थानकोट आक्रमणदेखि संसदसम्म: बिग्रेड कमाण्डर युवराजको अर्जुनदृष्टि

थानकोट आक्रमणदेखि संसदसम्म: बिग्रेड कमाण्डर युवराजको अर्जुनदृष्टि

153
SHARES

काठमाडौँ – प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद एवं नेकपाका प्रमुख सचेतक युवराज दुलालले आफ्नो राजनीतिक यात्रा र सगरमाथा आरोहण अनुभवबीच तुलना गर्दै सफलता हासिल गर्न एकाग्रता, योजना र जोखिम लिन सक्ने साहस आवश्यक पर्ने बताएका छन्।

दुलालका अनुसार सगरमाथा चढ्नु जत्तिकै जोखिमपूर्ण र चुनौतीपूर्ण यात्रा राजनीतिमा पनि हुने गर्छ। “सगरमाथा चढ्नु छ भने घरपरिवार सम्झियो, अर्काको कुरा सम्झियो भने यात्रा सम्भव हुँदैन,” उनले भने। उनका अनुसार सगरमाथा आरोहणमा अहिले पनि करिब ४ प्रतिशत मृत्युदर रहेको छ। “२–३ सय जनाले आरोहण गर्दा १०–१२ जनाको जीवन गुम्ने अवस्था छ,” उनले उल्लेख गरे।

उनले राजनीतिकर्मीले यस्तो जोखिमपूर्ण काम किन गर्ने भन्ने प्रश्न उठ्ने गरेको पनि बताए। “घर, परिवार, इष्टमित्र साथीभाइको जोखिम किन लिने भन्ने सोच्न थालियो भने त्यो यात्रा सम्भव हुँदैन,” दुलालले भने।

सगरमाथा आरोहणको लक्ष्य स्पष्ट हुनुपर्नेमा जोड दिँदै उनले भने, “धर्तीको शिरलाई कसरी आफ्नो पैताला मुनि पार्ने? आफू कसरी सुरक्षित फर्किने? सफलता भनेको बाँच्नु पनि हो।” उनका अनुसार सुरक्षित रूपमा आरोहण गरेर फर्किनु नै वास्तविक सफलता हो।

दुलालले लक्ष्यमा केन्द्रित रहनुपर्ने आवश्यकता औँल्याए। “अरूले के भने, के सुझाव दिए भन्नेमा अलमलियो भने सफलता सम्भव हुँदैन। लक्ष्यमा शत प्रतिशत ध्यान केन्द्रित हुनुपर्छ,” उनले भने।

उनले आफू तालिमका क्रममा अन्य साथीभन्दा पछि पर्ने गरेको अनुभव पनि सुनाए। “सगरमाथा चढ्नु अघि साना पिक हिमाल चढ्नुपर्छ। तालिममा म सधैँ पछाडि हुन्थेँ, अरू साथीहरू अगाडि पुग्थे,” उनले भने।

तर, वास्तविक आरोहणको दिन भने परिस्थिति फरक भएको उनले बताए। “सामान्यतया बिहान ५ बजे सगरमाथाको चुच्चोमा पुग्ने योजना हुन्छ। त्यसपछि १२–१ बजेसम्मको समय हुन्छ। तर म बिहान ३ बजे नै चुच्चोमा पुगेँ,” उनले स्मरण गरे।

उनका अनुसार शेर्पाहरूले छिटो भएको बताएका थिए। “तर जसरी पनि सगरमाथा चढ्नु थियो। कुनै कुराको प्रवाह नगरी शेर्पाभन्दा अगाडि हिँडेर टुप्पोमा पुगेँ,” उनले भने।

दुलालले दुई घण्टासम्म उज्यालोको प्रतीक्षा गरेको अनुभव पनि सुनाए। “लाइट पुगेको थिएन, फोटो खिच्न दुई घण्टा कुर्नुपर्‍यो,” उनले भने।

