सूचना दिनुहोस्, हामी सकेसम्म छिटो प्रहरी प्रतिक्रिया (पुलिस रेस्पोन्स) दिनेछौँ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.