उनले निष्कर्ष निकाले, “एकाग्र भएर काम गरियो भने तालिमको बेला गाह्रो भए पनि परिणामको बेला सजिलो हुन्छ।”

दुलालले यही अनुभवलाई आफ्नो चुनावी यात्रासँग जोड्दै व्याख्या गरेका छन्। “अहिलेको चुनाव पनि त्यस्तै हो मेरो लागि,” उनले भने।

चुनाव जित्नुको कारणबारे उनले स्पष्ट पारे, “मानिसलाई सुनामीको बेला जितेँ भन्ने लागिरहेको होला, तर मलाई सजिलो भयो।” उनका अनुसार लामो समयदेखि योजनाबद्ध रूपमा चुनावका लागि तयार थिए।

“अरू चुनाव घोषणा भएपछि सक्रिय भए, म भने चुनावअघि नै चुनावमा थिएँ,” उनले भने। उनका अनुसार राजनीतिकर्मी भएपछि जुनसुकै बेला चुनाव आउन सक्ने भएकाले सधैँ तयारी अवस्थामा रहनुपर्ने हुन्छ।

दुलालले गहिरो सूचना र ज्ञान पहिल्यै सङ्कलन गरेको उल्लेख गर्दै भने, “त्यसैले मलाई चुनाव जित्न सजिलो भयो।” दुलाल फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिन्धुपाल्चोक -२ बाट निर्वाचित भएका हुन्।

‘ड्रेसमै दिउँसै कारबाही’

सांसद एवं नेकपाका प्रमुख सचेतक दुलालले सशस्त्र द्वन्द्वकालीन एक जोखिमपूर्ण कारबाहीको अनुभव सार्वजनिक गरेका छन्। उनले २०६२ सालमा काठमाडौँको थानकोट प्रहरी चौकीमाथि गरिएको आक्रमणबारे आफ्नो प्रत्यक्ष संलग्नता र योजना विस्तार गरेका हुन्।

दुलालका अनुसार उक्त घटनाका बेला उनी करिब २३ वर्षका थिए। “थानकोटमा प्रहरी चौकी आक्रमण गर्दा २३ वर्षको थिएँ,” उनले भने। त्यस समय काठमाडौँमा माओवादीको उपस्थिति अत्यन्तै सीमित थियो। “युद्धको समयमा काठमाडौँमा माओवादी कहीँ पनि छिर्न सक्ने अवस्था थिएन,” उनले स्मरण गरे।

उनका अनुसार माओवादी नेतृत्वले जनमुक्ति सेनाको पोसाकमा काठमाडौँमा देखिनु नै ठूलो उपलब्धि मानिने बताउने गरेको थियो। “माओवादी नेताहरूले काठमाडौँमा जनमुक्ति सेनाको ड्रेस लगाएर कतै देखिन पाए पनि ठूलो सफलता हुन्छ, युद्ध लडे बराबर हुन्छ भन्ने प्रशिक्षणमा भन्नु भएको थियो,” उनले भने।

यही सन्दर्भले आफूमा फरक सोच जन्मिएको दुलाल बताउँछन्। “त्यतिबेलै के लाग्यो भने ड्रेसमै काठमाडौँमा कारबाही गर्नुपर्‍यो,” उनले भने। उनका अनुसार रातिको कारबाहीभन्दा दिउँसो गरिने कारबाही प्रभावकारी हुने निष्कर्षमा उनी पुगेका थिए।

“ड्रेस लगाएर कतिखेर कारबाही गर्ने त? दिउँसो गर्नुपर्‍यो। राति गरेको अर्थ छैन, कसैले देख्दैन,” उनले भने। यही सोचका आधारमा उनले योजना तयार पारेका थिए।

दुलालका अनुसार २०६२ सालमा माघे सङ्क्रान्तिको दिन उक्त योजना कार्यान्वयन गरिएको थियो। “आफैँले प्लानिङ गरेँ, आफैँले कमान्ड गरेँ,” उनले भने। उनका अनुसार दिउँसै जनमुक्ति सेनाको पोसाकमा थानकोट पुगेर प्रहरी चौकी कब्जा गरिएको थियो।

“ड्रेसमै हामीले चौकी कब्जा गर्‍यौँ र सुरक्षित तवरले फर्कियौँ,” उनले भने। उनले सफलताका लागि पूर्ण ध्यान र तयारी आवश्यक पर्ने उल्लेख गरे। “पूरा गर्नुपर्छ भनेपछि सम्पूर्ण रूपमा ध्यान त्यहीँ केन्द्रित गरेर तयारी गरियो, त्यसैले सफल भयो,” उनले बताए।

त्यतिबेला शाही नेपाली सेनाले काठमाडौँभित्र कुनै पनि ‘आतङ्ककारी’ गतिविधि देखिए पाँच मिनेटभित्र नियन्त्रणमा लिने घोषणा गरेको दुलालले स्मरण गरे।

उनका अनुसार थानकोट प्रहरी चौकी रणनीतिक रूपमा निकै संवेदनशील क्षेत्रमा अवस्थित थियो। “थानकोट चौकी तीनतिर सेनाको ब्यारेक भएकोबीचमा थियो,” उनले भने।

उनले थपे, “पानीघट्ट, त्रिभुवन पार्क, आयल निगमको डिपोमा आर्मी थियो, मातातीर्थमा सशस्त्रको क्याम्प थियो, चन्द्रागिरिको पछाडि नेपाली सेनाको पृतना थियो।”

यस्तो कडा सुरक्षा घेराबीच दिउँसै पोसाकसहित हतियार बोकेर गरिएको कारबाही सफल भएको उनले बताए। “त्यस्तो बीचमा दिउँसै ड्रेस लगाएर हतियार बोकेर कारबाही गरेर हामी निस्केर गयौँ, कसैलाई केही भएन,” उनले भने।

सांसद दुलालले आफ्नो विजय, आत्मविश्वास र जीवन अनुभव दुलाल बन्धु सेवा समाज बागमती प्रदेशद्वारा आयोजित कार्यक्रममा व्यक्त गरेका छन्। केन्द्रस्तरको समेत उपस्थितिमा आयोजित कार्यक्रममा उनलाई हौसला, प्रेरणा, मार्गदर्शन तथा आशीर्वाद प्रदान गरिएको थियो।

‘अर्जुनदृष्टि र आत्मविश्वासले जित सम्भव’

सो अवसरमा दुलालले भने, “बधाई, सम्मान गरिरहनु भएको छ, शुभकामना दिइरहनु भएको छ, यो कारण तपाईँहरू सबै हो।” उनले आफूले बन्धुत्व र दुलाल समाजबाट निरन्तर प्रेरणा पाउँदै आएको उल्लेख गरे। “कुनै न कुनै रूपमा बन्धुत्वबाट अथवा बन्धु समाजबाट प्रेरणा जहिले पनि हासिल गरिरहेको छु,” उनले भने।

बाल्यकालका अनुभव सुनाउँदै उनले पहिचानको चुनौती सानैदेखि भोग्नुपरेको बताए। “जहाँ जाँदा पनि पहिचानको चुनौती सामना गर्नु परेको थियो, त्यो बाल मनोविज्ञानमा परिनै राखेको थियो,” उनले भने। उनका अनुसार थर बताउँदा पनि धेरै ठाउँमा मानिसहरूले नचिन्ने अवस्था थियो, जुन साझा अनुभूति भएको उनले बताए।

पछिल्लो समय दुलाल बन्धु समाजको स्थापना, वंशावली सङ्कलन, राष्ट्रिय सम्मेलन तथा विभिन्न भेलाहरूले समुदायबीच अनुभव साटासाट गर्ने अवसर दिएको उनले उल्लेख गरे। “यसले एकले अर्कोलाई अगाडि बढ्न हौसला र प्रेरणा दिने रहेछ भन्ने अनुभूति भयो,” उनले भने।

दुलालले आफ्नो निर्वाचन विजयमा पनि बन्धु समाजको ठूलो भूमिका रहेको बताए। “आत्मबल बढाउने, हौसला प्रदान गर्ने काम दुलाल बन्धुले दिएकै छ भन्ने अनुभूति छ,” उनले भने। उनले सबै बधाईका पात्र भएको बताए।

जीवनका चुनौतीबारे बोल्दै उनले भने, “हरेक कुरा जीवनमा आइपर्छन्, त्यो हामीले सक्ने कुरा हुन्। नसक्ने कुरा जीवनमा आउँदैन।” उनका अनुसार चुनौती भनेको सम्भावनासँग जोडिएको हुन्छ।

उदाहरण दिँदै उनले भने, “सगरमाथा चढ्न नजाने मान्छेका लागि त्यो चुनौती नै हुँदैन। जसको उद्देश्य छ, उसकै लागि त्यो चुनौती हो, र त्यही चुनौती सम्भावना पनि हो।”

उनले वर्तमान निर्वाचन परिणामलाई धेरैले आश्चर्यका रूपमा लिएको उल्लेख गरे। तर आफूले यसलाई सम्भावना र चुनौतीका रूपमा लिएको बताए। “चुनावमा किन उठ्ने? मैले देखेको सम्भावना मेरो लागि चुनौती हो,” उनले भने।

प्रदेशसभा सदस्यको जिम्मेवारीबाट राजीनामा दिँदै प्रतिनिधिसभामा उम्मेदवारी दिएको प्रसङ्ग उल्लेख गर्दै उनले जोखिमबारे पनि चर्चा गरे। “सफलता प्राप्त गर्न सकिन भने भएको पनि छोडियो, अर्को पनि प्राप्त भएन भने आलोचना खानुपर्छ,” उनले भने।

उनका अनुसार यस्तो अवस्थामा पनि सफलता सम्भव बनाउने मूल तत्त्व आत्मविश्वास नै हो। “आत्मविश्वास, त्यसपछिको लगाव र दृढता, यी भए कुनै पनि काम सफल हुन्छ,” उनले भने।

दुलालले ‘अर्जुनदृष्टि’ को उदाहरण दिँदै लक्ष्यमा केन्द्रित हुनुपर्नेमा जोड दिए। “हाम्रो अर्जुनदृष्टि के हो? चुनावमा जित्नु, जनताको नासो लिनु, प्रतिनिधि हुनु र विजयको प्रमाणपत्र प्राप्त गर्नु हो,” उनले स्पष्ट पारे।

उनका अनुसार लक्ष्यभन्दा बाहिरका सबै कुरा सहायक मात्र हुन्। “कसैले विरोध गरे पनि, बाटो छेके पनि, खुट्टा ताने पनि त्यसमा अल्झिनु हुँदैन,” उनले भने।

“मुख्य शक्ति जहाँ केन्द्रित हुनुपर्ने हो, त्यहीँ केन्द्रित गर्नुपर्छ,” उनले थपे। दुलालले निष्कर्षमा भने, “सफलताको लागि अर्जुनदृष्टि चाहिन्छ, अन्यत्र अल्झिनु हुँदैन।”

कार्यक्रममा दुलाल बन्धु सेवा समाजका केन्द्रीय अध्यक्ष अध्यक्ष गोपाल प्रसाद दुलाल, बागमती प्रदेश अध्यक्ष जयराज दुलाल, अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन)सम्बन्धी मूल्याङ्कन समितिका विज्ञ सदस्य लोकनाथ दुलाल लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

समाचार शेयर गर्नुहोस्
153
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.